News Summary
Generated by OK AI. Editorially reviewed.- भारत सरकारले बढ्दो भू–राजनीतिक तनाव र इन्धन आपूर्तिमा अवरोधका कारण खाना पकाउने ग्यास (एलपी) उत्पादन बढाउन निर्देशन दिएको छ।
- ग्यासको कालोबजारी रोक्न एउटा सिलिन्डर लिएको २५ दिनपछि मात्र अर्को बुकिङ गर्न पाइने नियम लागू गरिएको छ।
- आयातित गैर–घरायसी ग्यास अस्पताल र शैक्षिक संस्थामा प्राथमिकतामा पठाइने र अन्य क्षेत्रमा आपूर्ति समीक्षा गर्न समिति गठन गरिएको छ।
२६ फागुन, काठमाडौं । बढ्दो भू–राजनीतिक तनाव र इन्धन आपूर्तिमा देखिएको अवरोधलाई मध्यनजर गर्दै भारत सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई खाना पकाउने ग्यास (एलपी) को उत्पादन बढाउन र थपिएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आम नागरिकको सहजताका लागि घरघरमा हुने एलपीजी आपूर्तिलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ ।
यसका साथै, ग्यासको कालोबजारी र जम्माखोरी (कृत्रिम अभाव) रोक्न एउटा सिलिन्डर लिएको २५ दिनपछि मात्र अर्को बुकिङ गर्न पाइने ‘इन्टर–बुकिङ अवधि’ को नियमसमेत लागु गरिएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार व्यावसायिक प्रयोजनका लागि विदेशबाट आयात गरिने गैर–घरायसी ग्यासको वितरणमा पनि नयाँ व्यवस्था गरिएको छ । जसअन्तर्गत आयातित ग्यास सबैभन्दा पहिले अस्पताल र शैक्षिक संस्था जस्ता अति आवश्यक क्षेत्रमा पठाइनेछ ।
त्यसैगरी, अन्य गैर–घरायसी क्षेत्रमा एलपीजी आपूर्तिसम्बन्धी विषयको समीक्षा गर्न त्यहाँका आयल मार्केटिङ कम्पनीका तीन जना कार्यकारी निर्देशक सम्मिलित एक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
अब रेस्टुरेन्ट, होटल र अन्य उद्योगहरूबाट आउने ग्यासको माग र अनुरोधका सम्बन्धमा यसै समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।
प्रतिक्रिया 4