+
+
Shares

कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १२:१७

२३ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिना गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेर मतदातालाई धन्यवाद यात्रा थालेकी छन् ।

शुक्रबार राति विजयी भएकी बिनाले शनिबार बिहान पोखरा–२५ हेमजामा जेनजी आन्दोलनका घाइते रमेश पौडेललाई भेटेपछि मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रको यात्रा थालेकी हुन् ।

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा पोखरामा रमेशलाई प्रहरीको गोली लागेको थियो । मुख्यमन्त्री कार्यालय छिर्ने सडकमा गोली लागेर ढलेका पौडेल निकट विदेश यात्रा रोकिएर अस्पतालको बेडमा पुगेका थिए ।

हेमजाका पौडेललाई भेटेपछि रास्वपाबाट विजयी सांसद बिनाले आफूले जेनजी आन्दोलनका शहीद, घाइतेका भावनाअनुसार देशमा सुशासन र विकासका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

‘मैले नागरिकलाई ठूला ठूला सपना देखाएकी छैन, निष्ठा र इमान्दारितापूर्वक देश परिवर्तनको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गर्ने बाचा गरेकी छु र मतदाताले मलाई विश्वास गरेर ठूलो मतान्तरले जिताउनुभयो,’ बिनाले भनिन्, ‘म तिनै मतदातालाई धन्यवाद दिँदै विश्वास टुट्न दिन्नँ भन्नकै लागि विजयी भएपछि निर्वाचन क्षेत्रमै पहिलो पाइला राखेकी हुँ ।’

धेरै ठाउँको परिणाम नआउँदै र नेता तथा कार्यकर्ताले खुसी मनाइरहेका बेला विजयी सांसद बिना भने मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रमा पुग्ने अभियान थालिसकेकी हुन् ।

‘यहाँका मतदाताले यति धेरै विश्वास र भरोसा दिलाउनुभएको छ, हामी त्यो मर्न दिँदैनौं भने धन्यवाद यात्रा थालेका हौं,’ बिनाको चुनावी कमाण्डर तथा रास्वपा गण्डकीका महामन्त्री नविन त्रिपाठीले भने, ‘हामीले उत्सव मनाउने होइन, नागरिकले गर्नुभएको विश्वासप्रति प्रतिबद्ध हुने हो, मतदातालाई भरोसा दिलाउने हो ।’

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिनाले ठूलो मतान्तरका साथ कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेकी छन् । बिनाले ३७ हजार ७५० मत ल्याउँदा बिना झण्डै २५ हजार मतान्तरले विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याएका छन् । यहाँ ६५ हजार ४ सय ७ मत खसेको थियो ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६ मत ल्याएका थिए भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६ मत ल्याए । राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत प्राप्त गरेका थिए ।

बिना रास्वपाबाट गण्डकीमा एकमात्र महिला उम्मेदवार हुन् । व्यवसाय र समाजसेवाबाट राजनीतिमा छिरेकी बिना रास्वपाको उम्मेदवार हुँदै जेनजी आन्दोलनको जगमा संसदको यात्रा तय गरेकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?