+
+
Shares

मध्यपूर्व तनावका ४८ घण्टा : खामेनीको मृत्युपछि कसरी हुँदैछ आक्रमण-प्रत्याक्रमण ?

यो ४८ घण्टाको घटनाक्रमले मध्यपूर्वलाई मात्र नभई विश्वलाई नै अनिश्चितताको खाडलमा धकेलेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते २२:२५

१८ फागुन, काठमाडौं । मध्यपूर्वमा जारी भीषण युद्ध अहिले अझ भयावह मोडमा पुगेको छ । फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरिएको इजरायल र अमेरिकाको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ ले मार्च १ र २ मा इरानको राजनीतिक र सैन्य संरचनामा अपूरणीय क्षति पुर्‍याएको छ ।

यही क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युसँगै यस क्षेत्रको भू-राजनीति बदलिने संकेत देखिएको छ ।

खामेनीको मृत्यु र तेहरानमा विध्वंस

मार्च १ को बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले विश्वलाई स्तब्ध बनाउने समाचार सार्वजनिक गरे । इरानी समाचार एजेन्सी ‘फार्स’ का अनुसार अघिल्लो दिन तेहरानको ‘पास्टोर’ जिल्लास्थित भूमिगत बंकरमा भएको इजरायली क्षेप्यास्त्र प्रहारमा सर्वोच्च नेता खामेनी मारिएका छन् ।

आयतोल्लाह अली खामेनी

यस आक्रमणमा खामेनीका साथै उनका परिवारका सदस्यहरू र इरानका शीर्ष सैन्य कमान्डरहरू पनि मारिएका छन् । मारिने अन्य उच्चपदस्थ अधिकारीमा इरानी रक्षा मन्त्री अजीज नासिरजादेह, आईआरजीसीका स्थल सेना प्रमुख मोहम्मद पाकपु, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली साम्खानी, इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुल रहिम मौसाबी रहेका छन् ।

इरानले खामेनीको मृत्युपछि देशमा ४० दिने शोकको घोषणा गरेको छ । यद्यपि, इरानी विदेश मन्त्री अब्बास अरागचीले यी क्षतिलाई ‘ठुलो समस्या नभएको’ भन्दै युद्ध जारी रहने सन्देश दिएका छन् ।

ट्रम्पको ‘एपिक फ्युरी’ र चार हप्ताको लक्ष्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ को संज्ञा दिएका छन् ।

ट्रम्पले इरानी जनतालाई आफ्नो स्वतन्त्रता खोस्ने यो सुनौलो मौका भएको बताएका छन् । उनले यो सैन्य कारबाही ‘चार हप्ता वा सोभन्दा कम समय’ भित्रै सम्पन्न हुने र इरानको आणविक धम्की सधैँका लागि अन्त्य हुने दाबी गरेका छन् ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार, बी-२ स्टिल्थ बम्बरहरूले इरानका ब्यालिस्टिक क्षेप्यास्त्र कारखानाहरूमा दुई हजार पाउन्डका बमहरू खसालेका छन् ।

अमेरिकाले इरानका ९ वटा युद्ध पोत डुबाइदिएको र उसको नौ सैनिक मुख्यालय ‘पूर्ण रूपमा नष्ट’ गरिदिएको दाबी गरेको छ ।

यद्यपि कतिपय एपिक क्युरी उद्देश्य पूरा गर्न उडिरहेका लडाकु विमानहरू भने फ्रेन्ड्ली फायर पनि भएको भने देखिन्छ ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानविरुद्धको अमेरिकी अभियान अपरेसन एपिक फ्युरीलाई सहयोग पुर्‍याउन उडान गरिरहेका तीन वटा एफ–१५ लडाकु विमान ‘फ्रेन्ड्ली फायर’मा परी कुवेतमा खसेका छन् । इरानी विमान, ब्यालिस्टिक मिसाइल र ड्रोनहरू सम्मिलित सक्रिय युद्धका क्रममा कुवेती हवाई प्रतिरक्षा प्रणालीले ती विमानहरूलाई झुक्किएर खसालेको बताइएको छ ।

विमानमा रहेका सबै ६ जना चालक दलका सदस्यहरू सफलतापूर्वक बाहिर निस्कन सफल भएका छन् र उनीहरूलाई सुरक्षित रूपमा फेला पारिएको छ ।

इरानको प्रतिशोध : ‘बेइत शेमेश’ मा रक्तपात

आफ्ना सर्वोच्च नेता खामेनी हत्याको बदला लिन इरानले मार्च १ को साँझ इजरायल र अमेरिकी सहयोगी राष्ट्रहरूमाथि भीषण क्षेप्यास्त्र प्रहार गरेको  छ ।

इरानको एक क्षेप्यास्त्रले इजरायलको जेरुसेलम नजिकैको बेइत शेमेशमा रहेको एउटा बम सेल्टरलाई सिधै निशाना बनायो । यस आक्रमणमा कम्तीमा ९ जना इजरायली नागरिकको मृत्यु भएको छ, भने ४० भन्दा बढी घाइते भएका छन् ।

इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरू र नागरिक पूर्वाधारमा ड्रोन हमला गरेको छ । दुबईको ‘फेयरमन्ट पाम’ होटलमा आगलागी भएको छ, भने अबुधाबीको जायद बन्दरगाहमा पनि क्षति पुगेको छ ।

कुवेतमा रहेका अमेरिकी सैनिक अखडामा भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । यो यस युद्धमा अमेरिकाले भोगेको पहिलो मानवीय क्षति हो ।

दोस्रो लहरको ‘हार्ट अफ तेहरान’ आक्रमण

मार्च २ (सोमबार) को बिहानै इजरायली वायुसेनाले तेहरानमा दोस्रो ठुलो लहरको हवाई हमला सुरु गरेको छ । इजरायली सेना (आइडीएफ) का अनुसार यस पटकको निशाना ‘इरानी शासनका मुख्य अंग’ थिए । तेहरानको मध्य भागमा रहेका गुप्तचर मन्त्रालयका भवन र सैन्य सञ्चार केन्द्रमा आक्रमण गरिएको छ ।

इजरायली रक्षा मन्त्रालयले इरानको नेटान्जस्थित आणविक केन्द्रमा पनि नयाँ आक्रमण भएको पुष्टि गरेको छ । इरानी अधिकारी रेजा नजफीले इजरायलले इरानका शान्तिपूर्ण आणविक केन्द्रहरू माथि हमला गरेको आरोप लगाएका छन् ।

क्षेत्रीय विस्तार : लेबनान र इराकमा नयाँ मोर्चा

मार्च २ सम्म आइपुग्दा यो युद्ध इरानको सिमानाभन्दा बाहिर फैलिएको छ ।

हिजबुल्लाहले खामेनीको हत्याको बदला लिन इजरायलको हाइफा सहरमा रकेट वर्षा गरेको छ । जवाफमा इजरायलले बेरुतका दक्षिणी उपनगरहरूमा भीषण बमबारी गर्दै हिजबुल्लाहका वरिष्ठ कमान्डरहरूलाई निशाना बनाएको छ ।

इराकस्थित इरान समर्थित मिलिसियाहरूले बगदाद विमानस्थलमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन हमला गरेका छन् । कुवेत सिटीस्थित अमेरिकी दूतावास परिसरमा क्षेप्यास्त्र खसेको छ ।

इरानले कति मूल्य चुकाउनु पर्ला ?  

इजरायलमा सैन्य प्रवक्ताले पत्रकारलाई ब्रिफिङ गर्ने क्रममा लेबनानसँगको ताजा गोलाबारीपछि आइडीएफ स्थलगत सैन्य कारबाहीका लागि पनि तयार रहेको बताएका छन् ।

इजरायलले करिब १० लाख  रिजर्भ सैनिकहरू परिचालन गरेको र दर्जनौँ बटालियन, ब्रिगेड र डिभिजनहरू उत्तरी सीमाको रक्षाका लागि तैनाथ गरिएको आइडीएफका प्रवक्ताले बताएका छन् ।

इजरायलले रक्षा र आक्रमण दुवैका लागि सबै सम्भावनामा काम गरिरहेको र निरन्तर परिस्थिति मूल्याङ्कन भइरहेको उनले जानकारी दिए ।

अमेरिका र गल्फ देशको प्रतिक्रिया

अमेरिका र ६ वटा खाडी मुलुकले इरानको पछिल्ला प्रतिक्रियालाई ‘खतरनाक उत्तेजना’ को संज्ञा दिँदै यसले मध्यपूर्वको स्थिरतामा गम्भीर संकट पैदा गरेको बताएका छन् ।

कुवेतको परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा इरानले सर्वसाधारण र युद्धमा संलग्न नभएका राष्ट्रहरूलाई निशाना बनाएर गैरजिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरेको उल्लेख गरिएको छ ।

कुवेत, साउदी अरब, बहराइन, कतार, जोर्डन, संयुक्त अरब इमिरेट्स र अमेरिकाले संयुक्त रूपमा जारी गरेको उक्त विज्ञप्तिमा जारी इरानी आक्रमणका विरुद्ध आफ्नो आत्मरक्षाको अधिकार सुरक्षित रहेको स्पष्ट पारिएको छ ।

हालसम्म बहराइन, इराकको कुर्दिस्तान क्षेत्र, जोर्डन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्समा इरानद्वारा विभिन्न आक्रमण भइसकेका छन् ।

मानवीय संकट

मार्च २ को दिउँसोसम्मको तथ्यांकअनुसार इरानी रेड क्रिसेन्टका अनुसार हालसम्म ५५५ जनाको मृत्यु भएको छ, जसमा १५० भन्दा बढी सर्वसाधारण (मिनाब स्कुलमा भएको आक्रमण समेत) रहेका छन् । १३० भन्दा बढी सहरहरूमा बमबारी भएको छ । हालसम्म ११ जनाको मृत्यु र १२१ भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी गुप्तचर निकाय सीआईएले खामेनीको ठाउँमा आईआरजीसीका कुनै कट्टरपन्थी कमान्डरले सत्ता सम्हाल्नसक्ने आकलन गरेको छ ।

पाकिस्तानका विभिन्न सहरहरूमा खामेनीको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन भएका छन्, जहाँ सेना परिचालन गरी कर्फ्यु लगाइएको छ ।

इरानका आणविक संयन्त्र सुरक्षित

संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुख राफाल ग्रोसीले हालैका अमेरिकी र इजरायली आक्रमणहरूमा इरानका कुनै पनि आणविक संयन्त्रहरूमा क्षति पुगेको संकेत भने देखिएको छैन ।

उनका अनुसार बुशेहर आणविक पावर प्लान्ट, तेहरान अनुसन्धान रिएक्टर वा अन्य आणविक इन्धन चक्र सुविधाहरूमा कुनै क्षति पुगेको छैन ।

इरानका साथै बहराइन, इराक, कुवेत, ओमान, कतार र साउदी अरबजस्ता यस क्षेत्रका अन्य देशहरूमा रहेका आणविक स्थलहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै उनले  सबै सैन्य कारबाहीहरूमा ‘अत्यधिक संयमता’ अपनाउन आह्वान गरेका छन् ।

अबको बाटो के ?

मार्च २ को बेलुकीसम्म इरानमा इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प छ र सञ्चार सम्पर्क विच्छेद गरिएको छ ।

अमेरिकी गुप्तचर निकाय सीआईएले खामेनीको ठाउँमा आईआरजीसीका कुनै कट्टरपन्थी कमान्डरले सत्ता सम्हाल्नसक्ने आकलन गरेको छ । यो ४८ घण्टाको घटनाक्रमले मध्यपूर्वलाई मात्र नभई विश्वलाई नै अनिश्चितताको खाडलमा धकेलेको छ ।

इजरायल र अमेरिका इरानमा ‘सत्ता परिवर्तन’ नभएसम्म नरोकिने रणनीतिमा देखिन्छन् भने इरानले आफ्नो अस्तित्व रक्षाका लागि सम्पूर्ण क्षेत्रीय शक्ति प्रयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?