८ माघ, धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन ।
तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा १४ राजनितिक दल र ४ जना स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । उजुरी नपरेपछि दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहेको छ ।
निर्वाचन कार्यालयका अनुसार अब उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक बिहीबार नै हुने, इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने समय शुक्रबार हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न प्रदान कार्य पनि शुक्रबार तय भइसकेको कार्यतालिका अनुसार काम अगाडि बढाइने सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङले जानकारी दिए ।
मतदान मिति नजिकिंदै जाँदा जिल्लामा चुनावी माहोल तातिंदै गएको छ भने सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीलाई पनि तीव्र बनाइएको छ ।
धनकुटामा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सानबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
यस्तै धनकुटामा जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई र नेकपा माओवादीका रविनकुमार राईले उम्मेदवारी दिएका छन् ।
यता राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जना, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार राई तीनपटक निर्वाचन भिडेर दुईपटक धनकुटाबाट निर्वार्चित भइसकेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पौडेल २०६४ सालमा तत्कालिन धनकुटा क्षेत्र नं. २ बाट एमालेको तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
यी बाहेक अन्य सबै उम्मेदवार पहिलोपटक निर्वाचनमा होमिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बाँकी सबै काम समयमै सम्पन्न गरी शान्तिपूर्ण र व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गराउने तयारी रहेको जनाएको छ ।
-ईश्वर थापा
प्रतिक्रिया 4