२४ फागुन, सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अशोककुमार चौधरीले नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारको ५० वर्षे राजनीतिक यात्रा लगभग पूर्णविराम लगाइदिएका छन् ।
सुनसरी–३ मा चौधरीले ४७ हजार ४२१ मत ल्याएर जित निकाल्दा ‘हेभिवेट’ उम्मेदवार गच्छदारले २० हजार ५०१ मत मात्रै प्राप्त गर्न सके । मतदाताले २६ हजार ९२० भोटको मतान्तरले रास्वपाका चौधरीलाई विजयको माला उपहार दिए ।
अघिल्लो पटक यही क्षेत्रबाट जितेकी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी १५ हजार ८३ मत ल्याएर तेस्रो भइन् । योसँगै ७२ वर्षीय गच्छदारको राजनीति चतुरता असफल साबित भएको छ ।
गच्छदारले आफ्नो संसदीय राजनीतिक जीवनकालमा आफूलाई सधैँ अब्बल खेलाडीका रूपमा स्थापित गरेका थिए । पद, पैसा र प्रतिष्ठाका लागि साम, दाम, दण्ड, भेद सबै ‘फर्मुला’ प्रयोग गर्न उनी माहिर मानिन्थे । यस पटक उनका ती सबै फर्मुला मतदाताले असफल बनाइदिएका छन् । रास्वपाको ‘परिवर्तन’को फर्मुलामा उनका पुराना फर्मुलाले काम गरेनन् ।
थारु पहिचानले जितिरहे, विकास गरेनन्
सुनसरी-३ को भूगोलमा रहेका थारु–चौधरीको घना बस्तीलाई भोट बैंक बनाएर गच्छदार ०४८ देखि ०७४ को चुनावसम्म लगातार अपराजित बने । यसबिचमा उनले पटक–पटक उपप्रधानमन्त्री र १२ पटक विभिन्न प्रभावशाली मन्त्रालयका मन्त्री बनेर सत्ताको स्वाद लिइरहे ।
तर, आफ्नो निर्वाचन क्षेत्रलाई उनले सुगम सुनसरीको ‘दुर्गम भेग’कै रूपमा कायम राखे । स्वास्थ्य, शिक्षा, सडक विस्तार, कृषि, रोजगारीदेखि नागरिकता र सुकुमवासीका समस्या समाधानमा गच्छदारले ध्यानै नदिएको गुनासो स्थानीयको थियो ।
थारु बस्तीको मतले जितिरहँदा गच्छदार राष्ट्रिय राजनीतिमा सदाबहार प्रभावशाली नेता भइरहे । यही मुद्दा नै लिएर रास्वपा उम्मेदवार चौधरी मतदाताका घरदैलोमा पुगेका थिए ।
उसो त गच्छदारलाई यस पटकको उम्मेदवारीका बेला आफ्नै भतिजा वेदनारायण गच्छदारसँग परेको विवादले पनि धेरै ठुलो काम गरेको टिप्पणी भइरहेको छ ।
निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने दिन काका–भतिजबिच कसले मनोनयन दर्ता गर्ने भन्ने विषयमा विवाद हुँदा त्यसको समाधान केन्द्रले गर्नुपरेको थियो । भतिजा वेदनारायण दुवही नगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएका थिए । अन्तिममा गच्छदारले आफूलाई अन्तिम पटक अवसर दिन हारगुहार गरेपछि विवादको छिनोफानो भएको थियो ।
उता वेदनारायणले मेयरबाट दिएको राजीनामा पत्र उपमेयरको टेबलमा नपुगेकाले स्वीकृत हुनबाट जोगियो ।
गच्छदारको पृष्ठभूमि
२०१० माघ १९ गते सुनसरीको दुहवी–२ पचिरामा जन्मेका गच्छदार ०२६ सालदेखि कांग्रेससँग जोडिएका हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी कांग्रेसको विद्यार्थी संगठन नेविसंघको राजनीतिबाट उदाएका हुन् । त्यसपछि उनी तराई–मधेशमा थारु समुदायको अनुहार देखिने नेता बनिरहे ।
गच्छदार ०४८ सालदेखि ०७४ सालसम्ममा चार पटक उपप्रधान मन्त्रीसहित गृह, सञ्चार, भौतिक योजना, निर्माण, स्थानीय विकास, यातायात र जलश्रोत गरी १२ पटक मन्त्री बने ।
सुनसरीमा उनी लडेका अधिकांश चुनाव जित्दै आए पनि । अहिलेको हार उनको राजनीतिक जीवनका आठ निर्वाचनमा भोगेको दोस्रो हार हो ।
०६२/६३ मा मधेश आन्दोलन चर्किदा गच्छदारले कांग्रेस छाडेर मधेसी जनाधिकार फोरममा प्रवेश गरेका थिए । त्यो पार्टी फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरेर त्यसको अध्यक्ष बने ।
०७४ को चुनावमा टिकट लिएर चुनाव लड्ने सर्तमा उनी कांग्रेस फर्किएका थिए । त्यो निर्वाचनमा उनी जितेका थिए । ०७९ को चुनावमा करिब ५ हजार मतको अन्तरले एमाले नेतृ भगवती चौधरीसँग पराजित भएका थिए ।
पछिल्लो समयमा ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि उनको राजनीतिक जीवनमा धक्का लाग्यो । २०८० फागुनमा विशेष अदालतले सो मुद्दामा सफाइ दिएको थियो ।
यसपालि फेरि अर्को पटक हराएर सुनसरीका मतदाताले गच्छदारलाई फेरि उठ्नै नसक्ने गरी थचारी दिएका छन् ।
प्रतिक्रिया 4