News Summary
Generated by OK AI. Editorially reviewed.- सोशल मिडियामा भाइरल भएको भिडियोमा बाँदरलाई क्रूरतापूर्वक मारिएको देखिन्छ, जुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी छ।
सद्दे आँखाले हेर्न नसकिने एउटा भिडियो भाइरल छ, बाँदरलाई तड्पाउँदै मारिएको । एउटी आमा बाँदर र बच्चासमेतलाई थुनिएको कारुणिक दृश्य त्यसमा देखिन्छ । अन्य बाँदरलाई कुकुरले टोकाउँदै र लाठीले निर्ममतापूर्वक हिर्काउँदै मारिएको छ ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले यसलाई ‘जघन्य अपराध’को संज्ञा दिएका छन् । कतिपयले भने ‘बाली खाने बाँदरलाई मार्नु सामन्य हो’ भनी तर्क राखेका छन् ।
एकातिर वन्यजन्तुमाथि हुने यस्ता जघन्य हिंसा बढ्दैछ, अर्कोतिर किसानको बालीनाली जोगाउन कठिन भइरहेको अवस्था पनि छ । कतिपय ठाउँमा वन्यजन्तुले बालीनाली खाइदिएपछि उठिबास लाग्ने स्थिति रहेको पाइन्छ ।
यसै सेरोफेरोमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक तथा वन्यजन्तुविज्ञ डा. लक्ष्मण खनालसँग सुमित्रा लुइटेलले कुराकानी गरेकी छिन् । खनाल बाँदरहरू समेतका वन्यजन्तुको विविधता, वितरण, व्यवहार आदिका विषयमा अध्ययन गर्ने वन्यजन्तुविज्ञ हुन् ।
आधा दर्जन बाँदरलाई क्रूर मारिएको भिडियो आएसँगै सो बाँदर संरक्षित बाँदर भनी तपाईंले एउटा फेसबुक पोस्ट गर्नुभएको छ नि ?
भाइरल भिडियोमा देखिएको बाँदर रातो बाँदर होइन, आसामी/पहरे बाँदर हो—कालो रङ, ठूलो आकार, पहरोमा बस्ने, सानो समूह (८ देखि ३० को संख्यामा ) । यो हानिकारक सूचीमा छैन, पूर्ण संरक्षित छ ।
यी बाँदरलाई मारेको अवस्थामा कुनै दण्ड सजाय हुनसक्छ ?
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची–१ मा सूचीकृत संरक्षित स्तनधारी प्राणीहरूमा आसामी बाँदर पनि पर्छ, जसलाई पहरे बाँदर, कालगाडा, टुप आदि नामले चिनिन्छ । यो प्रजाति नेपालमा कम संख्यामा छ, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रेड लिस्टमा संकटको नजिक छ ।
यसलाई मार्नु संरक्षित वन्यजन्तु हत्या अन्तर्गत पर्छ, जसमा ५ देखि १५ वर्षसम्म कैद र जरिवाना हुन सक्छ । भिडियोमा देखिएको क्रूरता पशु क्रूरता पनि हो, जसमा मुलुकी अपराध संहिताको प्रावधान लागू हुन्छ।
सरकारले हालै मात्र बाँदर लगायत केही वन्यजन्तुलाई ‘कृषि हानिकारक’ भनी धपाउन र त्यस क्रममा मारिए कानुन नलाग्ने भनेको छ नि ?
सरकारले २०८१ माघमा पहिलो पटक र २०८२ माघ २९ मा पुनः राजपत्रमा जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यसअनुसार निजी खेतबारीमा पसेका रातो बाँदरलाई लखेट्न, धपाउन वा पक्रन पाइन्छ । लखेट्ने क्रममा मरेमा, स्थानीय सरकारलाई जानकारी दिएर मुचुल्का उठाएपछि कानुनी कारबाही हुँदैन ।
तर यसले क्रूर हत्या, यातना वा समातेर मार्न अनुमति दिँदैन । राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रभित्र यो नियम लागू हुँदैन । पक्रिएका बाँदरलाई वन कार्यालयमा बुझाउनुपर्छ ।
किसानको बालीनाली खाएर हैरान भएपछि लखेट्ने, मार्ने गरेको देखिन्छ । यसलाई धेरैले सही पनि भन्ने गरेको पाइन्छ त ?
बाँदरहरू पारिस्थितिकी प्रणालीको हिस्सा हुन् । एक ठाउँबाट अर्को ठाउँमा बीउ वितरण गर्छन्, चितुवा, निरबिरालोको आहारा बन्छन् । यदि बाँदर घटे भने मांसाहारी जनावरहरूले मानव आक्रमण बढाउन सक्छन् । रातो बाँदरले ठूलो क्षति गर्छ ठूलो समूह ५०–१०० को समूहमा हिँड्छ । तर, आसामी कम हानिकारक, लजालु, डराउने स्वभावको हुन्छ । प्रतिशोधात्मक हत्या समाधान होइन ।
मार्दा बाँदर समूहमा त्रास र आक्रामकता बढ्छ—स्थानीयलाई (वशेष गरी महिला/बालबालिकालाई आक्रमण गर्ने जोखिम बढ्छ । त्यसो भए बाँदर पनि जोगाउने र बालीनाली पनि जोगाउने कुनै वैज्ञानिक तरिका छ ?
वन्यजन्तु मार्नु पछौटे र अवैज्ञानिक तरिका हो । यसलाई व्यवस्थापन गर्ने हो । बाँदर बालीनालीमा पस्नु भनेको भोक मेट्नका लागि हो । जब जंगलमा उनीहरूलाई भोकमरीको समस्या हुन्छ, खानेकुरा खोज्दै बालीनालीमा प्रवेश गर्छ । तिनीहरूलाई थाहा हुँदैन यो किसानले रोपेका हुन्, उनीहरूको मात्र हुन् ।
तिनीहरूको अज्ञानतामा मान्छे मूर्ख बन्नु भएन । यसको सहज व्यवस्थापन भनेको वनजंगललाई संरक्षित गर्ने । फलफूल आदि रोपिदिने हो । यस्तै आफ्नो खेत वरिपरि तारबार, काँडेदार बिरुवा लगाउन सकिन्छ । यससँगै बाँदरको बन्ध्याकरण जस्ता कार्यक्रम पनि गर्न सकिन्छ ।
समुदाय स्तरमा पहरा, सचेतना फैलाउनु जरुरी छ । राज्यले एकीकृत योजना ल्याउनुपर्छ, वासस्थान व्यवस्थापन, क्षतिपूर्ति प्रभावकारी बनाउनुपर्छ । किसानको दु:ख बुझिन्छ, तर ‘मार्न पाइन्छ्’ भन्ने गलत सन्देश फैलियो । सरकारले स्पष्ट सूचना दिए पनि क्रूरता अनुमति दिएको छैन ।
प्रतिक्रिया 4