२१ फागुन, दाङ । दाङको बबई गाउँपालिका ७ देउती मावि मलईमा बिहानैदेखि मतदानका लागि मतदान स्थल तयार गरियो । सात बजे मतदान सुरु हुने अपेक्षमा चारैतीर सुरक्षाकर्मी र मतदान अधिकृत मतदान स्थलमा तैनाथ थिए ।
तर देउती मावि मलईमाको मतदान स्थल दिनभर सुनासन बन्यो । मतदाता आउने आशमा निर्वाचन सफल बनाउन पुगेका कर्मचारीहरु बेलुकासम्म कुरेर बसे । तर एक जना पनि मतदाता भोट हाल्न आएनन् । अन्तिमसम्म पनि मतदाता नआएपछि अन्तत: निर्वाचन अधिकृत टोली रित्तो मतपेटिका बोकेर फर्किए । ६८२ मतदाता रहेको यो मतदान केन्द्रमा शून्य मत खस्यो ।
बेलुकी ५ बजेसम्म पनि मतदाता नआएपछि आफूहरु रित्त फर्कनु परेको मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । ‘ढिलै भए पनि आउँनुहुन्छ की भनेर हामी कुरेर बस्यौं’ उनले भने, ‘तर कोही अन्तिमसमयसम्म पनि नआएपछि निराश हुँदै फर्कियौं ।’
त्यस्तै बबई गाउँपालिका १ स्थित जनता आवि जिला मतदान केन्द्रमा जम्मा १० मत खस्यो । ५३० मतदाता रहेको यो केन्द्र १० भोटमात्र खस्यो ।
देशभर आज मतदाताहरुले उत्साहपूर्वक निर्वाचनमा सहभागी भइरहँदा यो क्षेत्रका स्थानीयलाई फागुन २१ गतेको चुनावले छोएन । यसको कारण हो, बाँके राष्ट्रिय निकुञ्ज दाङ मध्यवर्ती क्षेत्रका पीडितहरुले गरेको चुनावी बहिष्कार ।
निकुञ्जको बन्यजन्तुको आतंकबाट पीडित भएका यस क्षेत्रका स्थानीयहरुले यसपाली चुनावी बहिष्कार गरेका हुन् । लामो समयदेखि आन्दोलनरत स्थानीयहरुले विरोध स्वरुप फागुन २१ गतेको चुनावमा भोट नहालेको निकुञ्ज क्षेत्र संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले बताए । जंगलीबन्य बन्तु खास गरी बाघको आतंक बढेपछि आफूहरुलाई बस्ती स्थान्तरणको माग राख्दै आएको उनले बताए ।
‘निकुञ्जमा वन्यजन्तु वृद्धि भएपछि बालीनाली र घरपालुवा पशुपन्छी खाइदिने समस्या त झेल्दै आएका थियौं’, उनले भने, ‘अहिले त बाघको आतंकले बस्नै नसक्ने स्थिति बन्यो । दुई तीन पटक बाघले आक्रमण गर्दा भागेर ज्यान जोगएको अवस्था छ ।’
उनका अनुसार दाङको दंगीशरण गाउँपालिका १ फुर्केशली, बबई गाउँपालिका १ को बनचरी, क्युनेरी, कप्तानी, जिला, सिमलकुना र बबइ गाउँपालिका ७ मलई गाउँ निकुञ्च प्रभावित क्षेत्र हुन् ।
वन्यजन्तुको आतंक बढेपछि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलन गर्दै आएका थिए । उनीहरुले चुनाव बहिस्कार गर्ने समेत चेतावनी दिदै आएका थिए ।
तर पटक पटक आन्दोलन गर्दा पनि आफ्ना माग सुनुवाइ नभएपछि चुनाव नै बहिष्कार गर्नुपरेको उनले बताए । निकुञ्च प्रभावित क्षेत्रका स्थानीयहरुले एक महिना अघिबाट आन्दोलन गर्दै आएका थिए । यो क्षेत्र दाङ निर्वाचन क्षेत्र न ३ मा पर्छ ।
प्रतिक्रिया 4