+
+
Shares

३६ जना चिकित्सकको लाइसेन्स खारेजीप्रति एनआरएनएको आपत्ति 

विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलले विदेशमा गैरआवासीय नेपाली चिकित्सक ३६ जनाको लाइसेन्स खारेज गरेको छ।
  • गैरआवासीय नेपाली संघले उक्त निर्णयले चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव परेको बताएको छ।
  • एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले पूर्वजानकारी र प्रक्रियागत पारदर्शिता बिना गरिएको निर्णयप्रति आपत्ति जनाएका छन्।

२२ वैशाख, काठमाडौं । विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको एनआरएनएको ठहर छ ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले वक्तव्य जारी गरी संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको बताएका छन् ।

‘चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गरिनु आवश्यक हुन्छ,’ वक्तव्यमा भनिएको छ, ‘तर सम्बन्धित चिकित्सकहरूसँग पूर्वजानकारी, समन्वय तथा संवाद बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

सरकारले सीप हस्तान्तरणको नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकहरूलाई नै निरुत्साहित गर्नु गलत अभ्यास भएको वक्तव्यमा उल्लेख छ ।

त्यस्तै एक पटकको नेपाली, सधैँका नेपाली भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न र डायस्पोराको योगदानको सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘यस विषयमा सम्बन्धित निकायले आवश्यक पुनर्विचार गर्नेछ भन्ने अपेक्षासहित पुनः ध्यानाकर्षण गराउँदछौं’ वक्तव्यमा भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?