News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन्।
- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको उल्लेख गरेका छन्।
- फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले ईरानमा संयुक्त आक्रमण गरेका थिए जसमा अली खामेनी मारिएपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको छ ।
१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै इरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र इरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् ।
उनले इरानमा लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा डिल हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन् ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन् । उनले यदि फेरि द्वन्द्व नचर्किने ग्यारेन्टी भए इरान युद्ध अन्त्यका लागि तयार रहेको बताएका छन् ।
इजरायल के भन्छ ?
तर इजरायलको धारणा भने फरक देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालसम्म युद्ध अन्त्य गर्ने कुनै समयसीमा तोकेका छैनन् । हालै उनले इरानसँगको संघर्ष कहिले टुंगिने भन्ने विषयमा निश्चित ‘डेडलाइन’ दिन नसकिने बताएका थिए ।
पश्चिम एशियामा सक्रिय अमेरिकी कम्पनीहरूमाथि इरानले दिएको धम्कीबारे सोध्दा ट्रम्पले त्यसलाई गम्भीर रूपमा नलिएको संकेत दिएका छन् । उनले इरानी नेतृत्वले त्यस्तो आक्रमण गर्ने सम्भावना न्यून रहेको दाबी गरेका छन् ।
फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी लगायतका उच्च अधिकारी मारिएका छन् ।
खामेनेईको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको खबर सार्वजनिक भएको छ । यद्यपि उनी हाल कहाँ छन् भन्नेबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।
यस घटनाक्रमका कारण खाडी मुलुकहरुमा पनि असुरक्षा बढेको छ । इरानले बदलास्वरुप खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारमा हमला जारी राखेको छ । यस युद्धले विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ ।
प्रतिक्रिया 4