२ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक स्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यो जानकारी गराएका हुन् ।
गत भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ ।
त्यतिबेला गृह सचिवमा गोकर्णमणि दुवाडी, गृहमन्त्रीमा रमेश लेखक र प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए । उनीहरुलाई बयानमा बोलाउनका लागि पत्र काट्ने तयारीमा आयोग छ ।
ओलीले यसअघि आयोगलाई बयान नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
आयोगले हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा काठमाडौंका तत्कालीन सीडीओ छबि रिजालसँग बयान लिएको छ । साथै तत्कालीन नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसँग पनि बयान लिइसकेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गर्न सरकारले गत असोज ५ गते तीन महिनाको म्यादसहित आयोग गठन गरेको थियो । आयोगको म्याद सकिने बेलासम्म पनि बयान लिने काम सकिएको छैन । थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरु बाँकी भएकाले आयोगको समयावधि थपिने निश्चितजस्तै भइसकेको आयोगसम्वद्ध स्रोत बताउँछ ।
आयोग अध्यक्ष कार्कीले प्रधानमन्त्रीसँगको भेटमा आयोगको म्याद एक महिना थप्न आग्रह समेत गरेका थिए । यसअघि मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4