१८ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ ले पार्टीमा चुलिएको विवादका बीच पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने घोषणा गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टीमा देखिएको पछिल्लो किचलो प्रति असन्तुष्टि जनाउँदै का औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने घोषणा गरेका हुन् ।
महामन्त्री शाहले लेखेका छन्, ‘यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली कांग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिदाँसम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयम्ले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु ।’
महामन्त्री शाहले आगामी दिनहरूमा आफू सम्भवतः दलगत राजनीतिभन्दा टाढा नै रहने पनि संकेत गरेका छन् । ‘यदि, दुर्भाग्यवश पार्टी यसैबीच विभाजन तर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवादप्रति आस्थावान एवं चारतारे झण्डामुनी अन्धविश्वासी भइ लागेका साथीहरूको संगठनप्रतिको निष्ठा मर्म एवं भावनामाथि निर्मम तरिकाले ठूलो आघात पुग्ने निश्चित छ,’ उनले भनेका छन् ।
शाह यसअघि कांग्रेस कैलालीको दुई कार्यकाल सभापतिको भूमिकामा थिए । उनका बुवा स्व. मोहनबहादुर शाह (पूर्वजिविस सभापति) ले पनि कैलाली कांग्रेसको नेतृत्व गरेका थिए ।
महामन्त्री शाहका हजुरबुवा स्व. लोकेन्द्रबहादुर शाह पनि कैलाली कांग्रेसका सभापति थिए । उनी २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनका सांसद पनि हुन् ।
लोकेन्द्रबहादुर तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६५ कैmलाली–कञ्चनपुरबाट कांग्रेसका तर्फबाट छ हजार ५४४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका धनबहादुर महतोले एक हजार ५४५ मत पाएका थिए ।
प्रतिक्रिया 4