+
+
Shares

कुवेतमा रहेका नेपाली सुरक्षित, डराइहाल्नुपर्ने अवस्था छैन : एनआरएन कुवेत अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ७:०६

१९ फागुन, काठमाडौं । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत हवाई आक्रमण थालेको छ ।

इजरायल र अमेरिकाले इरानमा हवाई आक्रमण गरेपछि प्रतिकारमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको हो ।

कुवेतको रक्षा मन्त्रालयले अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका बताएको छ । मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पाइलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको पनि जनाएको छ ।

कुवेतमा समेत हवाई आक्रमण थालेपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढेको छ । यहि विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का कुवेत अध्यक्ष दिलबहादुर पाख्रिनसँग अनलाइनखबरकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन् । त्यहाँ रहेका नेपालीको अवस्था ? काम गर्ने वातावरण लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

इरानले कुवेतमा समेत हवाई आक्रमण थालेको छ । अहिले त्यहाँको अवस्था कस्तो छ ?

अहिलेसम्म माहोल ठिकै छ । त्यस्तो तर्सिनुपर्ने, डराउनुपर्ने स्थिति खासै छैन । तर यहाँपनि एकदमै धेरै ड्रोन अट्याक्सहरू, मिसाइल अट्याक्सहरू भइराखेको छ । कुवेत डिफेन्स सर्भिसले त्यसलाई पूर्ण रूपमा अहिलेसम्म डिफेन्स गरिराखेको अवस्था छ । डिफेन्स गर्दागर्दै पनि हालसम्म ५५ जना घाइते र एकजनाको मृत्यु भएको छ ।

त्यहाँ रहेका नेपालीहरूको अवस्था के छ ?

अहिलेसम्म यहाँ भएको भनेको ५५ जना घाइते र १ जनाको मृत्यु भएको छ । त्यसमा नेपालीहरू परेका छैनन् । तर नेपालीहरू पनि अरू जस्तै डेन्जर जोनमा त छन् । अहिले त्यति डराइहाल्नु पर्ने स्थिति भइसकेको छैन । किनभने अहिले त कुवेतबाट इरानमा प्रहार भएको छैन, हमला सुरु भएको छैन । कुवेत सरकारले अहिलेसम्म इरानमा हमला गर भन्ने आदेश दिएको छैन । त्यो हुँदा जवाफी कारबाही स्वरूप कुवेतबाट हमला सुरु भएको छैन । यदि भयो भने अलिकति खतरा हुन सक्छ । अहिलेसम्म जति पनि इरानबाट हमला वा आक्रमण भइरहेको छ, त्यसलाई निस्तेज गर्ने कामहरू मात्रै भइरहेको छ । त्यसैले अहिले त्यति धेरै डराइहाल्नु पर्ने स्थिति छैन ।

हवाई आक्रमणपछि त्रासको अवस्था होला । यस्तो अवस्थामा त्यहाँ कार्यरत नेपालीहरू काममा गइरहेका छन् कि विदामा छन् ?

यहाँको केही सरकारी कार्यालय र स्कुल बाहेक अरू नर्मल्ली चलिरहेको नै छ । रमदान पनि भएको कारणले नर्मल भन्दा ड्युटी आवर (समय) कम छ । जस्तै ८ घण्टा ड्युटी हुनेहरूले ४–५ घण्टा काम गरिरहेका छन् । तर काम चलिरहेको छ । अहिलेसम्म कुनै पनि कम्पनीले ड्युटी स्टप गर्ने भन्ने निर्णय गरेको छैन ।

नेपाली समुदायमा त्यस्तो खालको अप्रिय घटना अहिलेसम्म नभएपनि त्रासको वातावरण पक्कै होला । तपाईको सम्पर्कमा रहेका नेपालीहरूको मनोविज्ञान कस्तो पाउनु भएको छ ?

अवश्य पनि त्रासको वातावरण छ । त्यसमा अझ बढी नेपाली महिला कामदारहरू भएको कारणले गर्दा पनि त्रास बढी छ । जस्तै लगभग हामी १ लाख ७५ हजारको हाराहारीमा नेपाली छौं । त्यो मध्येमा लगभग ६०–६५ हजार भन्दा बढी त डोमेस्टिक वर्कर (घरेलु कामदार) हरू नै हुनुहुन्छ । अनि बाँकी रहेका मध्ये पनि कम्पनीको फ्रन्टलाइन सेक्टर, क्यासियर, मार्केट र रेस्टुरेन्ट तिर बढी महिला कामदारहरू भएको कारणले उहाँहरू अलि बढी त्रसित हुनुहुन्छ भन्ने मैले बुझेको छु ।

तर अहिले नै त्यस्तो ठ्याक्कै डराउनु पर्ने अवस्था छैन । जब कुवेतबाट दोहोरो भिडन्त सुरु हुन्छ वा जवाफी कारबाही सुरु हुन्छ, त्यतिबेला डराउनुपर्ने स्थिति हुन्छ । त्यो स्थिति आउँछ कि आउँदैन भन्ने कुराको पनि केही टुङ्गो छैन । तर हामीले एनआरएनएको पेजबाट, मिडिया र सामाजिक सञ्जालमार्फत बढी हतोत्साहित नहुन र आवश्यक खाद्यान्नहरू जगेडा गरेर राख्न सूचना दिइरहेका छौं ।

अहिले यहाँको कानुन अनुसार जथाभाबी सूचना प्रवाह गर्न, भिडियो बनाउन र भ्रम फैलाउने काम गर्न दिइएको छैन । आधिकारिक निकायले सम्प्रेषण गरेको सूचनालाई मात्र आधार मानेर हामीले नेपालीमा ट्रान्सलेट गरी जानकारी दिने गरेका छौँ । तर बनावटी कुरा गर्ने, मान्छेलाई डर देखाउने र भ्रम फैलाउने काम गर्नु हुँदैन । अहिले त झन् एआई र डिप फेकबाट बनाएका भिडियोहरूलाई ‘फलानो ठाउँमा हमला भयो’ भनेर भ्युज र लाइकका लागि फैलाउने चलन बढेको छ । कतिपयले त भिडियो गेमका दृश्यलाई कुवेतको हमला भनेर बाहिर ल्याएका छन् । कुवेत सरकारले यसमा कडा निगरानी गरिरहेको छ र आप्रवासीहरूलाई त्रसित नबनाउन कडा निर्देशन दिएको छ ।

कुवेतमा रहेको नेपाली दूतावास, एनआरएनए र त्यहाँ रहेका नेपालीहरूबीच के कतिको समन्वय भइरहेको छ ?

दूतावासले अहिले हटलाइन नम्बर राखेर राम्रो नै काम गरिरहेको छ । दूतावास बन्द भएको छैन, नर्मल रूपमा खुला नै छ र सेवाग्राहीलाई सेवा दिइरहेको छ । दूतावासले विज्ञप्ति जारी गरेर कुनै पनि अप्ठ्यारो परिस्थिति आइपरेमा तुरुन्त हटलाइन वा इमेलमा सम्पर्क गर्न भनेको छ ।

हामीले पनि एनआरएनमार्फत सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं ।

यदि युद्ध चर्किएर गयो भने धेरै नेपालीहरू पीडित हुन सक्छन् । त्यस्तो अवस्थामा जोखिममा पर्ने नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आयो भने के कस्तो तयारी छ ?

त्यस्तो भयो भने हामीले एनआरएनए केन्द्रसँग कुरा गरिरहेका छौँ । हिजो मात्र एनआरएनए मार्फत परराष्ट्र मन्त्रालयमा पनि पत्र पठाइएको छ । ‘भोलि यस्तो हुन सक्छ, हामी तयारी अवस्थामा रहनुपर्छ’ भनेर एउटा योजना सहितको पत्र पठाइएको हो । मध्यपूर्वका अन्य देशका दूतावासहरूलाई पनि बोधार्थ पठाइएको छ । यदि स्थिति खराब भयो भने नेपाल सरकार र एनआरएनएले उद्धार गर्नुपर्छ । तर, अहिले मध्यपूर्वका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू बन्द छन् । एयरपोर्ट नै नखुलेपछि तत्काल उद्धार गरेर नेपाल लैजान सम्भव छैन । त्यसैले जहाँ छौँ त्यहीँ सुरक्षित रहने, सतर्कता अपनाउने र सम्बन्धित देशको कानुन पालना गर्ने नै अहिलेको मुख्य उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?