२१ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन आयोगले गरेको व्यवस्थाअनुसार वीरगञ्ज कारागारभित्र अस्थायी मतदान केन्द्र स्थापना गरी उनीहरूलाई मतदानको अवसर प्रदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारका अनुसार यसपटक कारागारमा रहेका ३३ जना कैदीबन्दीले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। उनीहरूले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्नो मत दिएका हुन्।
रौनियारले कानुनी प्रावधानअनुसार कैदीबन्दीलाई पनि मताधिकार सुनिश्चित गर्न कारागारभित्रै मतदानको व्यवस्था मिलाइएको बताइन् । मतदान कार्य शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक कर्मचारी परिचालन तथा सुरक्षाको उचित प्रबन्ध मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगको नीतिअनुसार कैदीबन्दी, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीका लागि अस्थायी मतदान केन्द्रमार्फत समानुपातिकतर्फ मात्र मतदान गर्ने व्यवस्था गरिएको हो । कारागारभित्रै मतदान गर्न पाउँदा कैदीबन्दीहरूले आफूहरू पनि लोकतान्त्रिक प्रक्रियाको हिस्सा बनेको अनुभूति गरेको बताएका छन् ।
प्रतिक्रिया 4