६ माघ, गन्यापधुरा (डडेलधुरा) । कैलाली, अत्तरियाबाट डडेलधुरा जाने भीमदत्त राजमार्गको घुमाउरो र पट्यारलाग्दो घुम्ती सडक छिचालेपछि साहुखर्क भन्ने ठाउँ पुगिन्छ, जहाँ पाँच दशकअघि शेरबहादुर देउवाले खोलेको ‘बाजेको खीर पसल’ छ ।
शेरबहादुर देउवा नाम आउनासाथ तपाईं नझुक्किनुहोस्, उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा होइनन् । गन्यापधुरा–१ का अर्का शेरबहादुर देउवा हुन्, जो साढे दुई वर्षअघि दिवंगत भए ।
‘मेरो बुबा बड्डा (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा)को काका पर्न्या हुन् । मेरा बाले त पढेनन् नी’ शेरबहादुरका छोरा करनबहादुर देउवाले भने, ‘नपढ्या हुनाले त यत्रो जंगलमा खीर बेचीबर आफ्नो पहिचान बनाया हुन् । पढ्याको भया के पो भइजान्थ्यो ?’
उनले तत्कालै थपे, ‘मेरा बा त बड्डाभन्दा पाँच वर्ष जेठा हुन्, ढाई वर्ष पहिले बितिगया ।’
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका बालसखा अर्थात अर्का शेरबहादुर देउवाले २०३२ सालमा साहुखर्कमा खीर पसल खोलेका थिए । अहिले उनका छोरा करणले बाबुको पौरख सम्हालेका छन् । करनबहादुरले डडेलधुरा जाने बाटोमा पर्ने आफ्नो पसल छिरेका नेताहरुको नाम सम्झन थाले ।
एमाले नेता मदन भण्डारीदेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्म र राजेश हमालदेखि भुवन केसीसम्मले आफ्नो पसलमा पाकेको खीर चाखेको करण बताउँछन् ।
सोमबार दिउसो साहुखर्क पुग्दा करनबहादुर आफ्नो पसलमा खीर पस्कन व्यस्त थिए । प्राय: बेफुर्सदी हुने उनी दिउँसो ३ बजेतिर खाना खाने बेला केहीबेर आफ्नो खीर पसल र व्यवसायको कुरा गर्न थाले ।

उनका बाबु शेरबहादुर २०२४ सालतिर साहुखर्कमा बसाइँ सरेका रहेछन् । २०३२ सालमा बाटो खुलेपछि गाडीहरुको आवतजावत बढ्यो । अनि बाबुले रहरैले सानो खीर पसल खोले, जो कालान्तरमा सबैले रुचाउने ‘बाजेको खीर पसल’ भयो । अर्को कुरा, पूर्वप्रधानमन्त्रीको नाम जुध्ने र उनकै बालसखाले खोलेको खीर पसल त्यहाँ आउने ग्राहकहरुका लागि अर्को रोचक कुरा भइहाल्यो ।
अनायसै छेवैमा उभिएका एक व्यक्तिले उनका बाबुका बाल्यकालका साथी अर्थात कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको प्रसंग निकाले ।
देउवाको टिकटको कुरा उठ्नासाथ उनले भने, ‘मलाई खीर बाहेक राजनीतिको तती धेरै मतलब आथिन् (छैन) ।’ बालसखा भएर पनि शेरबहादुरका लागि कहिल्यै राजनीतिमा नहिंडेका करण बाबु करनबहादुरका आदर्श हुन्, उनी पनि राजनीतिमा उतिसाह्रो चासो राख्दैनन् ।
मुलुकमा भदौ २३ को जेनजी आन्दोलन भयो, २४ मा विध्वंश मच्चियो । काठमाडौंदेखि चानचुन ८ सय किलोमिटर टाढा रहेको डडेलधुरामा त्यसका छिटफुट बाछिटा परे । डडेलधुरामा झण्डै ३५ वर्षदेखि एकछत्र राज गर्दै आइरहेका कांग्रेस नेता शेरबहादुर देउवा जेनजी आन्दोलनकै असर स्वरुप निर्वाचन नलड्ने अवस्थामा पुगे ।
सोमबार अपराह्न उनका स्वकीय सचिव भानु देउवाले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नहुने जानकारी गराउँछु ।’
कैलाई सम्झिबर साद्दे हुन्छ पुई ?
झण्डै साढे तीन दशकदेखि घामपानी, अनुकूल प्रतिकूल जस्तोसुकै अवस्थामा पनि निर्वाचित भइरहेका शेरबहादुर देउवाको संसदीय राजनीतिको पूर्णविरामबारे उनकै गाउँ गन्यापधुरा के सोच्दैछ त ?
करनबहादुर देउवाले भने, ‘डडेलधुराले त उहाँका बारेमा के सोच्नु र ? जिल्लाको आफ्नो मान्छे छ भनेर नाक ठाडो पार्नेमात्रै हो । बाँकी त हामीलाई की छ पुई हजुर ?’
अनलाइनखबरकर्मीहरुसँग कुरा गरिरहँदा उनी खीर खानेहरूले तिरेको पैसा लिन र फिर्ता गर्न व्यस्त भइरहे । अनि, सहयोगीहरुलाई एकपछि अर्को काममा खटाइरहेका थिए ।
‘दाइले त आफ्ना वरपरका मान्छेको त भलो गरे हुन्ना (होलान्)’ उनी अलिअलि असन्तुष्ट सुनिए, ‘भन्याले त भन्छन्, बउजुले (भाउजू) गद्दा (गर्दा) गडबड भया हो । के–के भयो, हामीलाई त की थाह हुन्छ पुई ?’
अति नै जरुरी काम परेमा बाहेक पसल नछाड्ने उनी दशैं र तिहारको दिन समेत खीर बेचिरहेका हुन्छन् । पसलमै बसीबसी गाउँका विकास र अरु गतिविधिमा चासो राख्छन् । विकास निर्माणको कुरा गर्दा उनलाई लागेको छ, अन्यत्रझैं आफ्ना गाउँमा पनि बाटो, पानी, बिजुली आएको छ । के नै बढी भएको हो र ?
शेरबहादुरलाई पाँच पटक प्रधानमन्त्री बनाएको डडेलधुरा अझै गन्यापधुराले के पायो त ?
करनबहादुरको असन्तुष्टि थप चर्को भएन । उनले सांकेतिक रुपमा जवाफ फर्काए, ‘दिनेले दिएर मात्रै भएन, माग्नेले पनि त लिनुपर्यो नी । होइन र ? लिन्याले जिल्लाका लागि भन्दा व्यक्तिगत स्वार्थ पो बढी हेर्या कि लाग्छ ?’
खीर पसलबाटै बाबुले आफूलाई हुर्काएको सम्झने करणबहादुरले त्यही बिंडो थामे । खीर पसलबाटै छोराछोरी पढाए । १० पास गरेका उनीहरु डडेलधुरामा राम्रो क्याम्पस नभएपछि पढ्न धनगढी झरेका छन् ।
करणबहादुरहरुले डडेलधुरामा शिक्षादीक्षाका लागि राम्रो क्याम्पसको कुरा नउठाएका होइनन् । तर चुनावका बेलामा आक्कलझुक्कल देखापर्ने र सदरमुकाममा एक/दुई रात देखापर्ने शेरबहादुरलाई उनीहरुले थप भेट्न र यसो बसेर कुरा राख्न पाएनन् ।
गोठालोदेखि गाउँमा देउडा गाउन सँगै हिँड्ने बालसखाका सन्तानलाई पूर्वप्रधानमन्त्रीले यसो कहिलेकाही सम्झदैनन् र ?
बुज्झकी पारामा करनबहादुरले जवाफ फर्काए, ‘उहाँको वरपर त्यत्रो भिड्भाड हुन्छ । कई कईलाई (क–कसलाई) सम्झेर साद्दे हुन्छ पुई ?’
पसलको कामले हतारोमा देखिएका उनले कुराकानी टुंग्याउँदै भने, ‘चुनाव उठ्याबर र जित्याले आफ्नो गाउँकै मान्छे प्रधानमन्त्री हुने हुन् । त्यसो हुँदा कसले पो औरलाई (अरु) सोच्ला र ?’
लाटा देवताका धामी : ‘बड्डाका पैसा पोल्दिएछन्’
शेरबहादुर देउवाको गाउँ गन्यापधुरा पुग्ने दुईवटा बाटा छन् । एउटा, साहुुखर्कबाट अलि ओह्रालो र निकै कच्ची ११ किलोमिटर सडक छिचोल्नुपर्छ । अर्को डडेलधुरा बजार नजिकै भातकाँडा भन्ने ठाउँबाट ९ किलोमिटर हिँड्नुपर्छ, जुन सडक स्तरोन्नति हुने क्रममा छ ।
साहुखर्कबाट ठाडै ओह्रालो झरेपछि रुवाखोलामा पुगिन्छ । तिखतर भन्ने बस्तीमा भेटिएका लालबहादुर सार्की सल्लाको झरो(सलेदो) बनाउँदै थिए । ठेकेदारहरुले ३० रुपैयाँ किलोमा किनिदिने भएकाले गाउँका मानिसहरु फुर्सद भयो कि झरो बनाएर बस्छन् ।

नजिकै लाटा देवताको थान छ, त्यहीँका धामी समेत रहेका लालबहादुर चुनाव र राजनीतिको कुरा उठ्नासाथ चनाखो भइहाले ।
‘बड्डा पाँच पटक प्रधानमन्त्री भइहाल्या, हामीले भोट दिने बाहेक के नै गर्ने हो र ?’ लालबहादुरले थपे, ‘उनीहरु ठाउँमी पुग्या, यहाँका ठालुहरु कले काम गर्छ, कले खान्छ, खै के जान्नु ?’
यहाँ एउटा कुरा थप्नैपर्छ । डडेल्धुरा बाहेक अरुतिर सामान्य अवस्थामा र अर्को अर्थ नलागेमा देउवा भन्नाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै चिनिन्छ ।
तर देउवाहरुकै बस्ती भएको ठाउँमा देउवा भनेर के अर्थ ? उनका गाउँमा मात्रै करिब १० जनाजति शेरबहादुरहरू रहेछन् । गन्यापधुरा र डडेलधुराकै मानिसहरु उनलाई देउवा हैन, ‘बड्डा’ भन्छन् । अनुहार तन्काएर ‘बड्डा’ भनेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गरे भन्ने बुझ्नुपर्ने रहेछ ।
जेनजी आन्दोलनमा ‘बड्डा’माथि के–के भयो भन्ने लालबहादुरलाई अलिअलि छनक रहेछ । झरो बनाउन काठ ताछिरहँदै उनले भने, ‘अस्ति भदौमी त बड्डालाई घरमै गएर हान्या रे, पैसा लगई पोलीदिएछन् भन्थे । मुइले लगई (मैले पनि) नेटमा देख्याथेँ । यो कुरणी (कुरा) उनीहरुले बुझ्या होलान् । हाम त गाईभैँसी हेर्ने, यस्ता कुरा तेति बुझ्दैनम् ।’

लालबहादुरका छिमेकी मनुवा सार्की पनि त्यस्तै बेपरवाह सुनिए । ‘बड्डाले चुनाव जितिरा छन्, काम गरे भन्नु कि गरेनन् भन्नु ? आफ्ना गाउँतिर अलिअलि भएको होला’ देउवालाई भोट हालिरहनुको खास कारणबारे उनले थपे, ‘जो आए पनि उस्तै हो, बरु उनले जित्या प्रधानमन्त्री भइजान्छन् । त्यो भन्दा अर्थोक के नै छ र ?’
साहुखर्कबाट ठाडै झरेपछि बेँसीमा पुगिन्छ । बारम्बार रुवाखोला तरेपछि गन्यापधुरा गाउँपालिका जाने बाटो आउँछ । अहिले त्यहाँ धमाधम डोजर लगाउने र सडक स्तरोन्नति गर्ने काम चलिरहेको छ ।
गन्यापधुरा बेसीमा दूध संकलन गर्ने सहकारी, एक/दुई पसल र मान्छेहरु भेला भएर गफ गर्ने ठाउँ छन् । त्यहीँ भेटिएका मिनराज जोशीले शुरुमा परिचय खुलाएनन्, आफ्ना कुरा राख्न थाले ।
मिनराजले शेरबहादुर देउवाको विकल्पमा कांग्रेसकै कार्यकर्तालाई भोट दिने बताए । डडेलधुराको भौगोलिक कारणले नै विकासमा ढिलाइ भएको बताउँदै उनले देउवाले जिल्लालाई सक्दो सहयोग गरेकोमा कृतज्ञ देखिन्थे ।

सुशीला कार्की नेतृत्वको सरकारले टुक्रे बजेट खारेज गर्ने क्रममा डडेलधुराको एक अर्ब बजेट फ्रिज भएकोमा आक्रोशित देखिन्थे ।
बीपी कांग्रेसका कर्ण मल्लदेखि स्वतन्त्र उम्मेद्वार सागर ढकालसँग आक्रोशित उनले अन्तत: आफू कांग्रेसको क्रियाशील सदस्य र गन्यापधुरा–१ को इकाइ सचिव रहेको परिचय खोले ।
‘बुढेसकाल लागिग्यो, आराम अर्या हुन्या’
गन्यापधुरा बस्तीबाट सल्लाघारी, केही साना बस्ती छिचोलेर अलि पर पुगेपछि एउटा पीपलको रुख र भग्नावशेषजस्तो देखिने चौतारो आइपुग्छ । सानो रमणीय थुम्कोजस्तो ठाउँमा एउटा बस्ती छ, मटेला ।
त्यहाँबाट तल लागेपछि देखिन्छ, भग्नावशेष भइसकेको एउटा घर । माथिल्लो तलाको केही पनि भाग बाँकी छैन, भत्केको घरभित्र पातीका झाडी छन् । मुलुकमा पाँचपटक प्रधानमन्त्री भएको व्यक्ति जन्माउने घर दुई दशकदेखिको झरीबर्खा खेपेर जसोतसो टिकिरहेको देखिन्छ ।
त्यहाँ भेटिएका भीमबहादुर देउवा भन्छन्, ‘शेरबहादुर देउवाको घरमा २०६

१ साल चैतमा माओवादीहरुले बम विस्फोट गराए । उनरा (देउवाका) दाजुभाइहरु बलबहादुर र गणेशबहादुर थोकाई पाछासम्म (पछिसम्म) यहीँ बस्थे । अहिले सबै तराईतिर झरीगया । बारीसारी त्यस्तै हो, सप्पै बाँझै भएको छ ।’
नजिकैको बारीमा केटाकेटीहरुले पोल गाडेर भलिबल खेल्ने ठाउँ बनाएका छन् । छेवैमा शेरबहादुरका भाइभतिजा र नातेदारहरुका घर खुला अवस्थामा छन् । घरबारी हेरिदिने कोही छैन, बस्तीमा केही छैन । त्यत्ति हो, नाङ्गो आकाश र बाँझो बारी एकअर्कासँग आमनेसामने छन् ।
देउवाको भाइको घरको भुइँतलामा भाडाकुँडा मिलाइरहेको अवस्थामा थिए, बझाङका जयभाम बोहरा । उनी गन्यापधुरा जाने मोटरबाटो बनाउने टोली लिएर आएका रहेछन् । छिमेकी कसैले त्यो घर खाली छ बसे हुन्छ भनेपछि कामदारहरु त्यहाँ बसेका थिए । उनले देउवाको घर भने, ‘ऊ त्यो प्रधानमन्त्रीको घर हो रे, भाइहरु बड्डा तराईतिर गएछन् । हामीलाई तिमीहरु यही बस्न्या हो भनेका छन् ।’

भीमबहादुरलाई रैथाने नै मान्नुपर्छ, किनभने अधिकांश समय सदरमुकाम डडेलधुरा बजार बसे पनि उनी बेलाबेला गन्यापधुरा मटेला गाउँ झरिरहन्छन् ।
उनले आफ्नो बुझाइ सरसर्ती सुनाए, उहिले नै गाउँमा बिजुली पुगेको हो, अहिले सडक बन्दैछ, पारीपट्टिको गाउँपालिका केन्द्र नजिक स्वास्थ्य चौकी छ, स्कूल बनेको छ ।
‘जे छ, यहीँ त छ, तपाईंहरूले देखिहाल्नुभयो’ गाउँको बस्तुस्थितिबारे सारांश सुनाउदै उनले थपे, ‘गाउँमा सबै छ, युवा छैनन् ।’ च्याउखेती सिकाउनेदेखि ल्याबको काम गर्ने उनी कृषि प्राविधिक रहेछन्, कहिलेकाहीँ गाउँ आउँछन् ।
शेरबहादुर देउवाको प्रसंग निस्कनासाथ उनले दुवैथरीका धारणाहरु सन्तुलित रुपमा सुनाए । केहीलाई लाग्दो रहेछ, ‘बड्डालाई अब बुढेसकाल लागिसक्यो, त्यही भएर आराम गर्या हुन्या । अर्काथरीले भन्ने रहेछन्, ‘त्यही भएर त एकपटकलाई जिताइदिउँ, अर्कोपटक रहर गर्दैनन् ।’
‘सबैको आ–आफ्नो सोचाइ चलेको छ’ उनले निष्कर्ष सुनाए, ‘गाउँलेहरु आफ्नै गाउँठाउँको मानिस प्रधानमन्त्री भइदिए रामणो (राम्रो) मान्या रहेछन् ।’ तर अब देउवा नउठ्ने भए । उनलाई जिताउनै परेन ।

अचानक सागर ढकालको प्रसंग निस्कियो । अघिल्लो पटकस्वतन्त्र उम्मेद्वार बनेर देउवाविरुद्ध चुनाव लडेका उनले करिव १३ हजार मत पाएका थिए । भीमबहादुरको बुझाइमा ढकाल र उनीजस्तै अरु स्वतन्त्र उम्मेद्वारको चहलपहल यसपाली छैन ।
ढकाल डडेलधुरामै रहेका बेला भदौ २३ को घटना भएको रहेछ । त्यही दिन राति हान्निएर काठमाडौं हिँडेका उनी त्यसपछि गाउँमा देखिएका छैनन् रे । देउवा उम्मेद्वार नबन्ने भएपछि ‘आफ्नो उद्देश्य पुरा भएको’ भन्दै सागरले पनि डडेलधुरा छाडिसकेका छन् ।
शेरबहादुरको घरभन्दा दुई कान्ला तल एक वृद्धा भेटिइन् । आफूलाई शेरबहादुरको काकी भनेर चिनाउने उनले नाम भन्न चाहिनन् । देउवाका बारेमा खुलेर प्रशंसा भने गरिन् ।
बीपीले विदेशतिर पठाएर शेरबहादुरलाई मान्छे बनाएको भन्दै उनले थपिन्, ‘हाम्रा बाउबाजेले हलो जोत्थे, उसले देशको नाउ चलायो । उईको लगई नाउ चल्यो, उईको नाउ चल्यो त हाम्रो पनि नाउ चलिगो ।’

प्रजातन्त्रका लागि देउवाले ‘कुटपिट, नेल र झेल पाएको’ भन्ने ती काकीले जेनजी आन्दोलनका बेलामा उनीप्रति राखेको दृष्टिकोण अलि फरक रहेछ, ‘केपी भाग्यो, प्रचण्ड भाग्यो, ऊ भागेन । उईले आफ्नो घर छाडेन । गलत भया त घर बठाई भागी जान्थ्यो क्या ।’
शेरबहादुरले बुढेसकालमा चोट पाएको र अहिले पार्टीका नेताहरुले दु:ख दिएकोमा उनको सहानुभूति थियो अनि देउवा जोगिनुमा उनको आफ्नै बुझाई छ । ‘आफ्नो भतिजो हो, खुनका धारा देखिकन हामरा मनमा पनि नराम्रो लाग्यो’ उनले त्यसको जस भनिन्, ‘हामारा यहाँका देवीदेउता सद्दे हुनाले हेर्यो उईलाई । धन्न त्यही भएर जोगियो ।’
फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4