२० फागुन, काठमाडौं । निर्वाचनसँग सम्बन्धित ऐनअनुसार निर्वाचनको समयमा कानुनले बर्जित गरेका कार्य गरे दण्डनीय हुनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आयोग ऐन २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा कसूर र सजाय सम्बन्धी व्यवस्था छ । यी ऐनहरू र निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/नभएको निर्वाचन आयोग स्वयमले अनुगमन र अनुसन्धान गर्नेछ ।
यसबाहेक सुरक्षा निकाय, राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेका छन् । निर्वाचन पर्यवेक्षण गर्ने संस्था र सञ्चार माध्यमले समेत गलत कार्य भए/नभएको ख्याल गरिरहेका छन् ।
निर्वाचनसँग सम्बन्धित ऐनहरूमा कस्तो गलत कार्य गर्दा के सजाय हुने व्यवस्था छ । निर्वाचनसँग सम्बन्धित विषयमा भने गलत कार्य गर्नेलाई निर्वाचन आयोग वा निर्वाचन अधिकृतले दण्डित गर्नेछन् ।
१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १३ मा उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्था छ । यही दफाको खण्ड ‘ग’ मा भनिएको छ, ‘निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ ।’
यस्तो व्यक्तिको उम्मेदवारी परेको रहेछ भने निर्वाचन आयोगले अनुसन्धान गरेर उम्मेदवारी नै खारेज गर्न सक्दछ । निर्वाचनपछि समेत यो विषयमा अनुसन्धान र निर्णय हुन सक्दछ । विजयी भएको रहेछ भने पनि उम्मेदवारी दिँदा अयोग्य रहेको ठहर हुँदा त्यस्तो पद स्वत: रिक्त हुनेछ ।
२. निर्वाचन आयोग ऐन २०७३ मा निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा सजाय हुने व्यवस्था छ । निर्वाचन आयोगले क्षेत्र अनुसार फरक–फरक खर्च गर्न पाउने सीमा तोकेको छ । सीमा पार गरेको अवस्थामा निर्वाचन आयोगले पछि जरिबाना गर्नेछ । जरिबाना नबुझाउनेलाई उम्मेदवार हुन रोक्ने सम्मको सजायको व्यवस्था ऐनमा छ ।
३. निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ अनुसार ‘कसैले पनि उम्मेदवारी दिँदा झुट्टा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन हुँदैन ।’
यस्तो कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
४. कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन हुँदैन ।
यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा ४ मा छ ।
५. कसैले पनि मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न हुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
६. मतपत्रको दुरुपयोग पनि गर्न हुँदैन । मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
७. गैरकानुनी तवरले मतपत्र दिन वा लिए पनि दण्डनीय हुनेछ ।
गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
८. मतदानको अधिकार बिना मतदान गर्नु दण्डनीय कार्य हो ।
मतदानको अधिकार बिना मतदानको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
९. कसैले पनि एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन । एकपटक भन्दा बढी पटक मतदानको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१०. कानुननत: मत संकेत सार्वजनिक गर्न हुँदैन । मत संकेत सार्वजनिकको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
११. कसैले पनि मतदान गर्दा मतदान सम्बन्धी प्रचलित संघीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लंघन गर्न हुँदैन । यस्तो प्रकृया उल्लंघनको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१२. मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न हुँदैन । मतपत्र बाहेक अन्य बस्तु मतपेटिकाभित्र खसाल्ने व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१३. कसैले पनि मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्न हुँदैन । मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
१४. मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन ।
मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिने कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१५. कुनै पनि गैर नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न हुँदैन । अनधिकृत रुपमा मतदान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
१६. उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न हुँदैन ।
अनधिकृत रुपमा मतगणनास्थलमा प्रवेश गर्ने कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृत वा अनुगमनकर्ताले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१७. मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न हुँदैन ।मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्ने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
१८. गलत ढंगले मतगणना गर्न हुँदैन । गलत ढंगले मतगणना गर्ने कार्य गर्ने निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुनेछ ।
१९. सुरक्षाको लागि खटिएको सुरक्षाकर्मी बाहेक अन्यले हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न हुँदैन । सुरक्षामा खटिएको सुरक्षाकर्मी बाहेक हतियार लिई हिड्ने कार्य गर्ने व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
२०. मतदान हुने दिन कसैले पनि शान्ति भंग गर्न हुँदैन । मतदानको दिन शान्ति भंग गर्ने कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
२१. निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्न हुँदैन ।
प्रभाव पार्ने कार्य गर्नेव्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
२२. मतदातालाई प्रभाव पार्ने गरी नगद वा जिन्सी दिन वा लिन पाइँदैन् । नगद वा जिन्सी दिने वा लिने कार्य गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
२३. निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीले कुनै लिखत, कागजात, अभिलेख वा विवरण झुट्टा हो भन्ने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो लिखत, कागजात वा अभिलेखलाई काुून बमोजिमको प्रयोजनका लागि मान्यता दिन हुँदैन ।
गलत लिखतलाई मान्यता दिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुनेछ ।
२४. निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी वा सुरक्षाकर्मी वा आयोगबाट खटाइएको अनुगमनकर्ता आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन हुँदैन ।
पदीय जिम्मेबारीबाट पन्छिने कार्य गर्ने निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीलाई निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम कारबाही हुनेछ ।
२५. कसैले पनि कानुन बमोजिम बाहेक निर्वाचनको गोपनीता भंग गर्न हुँदैन । कानुन बमोजिम बाहेक निर्वाचनको गोपनीता भंग गर्ने कार्य गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
प्रतिक्रिया 4