+
+
Shares

स्याङ्जा कारागारका १६४ कैदीबन्दीमध्ये १७ जनाको मात्रै मतदाता नामावली

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १०:३१

१८ फागुन, स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।

पुतलीबजार नगरपालिका-१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान गर्न पाउने सबै पुरुष कैदीबन्दी हुन् र उनीहरूले समानुपातिक तर्फको मतदान गर्नेछन् ।

निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

स्याङ्जा कारागारसहित जिल्लामा १८५९ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिन नपर्ने कर्मचारीहरूले पनि कारागारस्थित अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।

स्याङ्जा जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र तोकिएका छन् ।

सुरक्षाको दृष्टिले ३२२ मतदान केन्द्रमध्ये ५६ अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण सूचना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ती केन्द्रहरूमा विशेष सुरक्षा सतर्कता अपनाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?