News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भदौ २३ र २४ गतेको घटनाबारे गठन भएको आयोगको प्रतिवेदनबारे अध्ययन थालेको छ।
- आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूको भूमिकामा कारबाही सिफारिस गरेको छ।
- भदौ २४ गतेको घटनामा संलग्न प्रहरी र सेनाका अधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ।
२४ फागुन, काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटनावारे जाँचबुझ गर्न गठन भएको आयोगले बुझाएको प्रतिवेदनबारे अध्ययन थालेको छ ।
आईतबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदका केही सदस्यहरुले प्रतिवेदनका विषयवस्तु र कारवाहीको प्रक्रियाका बारेमा छलफल थालेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘केही मन्त्रिहरुले प्रतिवेदनको सरसर्ती अध्ययन थाल्नुभएको छ, अब बस्ने मन्त्रिपरिषद बैठकले त्यसका अरु प्रक्रियाहरु अघि बढाउला ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने सिलबन्दी रुपमा पेश भएको आयोगको प्रतिवेदन खोल्ने काम नभएको बताउँछन् ।
‘अब बस्ने मन्त्रिपरिषद बैठकमा सिलबन्दी भएको प्रतिवेदन पेश भएपछि त्यसले नै बाँकी निर्णय गर्ला’ रावलले अनलाइनखबरसँग भने, ‘प्रतिवेदन खोल्ने काम नभएकाले त्यहाँ के छ भन्नेबारेमा केही पनि थाहा छैन ।’
प्रतिवेदनमा के छ ?
जाँचबुझ आयोग सचिवालय सम्वद्ध स्रोतका अनुसार, कर्मचारीहरुको संलग्नतामा प्रतिवेदनको मस्यौदा तयार गर्ने काम भएपछि केही संवेदनशील घटना, त्यसमा जोडिएका व्यक्ति र उनीहरुमाथि कारबाहीको भाग खाली राखिएको थियो ।
‘अन्तिमका तीन दिनमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बाँकी काम हामीहरुले नै गर्छौं, तपाईंहरुले हेर्न पर्दैन भन्नुभयो’ ती कर्मचारीले भने, ‘त्यसपछि प्रिन्ट भएको प्रतिवेदनमा हामीले ज्यादा चासो दिएनौं ।’
स्रोतका अनुसार, आयोगले जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका व्यक्तिको भूमिका र जिम्मेवारीको विश्लेषण गरेको छ ।
स्रोतले भन्यो, ‘उनीहरुको भूमिकाको विश्लेषण सहित जिम्मेवार ठहर्याएर कारबाहीको सिफारिस भएको छ ।’ तर कुन तहको कारबाही भन्नेबारे स्रोतले खुलाउन चाहेन ।
उनीहरु बाहेक तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतमाथि अर्को तहको कारबाही भएको स्रोत बताउँछ । घटनामा जोडिएका प्रहरीका अरु कतिपय अधिकारीहरुमाथि प्रहरी ऐन बमोजिम कारबाहीको सिफारिस छ ।
भदौ २४ को विश्लेषण
जाँचबुझ आयोगले भदौ २४ गतेको विध्वंशमा संलग्नहरुको भूमिकामाथि समेत प्रश्न गरेको छ । त्यसक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाले खेलेको भूमिकाबारे पनि विश्लेषण भएको स्रोत बताउँछ ।
‘विध्वंश र आगजनीमा संलग्न भेटिएका केही व्यक्तिमाथि प्रचलित कानुन अनुसार कारबाहीको सिफारिस भइसकेको छ’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यो तहको परिस्थिती आउनुमा के कस्ता घटनाहरू कारक थिए भनेर समेत हेर्ने प्रयास भएको छ ।’
जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले भदौ २४ गतेको घटना अलि बृहत प्रकृतिको र जटिल भएको प्रतिक्रिया दिए । ‘हामीले भोलीको अनुसन्धान गर्नलाई एउटा आधार बनाइदिएका छौं’ अनलाइनखबरसँगको प्रतिक्रियामा उनले भनेका थिए, ‘कतिलाई चित्त बुझ्छ, कतिलाई चित्त बुझ्दैन । हामीले आफूले देखेको हिसाबले काम गरेका छौं ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा प्रधानमन्त्रीसामू पेश भएको प्रतिवेदन गोप्य रहेको बताए । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदमा पेश गरेर अध्ययन गरेपछि अरु कुरा थाहा होला’ उनले भने, ‘प्रतिवेदनका बारेमा अहिले मलाई अरु केही थाहा छैन ।’
प्रतिक्रिया 4