+
+
Shares

तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?

कुनै मतदाता मतदान केन्द्रमा जानुअघि नै अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुन बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ र अपराह्न ५ बजेसम्म चल्नेछ।
  • निर्वाचन आयोगले मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायत ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा दिएको छ।
  • यदि कुनै मतदाता नाममा अर्कैले मतदान गरिसकेको भए, वास्तविक मतदाताले \'निविदा मतपत्र\' पाउँछन् र त्यो मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ।

२० फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् ।

राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।

कतिपय ठाँउमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृति पनि हुन्छ ।

कुनै मतदाता मतदान केन्द्रमा गयो, तर ऊ जानुअघि नै अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ?

यो विषम परिस्थितिको अनुमान गरेर निर्वाचन आयोगले हरेक पटक निर्देशिका बनाउँदा वैकल्पिक व्यवस्था गरेको हुन्छ ।

सुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन । त्यसैले सुरुमा फर्जी मतदाताले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिँदैन पनि । तर पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने मौका पाउँछ ।

आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई निश्चित परिस्थितिमा मात्रै निविदा मतपत्र गणना हुने बताउछन् । उनका अनुसार, उम्मेदवारहरुविच मत बराबर भएमा वा अन्य परिस्थितिमा अदालतको आदेशमा निविदा मतपत्र गणना गरिन्छ । अरु अवस्थामा त्यसको उपयोग हुँदैन ।

कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दाबी गर्न पाउँछ ।

त्यसपछि मतदान अधिकृतले ऊ वास्तविक मतदाता हो होइन भन्ने यकिन गर्छ । र, वास्तविक मतदाता हो भन्नेमा मतदान अधिकृत विश्वस्त भएमा त्यो विवरण खुलाइ अभिलेख राखी निर्णय हुन्छ । अनि त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिएर मतदान गर्न पठाइन्छ ।

मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?