News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १२ क्षेत्रका चुनावी कमान्ड महिला निर्वाचन अधिकृतले सम्हालिरहेका छन्।
- काठमाडौं क्षेत्र नम्बर २ मा ४० मतदानस्थलमा १०० मतदान केन्द्र छन् र मतदाता संख्या ८८ हजार ७०८ रहेको छ।
- देशभर १६५ निर्वाचन क्षेत्रका अधिकृतमध्ये १८ जना महिला अधिकृत र तीन जना महिला मुख्य निर्वाचन अधिकृत मात्र छन्।
‘काठमाडौं उपत्यकाका अधिकांश निर्वाचन क्षेत्र हामी महिलाले सम्हाल्दै छौँ, ’ काठमाडौं क्षेत्र नम्बर २ कि निर्वाचन अधिकृत शान्ति न्यौपाने आत्मविश्वासी सुनिन्छिन् । उनका लागि यसरी निर्वाचन सम्हाल्नु कुनै नौलो काम होइन ।
बुबाआमाले आफ्ना यी खुसीका क्षण भने देख्न नपाएकोमा दुःखी सुनिइन्, न्यौपाने । यद्यपि, यही पीडाले उनलाई झन दृढ बनाउँछ ।
पाल्पाको तानसेनमा जन्मिएकी न्यौपाने आफ्ना बुबाआमालाई सम्झदै भन्छिन्, ‘उहाँहरूको त्यागबाट नै म यो ठाउँसम्म पुगेकी छु । तर दुर्भाग्यवश उहाँहरू अहिले हुनुहुन्न ।’
तानसेनकै त्रिभुवन बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरेकी उनले काठमाडौंको चक्रवर्ती कलेजबाट एलएलएम गरिन् । उनले राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गरेकी छन् ।
पाँच वर्षसम्म तानसेनमै अध्यापन गराएकी उनी २०६८ मा लोकसेवामार्फत शाखा अधिकृत बनेर सरकारी सेवामा प्रवेश गरिन् । २०७५ मा उपसचिवमा बढुवा भइन् ।
२०७९ को स्थानीय निर्वाचनमा अर्घाखाँचीमा स्थानीय निर्वाचन अधिकृत बनेर चुनावी अनुभव लिइन् । जिल्ला भरीमा सबैभन्दा पहिला मत परिणाम घोषणा गर्न सफल भइन् । त्यसले उनलाई थप प्रेरित गर्यो । अझ मुख्य निर्वाचन अधिकृतको ढाडसले उत्साही बनायो ।
न्यौपानेका अनुसार, त्यसबेला मुख्य निर्वाचन अधिकृतले भनेका थिए, ‘यस्तो ठाउँमा आएर पहिलो निर्वाचन घोषणा गर्नुभयो । बधाई छ ।’
यसपटक काठमाडौं क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा खटिएकी छिन् । निर्वाचनको दिन नजिकिँदै गर्दा सुरक्षा चुनौतीहरू भए पनि आफूले कुशलतापूर्वक व्यवस्थापन गरिरहेको दाबी उनको छ ।
‘यहाँका राजनीतिक दल, उम्मेदवार, जनता र स्थानीय तहबाट पूर्ण सहयोग मिलेको छ । मतदान केन्द्रहरू तयारी अवस्थामा छन् । कुनै अफठ्यारो महशुस भएको छैन । सबैतिर सकारात्मक माहोल छ,’ उनले भनिन् ।
न्यौपानेले नेतृत्व गरेको यो निर्वाचन क्षेत्रमा ४० वटा मतदानस्थलमा १०० वटा मतदान केन्द्र छन् । यस क्षेत्रमा मतदाता संख्या ८८ हजार ७०८ रहेको छ, जसमा पुरुष ४५ हजार ३१५ र महिला ४३ हजार ३९३ मतदाता रहेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका १५ निर्वाचन अधिकृतमध्ये १२ निर्वाचन क्षेत्रमा महिला अधिकृत छन् । यो आफैँमा महिलाका लागि गर्विलो कुरा रहेको न्यौपानेले बताइन् ।
उपत्यकाभित्रका काठमाडौं जिल्लामा दशमध्ये नौ निर्वाचन अधिकृत, ललितपुरमा तीन क्षेत्रमध्ये दुईजना र भक्तपुरमा दुई क्षेत्रमध्ये एक निर्वाचन अधिकृत महिला छन् ।
०००
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी कमाण्ड निर्वाचन अधिकृत चमिला भट्टराईले गरेकी छन् । महालेखा नियन्त्रक कार्यालयकी निर्देशक उनी खोटाङ जिल्लामा जन्मिएकी हुन् ।
काठमाडौंको काँडाघारी निवासी ४७ वर्षीया उनी ०५५ सालबाट सरकारी सेवामा प्रवेश गरिन् । भट्टराईका अनुसार, घर-
व्यवहार, पढाइ र काम सँगसँगै २०७६ सालमा उपसचिवमा बढुवा भइन् । अहिले महालेखा नियन्त्रक कार्यालयमा कानुन उपसचिवको रूपमा कार्यरत छन् ।
निर्वाचन अनुभवमा स्थानीय तह निर्वाचनमा बुढानिलकण्ठ क्षेत्र (काठमाडौं-४) मा निर्वाचन अधिकृत भएर काम गरिसकेकी छिन् ।प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको यो पहिलो अनुभव हो । यसरी काम गर्दा महिला भएकै कारण असहज वा अपमानजनक व्यवहार खेप्नु नपरेको पनि उनले बताइन् ।
‘पितृसत्तामा थोरबहुत जटिलता भइहाल्छ । तर, आफू सही ठाउँमा रहेर आवश्यक प्रतिकार गरेर हिँड्दा काम गर्न सकिन्छ,’ भट्टराईले अनुभव सुनाइन्, ‘कसैले महिला भनेर केही भन्न खोजे-हेपे भने त्यहीँ प्रतिकार गर्छु । मलाई त्यस्तो गाह्रो भएको छैन ।’
मनोनयनकै दिनबाट हेर्दा पनि स्थानीय तहको चुनावको तुलनामा यसपटक केही सहज छ । जस्तो, यसअघि स्थानीय चुनावमा १५० भन्दा बढी उम्मेदवार थिए । त्यसमा पनि महिला, दलित लगायत विभिन्न क्लस्टर समेट्दा उम्मेदवार धेरै हुन्छन् । मनोनयन गर्दागर्दै उज्यालो बनाएको अनुभव छ ।
प्रतिनिधिसभा निर्वाचनमा तुलनात्मक रुपमा थोरै उम्मेदवार भएकाले मनोनयनको काम छिटो सकियो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । केही व्यवहारिक असहजता उत्पन्न भएपनि आफूले सहजै व्यवस्थापन गरेर कमान्ड सम्हालिरहेको उनले बताइन् ।
निर्वाचन अधिकृतले सहायक निर्वाचन अधिकृत (कानुन अधिकृत), सुब्बा तहको कर्मचारी, कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी आफैले छानेर राख्न पाउने व्यवस्था छ । यसरी अधिकार पाएको पदमा आफू अनुकुल सहज हुनेगरी योग्य व्यक्ति उनले राखेकी छन् । यतिसम्म कि, बुथ निर्माणको लागि सरकारले उपलब्ध गराएको पैसा अपुग हुँदा आफैले व्यवस्थापन गरेर मिलाइरहेको दाबी उनले गरिन् ।
भट्टराईसँग बुथ निर्माणमा तत्काल निर्णय लिनु परेको उदाहरण छ । सुरुमा आलापोटमा रहेको एउटा गाविस भवनमा बुथ बनाइने भनिएको थियो । त्यहाँ सहज हुने नदेखिएपछि उनले नजिकै खुल्ला चौरमा बुथ बनाउने निर्णय गरिन् ।
तर खुल्ला चौरमा बुथ बनाउन थप आर्थिक जोहो गर्नुपर्ने भयो । किनभने सरकारले खुला चौर भएका स्थानका लागि १५ हजार रुपैयाँ र घर-स्कुल-मन्दिर भएका ठाउँमा ७ हजार रुपैयाँ छुट्याएको छ ।
भट्टराईले चुनावी कमान्ड सम्हालेको काठमाडौं क्षेत्र नम्बर ३ मा २९ वटा मतदानस्थलमा ७२ वटा मतदान केन्द्र छन् । यहाँ कूल ६४ हजार ४७९ जना मतदाता छन्, जसमा पुरुष ३१ हजार ५५६ र महिला ३२ हजार ९२३ मतदाता रहेका छन् ।
०००
काठमाडौं क्षेत्र नम्बर १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माको अनुभव पनि भट्टराईसँग मिल्दो छ । सर्वोच्च अदालतकी उपसचिव ५१ वर्षीया उनी गुल्मीमा जन्मिइन् । त्यही स्कुले शिक्षा लिइन् । त्यसपछि क्रमशः बीए, एलएलबी र एलएलएम गरिन् ।
सरकारी सेवामा २०६८ सालमा न्याय सेवाको अधिकृत पदबाट प्रवेश गरेकी उनले पहिलो निर्वाचन अनुभव २०७४ सालमा लिइन् । त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा सहायक निर्वाचन अधिकृत थिइन् । गत स्थानीय तह निर्वाचनमा दक्षिणकाली नगरपालिकामा निर्वाचन अधिकृत भएर काम गरिन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि सहायक निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको अनुभव उनमा छ । अहिले निर्वाचन अधिकृतको रूपमा यो उनको दोस्रो अवसर हो । अघिल्लो अनुभव र अहिलेको फरकबारे उनले भनिन्, ‘पहिलाको अनुभवले गर्दा अहिले कुनै गाह्रो महशुस भएको छैन । सहज नै छ ।’
यो क्षेत्रमा ४७ मतदानस्थलमा ९८ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा कूल ८३ हजार ३०१ मतदाता छन् । जसमा ४० हजार ५८३ पुरुष र ४२ हजार ७१६ महिला मतदाता छन् ।
यसरी काठमाडौंका अन्य क्षेत्रमा पनि महिला अधिकृतले चुनावी कमान्ड सम्हालिरहेका छन् । काठमाडौं-४ कि निर्वाचन अधिकृत कृष्णा भण्डारी उच्च सरकारी वकील कार्यालय, पाटनकी उपन्यायाधिवक्ता हुन् ।
निर्वाचन अधिकृत भण्डारी अहिलेसम्म काम गर्दा कुनै अफठ्यारो नभएको बताउँछिन् । उनी भन्छिन्, ‘रमाइललोसँग काम गरिरहेका छौं । यो जिम्मेवारीलाई अवसरको रुपमा पनि लिएका छौं ।’
यो क्षेत्रमा ३३ मतदानस्थलमा ८८ मतदान केन्द्र छन् । ७६ हजार १४१ मतदाता रहेको यस क्षेत्रमा ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ५ मा श्रद्धा रिजाल निर्वाचन अधिकृत छिन् । उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव हुन् । यो क्षेत्रमा ३१ मतदानस्थलमा ९० मतदाना केन्द्र छन् । कुल ७८ हजार ११४ मतदाता रहेको यो क्षेत्रमा पुरुष मतदाता ३७ हजार २७८ रहेका छन् भने ४० हजार ८३२ महिला मतदाता छन् । अन्य मतदाता ४ जना छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ की निर्वाचन अधिकृत चपला पोखरेल उच्च सरकारी वकिल कार्यालय पाटनकी उपन्यायाधिवक्ता हुन् । यो क्षेत्रमा ३२ मतदानस्थलमा ७९ मतदान केन्द्र रहेका छन् । जम्मा ६७ हजार ७५९ मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ८०२ पुरुष र ३४ हजार ९५६ महिला मतदाता छन् ।
काठमाडौं क्षेत्र ७ मा सविता शर्मा निर्वाचन अधिकृत छिन् । उनी आन्तरिक राजस्व विभागकी उपन्यायाधिवक्ता हुन् । उनले कमान्ड सम्हालेको यो निर्वाचन क्षेत्रमा २९ मतदानस्थलका ७८ मतदान केन्द्र छ ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रक्षा मन्त्रालयकी उपसचिव सम्झना खनाल निर्वाचन अधिकृत छिन् । २३ मतदानस्थल रहेको यस क्षेत्रमा ६५ मतदान केन्द्र छन् । कूल मतदाता ५७ हजार ८११ रहेको यस क्षेत्रमा महिला मतदाता २९ हजार ८९८ र पुरुष मतदाता २७ हजार ९१३ रहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव मनुका घिमिरे निर्वाचन अधिकृत छिन् । काठमाडौं-९ मा ३४ मतदानस्थलमा ९० मतदान केन्द्र छन् । यहाँ जम्मा ७८ हजार ४९५ मतदाता रहेकोमा ४० हजार २७८ महिला मतदाता छन् भने ३८ हजार २१७ पुरुष छन् ।
त्यस्तै, भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये भक्तपुर-२ मा निर्वाचन अधिकृत राधिका सुवाल छिन् । सुवाल जिल्ला सरकारी वकिलको कार्यालय दोखलाकी जिल्ला न्यायाधिवक्ता हुन् ।
तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा पनि दुई वटा निर्वाचन क्षेत्रमा इशा सुवेदी र सम्झना सिम्खडा पुडासैनी निर्वाचन अधिकृत छन् । ललितपुर-१ कि निर्वाचन अधिकृत सुवेदी र ललितपुर-२ कि निर्वाचन अधिकृत पुडासैनी दुवै सर्वोच्च अदालतका इजलास अधिकृत हुन् ।
यसरी उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १२ निर्वाचन क्षेत्रका चुनावी कमान्ड महिला अधिकृतले सम्हालिरहेका छन् । जबकी देशभरमै १६५ क्षेत्रका निर्वाचन अधिकृतमध्ये १८ जना महिला निर्वाचन अधिकृत र तीन जना महिला मुख्य निर्वाचन अधिकृत मात्र रहेका छन् ।
प्रतिक्रिया 4