+
+
Shares

देउवाको गृह जिल्ला डडेलधुरामा ४९ प्रतिशतमात्रै मतदान

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:१९

२१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा ५० प्रतिशतभन्दा कम मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका अनुसार प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा डडेलधुरामा ४९.०८ प्रतिशत मतदान भएको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।

डडेलधुरामा जम्मा मतदाताको संख्या ९३ हजार ४०३ रहेको छ । जसमध्ये २५ हजार ३१३ महिला र २० हजार ५९६ पुरुष मतदानमा सहभागी भएका छन् ।

डडेलधुरामा नेपाली कांग्रेसले नैनसिंह महर, नेकपा एमालेले चक्रप्रसाद रसाइली ‘स्नेही’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. तारा जोशीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पूर्वप्रधानमन्त्री देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत ल्याउँदा नेपाली कांग्रेस बीपीका नेता कर्णबहादुर मल्ल ७ हजार ५३५ मत पाएर तेस्रो बनेका थिए ।

कांग्रेसका निवर्तमान सभापति देउवा २०४८ सादेखि डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । यसपल्ट पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वबाट बहिर्गमनमा परेपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।

देउवा बिहीबार सम्पन्न मतदान प्रक्रियामा पनि सहभागी भएनन् । उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताइएको छ । तर, उनको सचिवालयले सिंगापुर भ्रमणबारे औपचारिक जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?