News Summary
Generated by OK AI. Editorially reviewed.- दुर्घटनामा ८ जना अमेरिकी सैनिकको घटनास्थलमै मृत्यु भयो भने बाँकी सैनिकहरू आफ्ना विमान र उपकरणहरू मरुभूमिमै छोडेर भाग्न बाध्य भए।
- क्रान्तिपछिको इरानले आफ्नो शासन व्यवस्थालाई पूर्णतया परिवर्तन गर्दै ‘इस्लामिक गणतन्त्र’ को मौलिक ढाँचा आत्मसात् गर्यो।
- आजको बहुध्रुवीय विश्वमा इरानले चीन र रूससँगको सम्बन्ध विस्तार गर्दै अमेरिकाको प्रभुत्वलाई चुनौती दिइरहेको छ। यी दुई देशबीचको सम्बन्ध कुन दिशामा जान्छ भन्ने कुराले मध्यपूर्वको मात्र होइन, बरु विश्वकै शान्ति र अर्थतन्त्रको दिशा तय गर्ने निश्चित छ।
अमेरिका र इरानबीचको वर्तमान सम्बन्धलाई हेर्दा यी दुई देश कहिल्यै मित्र थिए होलान् भनेर कल्पना गर्न पनि कठिन हुन्छ। तर, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अगाडि इरान र अमेरिका मध्यपूर्वका सबैभन्दा नजिकका रणनीतिक साझेदार थिए। दोस्रो विश्वयुद्धपछि इरानमा पेट्रोलियम पदार्थको प्रचुर सम्भावना देखिएपछि अमेरिका र बेलायतले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन सुरु गरे।
त्यस समयमा इरानमा रेजा शाह पहलवीको शासन थियो, जसलाई पश्चिमा शक्तिहरूले आफ्नो स्वार्थ अनुकूलको ‘आधुनिक राजा’ को रूपमा प्रस्तुत गरेका थिए। अमेरिकाले इरानलाई उन्नत हतियार र प्रविधि उपलब्ध गराउँथ्यो भने बदलामा इरानको तेल माथि अमेरिकी र बेलायती कम्पनीहरूको पूर्ण एकाधिकार थियो।
इरानको विशाल प्राकृतिक स्रोत र रणनीतिक अवस्थितिले गर्दा अमेरिकाले यसलाई सोभियत संघ विरुद्धको बलियो किल्ला मानेको थियो।
तर, यो मित्रता केवल शासक वर्गमा मात्र सीमित थियो; आम इरानी जनता भने आफ्नो देशको अमूल्य सम्पत्ति विदेशीहरूको हातमा सुम्पिएको र राजाको विलासी जीवनशैली देखेर भित्रभित्रै आक्रोशित थिए। यही आन्तरिक असन्तोषले नै भविष्यको भीषण विद्रोहको जग बसाल्ने काम गर्यो।
राजा पहलवीको शक्तिमा पुनरागमन
सन् १९५० को दशकमा इरानको राजनीतिमा एउटा महत्वपूर्ण मोड आयो, जब राष्ट्रवादी नेता मोहम्मद मोसादेघ प्रधानमन्त्रीका रूपमा उदाए। उनले इरानी जनताको भावना बुझेर देशको तेल उद्योगलाई राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय गरे, जसले बेलायतको ‘एङ्ग्लो इरानियन आयल कम्पनी’को वर्चस्व समाप्त गरिदियो। यो कदम इरानको आर्थिक स्वतन्त्रताका लागि महत्वपूर्ण भए पनि पश्चिमा शक्तिहरूका लागि सह्य भएन। फलस्वरूप, सन् १९५३ मा अमेरिकी गुप्तचर निकाय सीआईए र बेलायती एमआई–६ ले मिलेर ‘अपरेशन एजाक्स’ मार्फत प्रजातान्त्रिक रूपमा चुनिएका मोसादेघको तखतापलट गरे।
यो घटनाले इरानमा प्रजातन्त्रको गला निमोठ्ने काम मात्र गरेन, बरु पुन: राजा पहलवीलाई तानाशाही अधिकार सहित सत्तामा स्थापित गर्यो। आफ्ना लोकतन्त्रप्रेमी नेतालाई अपदस्थ गरेर विदेशी स्वार्थका लागि राजालाई लादिएपछि इरानी जनतामा अमेरिकाप्रति गहिरो अविश्वास र घृणाको बीउ रोपियो। यो घटनाले अमेरिकालाई इरानी जनताको नजरमा एक ‘साम्राज्यवादी शक्ति’का रूपमा चित्रित गरिदियो, जसको असर दशकौंसम्म मेटिन सकेन। र, अन्तत: १९७९ को क्रान्तिको मुख्य कारक तत्व बन्न पुग्यो।
आधुनिकीकरण अभियान
पुन: सत्तासीन भएपछि राजा पहलवीले अमेरिकाको पूर्ण समर्थनमा इरानमा ‘श्वेत क्रान्ति’ नामको आधुनिकीकरण अभियान सुरु गरे। यो अभियानले इरानको पूर्वाधार र शिक्षामा केही सुधार ल्याए पनि यसको मुख्य उद्देश्य इरानी समाजलाई पश्चिमा संस्कृतिमा ढालिदिनु थियो। इरानका शहरहरूमा रक्सी, जुवा र पश्चिमा फेसनलाई खुल्ला रूपमा प्रश्रय दिइयो, जसले गर्दा इरानको कट्टरपन्थी र परम्परागत इस्लामिक समाज निकै चिढियो।
राजाले आफ्नो शासनको विरोध गर्नेहरूलाई दबाउन ‘सावाक’ नामक क्रूर गुप्तचर निकाय गठन गरेका थिए, जसले विपक्षीहरूलाई बेपत्ता पार्ने र जेलमा यातना दिने काम गर्थ्यो। यही सांस्कृतिक र राजनीतिक दमनका बीच निर्वासित धर्मगुरु आयतोल्लाह रुहोल्लाह खोमेनीले राजा र अमेरिका विरुद्ध धार्मिक र राष्ट्रिय भावना जागृत गराउन सफल भए। खोमेनीले विदेशबाट पठाउने अडियो क्यासेट र पर्चाहरूले इरानी युवा र धार्मिक समुदायमा क्रान्तिको ज्वाला दन्काउने काम गर्यो।
‘ब्ल्याक फ्राइडे’
राजाको विलासिता र पश्चिमा अन्धभक्तिले आम मानिसलाई यति आजित बनाएको थियो कि उनीहरू खोमेनीको एउटै आह्वानमा ज्यान दिन तयार हुने स्थितिमा पुगिसकेका थिए। सन् १९७८ को अन्त्यतिर इरानमा जनआन्दोलनले विशाल रूप लियो। ८ सेप्टेम्बर १९७८ मा तेहरानको झालेह स्क्वायरमा भेला भएका हजारौं शान्तिपूर्ण प्रदर्शनकारीहरू माथि राजाको सेनाले अन्धाधुन्ध गोली वर्षा गर्यो, जसलाई इतिहासमा ‘ब्ल्याक फ्राइडे’ भनिन्छ। यो नरसंहारमा सयौं मानिसको मृत्यु भएपछि आन्दोलन रोकिनुको साटो झन् हिंसात्मक र निर्णायक बन्यो। देशभरका कलकारखाना ठप्प भए, तेल उत्पादन रोकियो र लाखौं जनता सडकमा उत्रिएर ‘मर्ग बर अमेरिका’ भन्दै नाराबाजी गर्न थाले।
अन्तत: परिस्थितिलाई नियन्त्रण गर्न असम्भव भएपछि १६ जनवरी १९७९ मा राजा पहलवी सधैंका लागि देश छोडेर भाग्न बाध्य भए। राजा भागेको १५ दिनपछि १ फेब्रुअरी १९७९ मा आयतोल्लाह खोमेनी फ्रान्सबाट विजयी भावमा इरान फर्किए। तेहरानको विमानस्थलदेखि चिहान डाँडासम्म उनलाई स्वागत गर्न ओर्लिएको ५० लाखभन्दा बढी मानिसको भीडले इरानमा राजतन्त्रको अन्त्य र ‘इस्लामिक क्रान्ति’ को औपचारिक सुरुवात भएको घोषणा गर्यो। यसले इरानलाई मात्र होइन, बरु सम्पूर्ण मध्यपूर्वको शक्ति सन्तुलनलाई नै सधैंका लागि बदलिदियो।
अमेरिकी कूटनीतिज्ञ बन्दी
क्रान्तिपछिको इरानमा परिस्थिति निकै जटिल थियो। यसैबीच, क्यान्सरको उपचारका लागि पूर्वराजा पहलवीलाई अमेरिकाले शरण दिएपछि इरानी जनतामा फेरि सन् १९५३ को जस्तै तखतापलट हुने आशंका बढ्यो। ४ नोभेम्बर १९७९ मा आक्रोशित इरानी विद्यार्थीको एक समूहले तेहरानस्थित अमेरिकी दूतावासको पर्खाल नाघेर भित्र पसी त्यहाँ रहेका ५२ जना अमेरिकी कूटनीतिज्ञ र कर्मचारीहरूलाई बन्धक बनाए। विद्यार्थीको माग स्पष्ट थियो– अमेरिकाले भगौडा राजा पहलवीलाई इरान फिर्ता गरोस् ताकि उनलाई जनताको अदालतमा उभ्याएर फाँसी दिन सकियोस्।
यो घटनाले विश्व कूटनीतिमा ठूलो हलचल पैदा गर्यो र अमेरिकाको प्रतिष्ठामा आँच पुर्यायो। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै इरानमाथि आर्थिक नाकाबन्दी लगायो। यो ‘होस्टेज क्राइसिस’ ले गर्दा अमेरिका र इरानबीचको कूटनीतिक सम्बन्ध पूर्ण रूपमा टुट्यो, जुन आजसम्म पनि पुन:स्थापना हुनसकेको छैन। यही घटनाले इरानलाई विश्व मञ्चमा अमेरिकाको सबैभन्दा ठूलो शत्रुका रूपमा स्थापित गरिदियो र मध्यपूर्वमा दशकौंसम्म चल्ने द्वन्द्वको नयाँ अध्याय शुरु भयो।
‘अपरेशन इगल क्ल’
बन्धकहरूलाई बलपूर्वक मुक्त गराउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले २४ अप्रिल १९८० मा ‘अपरेशन इगल क्ल’ नामक एक अत्यन्तै गोप्य र जोखिमपूर्ण सैन्य अभियानको आदेश दिए। यो अभियानमा अमेरिकाका अत्याधुनिक हेलिकप्टर र सि–१३० मालवाहक जहाजहरू प्रयोग गरिएका थिए। तर, इरानको तबस मरुभूमिमा अवतरण गर्ने क्रममा भीषण बालुवाको आँधी र प्राविधिक त्रुटिका कारण एउटा अमेरिकी हेलिकप्टर जहाजसँग ठोक्किएर विस्फोट भयो। यो दुर्घटनामा ८ जना अमेरिकी सैनिकको घटनास्थलमै मृत्यु भयो भने बाँकी सैनिकहरू आफ्ना विमान र उपकरणहरू मरुभूमिमै छोडेर भाग्न बाध्य भए। विश्वको महाशक्ति मानिने अमेरिकाको यो लज्जास्पद पराजयले कार्टर प्रशासनलाई ठूलो राजनीतिक धक्का दियो। अर्कोतर्फ, आयतोल्लाह खोमेनीले यसलाई ‘दैवी हस्तक्षेप’ को संज्ञा दिंदै इरानी क्रान्तिलाई ईश्वरीय शक्तिले रक्षा गरिरहेको दाबी गरे। यस असफल अभियानले गर्दा इरानको आत्मविश्वास झन् बढ्यो भने अमेरिकाभित्र आफ्नो सेना र सरकारको क्षमता माथि गम्भीर प्रश्न उठ्न थाल्यो। यसले इरान र अमेरिकाबीचको शत्रुतालाई अझ गहिरो र व्यक्तिगत बनाइदियो।
कार्टरको शर्मनाक हार
अमेरिकी बन्धक काण्ड कुल ४४४ दिनसम्म चल्यो, जुन आधुनिक इतिहासको सबैभन्दा लामो बन्धक संकटमध्ये एक हो। यो संकटले गर्दा जिम्मी कार्टरले सन् १९८० को राष्ट्रपति निर्वाचनमा नराम्रो हार बेहोर्नुपर्यो र रोनाल्ड रेगन विजयी भए। इरानले यो संकटलाई अन्त्यसम्मै राजनीतिक हतियारका रूपमा प्रयोग गर्यो। रोचक कुरा के छ भने, इरानले बन्धकहरूलाई तब मात्र मुक्त गर्यो जब जिम्मी कार्टरले राष्ट्रपतिको कुर्सी छोडे र रोनाल्ड रेगनले नयाँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे।
२० जनवरी १९८१ मा रेगनले शपथ लिएको केही मिनेटभित्रै बन्धकहरूलाई बोकेको विमान तेहरानबाट उड्यो। यसका लागि अल्जेरियाको मध्यस्थतामा अमेरिकाले इरानको रोक्का गरिएको करिब १२ अर्ब डलरको सम्पत्ति फुकुवा गर्ने र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सम्झौता गरेको थियो। यो घटनाले कूटनीतिक रूपमा इरानले अमेरिकालाई झुकाउन सफल भएको सन्देश विश्वभर दियो। यसले के प्रमाणित गर्यो भने इरान अब पुरानो ‘कठपुतली’ राष्ट्र रहेन, बरु आफ्नै शर्तमा अन्तर्राष्ट्रिय राजनीति गर्ने एक विद्रोही शक्तिको रूपमा उदाएको छ।
इस्लामिक गणतन्त्रको मौलिक ढाँचा
क्रान्तिपछिको इरानले आफ्नो शासन व्यवस्थालाई पूर्णतया परिवर्तन गर्दै ‘इस्लामिक गणतन्त्र’ को मौलिक ढाँचा आत्मसात् गर्यो। यहाँ ‘विलायते फकिह’ को अवधारणा लागू गरियो, जसमा सर्वोच्च अधिकार एक धार्मिक नेताको हातमा हुन्छ। यो व्यवस्थामा राष्ट्रपति र संसद्को चुनाव त हुन्छ, तर अन्तिम निर्णय गर्ने अधिकार ‘गार्जियन काउन्सिल’ र सर्वोच्च नेतालाई मात्र हुन्छ। इरानले आफ्नो आन्तरिक र बाह्य सुरक्षाका लागि ‘आईआरजीसी’ नामक शक्तिशाली सेनाको निर्माण गर्यो, जो सिधै सर्वोच्च नेताप्रति जवाफदेही हुन्छ।
यही सैन्य संयन्त्रले हाल मध्यपूर्वका विभिन्न देशहरू जस्तै लेबनानमा हिजबुल्लाह, गाजामा हमास र यमनमा हुथी विद्रोहीहरूलाई आर्थिक र सामरिक सहयोग गर्दै ‘प्रोक्सी वार’ मार्फत अमेरिका र इजरायलको प्रभावलाई चुनौती दिइरहेको छ। इरानको यो राजनीतिक र सैन्य ढाँचाले उसलाई बाह्य हस्तक्षेपबाट जोगाउने कवचको काम गरिरहेको छ। अमेरिकाले इरानको नियमित सेनालाई भन्दा यो क्रान्तिकारी सेनालाई बढी खतरनाक मान्ने गर्दछ किनकि यसको पहुँच र प्रभाव इरानको भौगोलिक सिमाना भन्दा धेरै टाढासम्म फैलिएको छ।
पश्चिमा सञ्चारमाध्यमहरूले अक्सर इरानलाई महिला विरोधी र पिछडिएको समाजका रूपमा चित्रण गर्ने गर्छन्। तर, क्रान्तिपछिको सामाजिक तथ्यांकले भने केही फरक र सकारात्मक चित्र पनि प्रस्तुत गर्छ। राजा पहलवीको शासनकालमा इरानमा महिला साक्षरता दर केवल ३५ प्रतिशतको हाराहारीमा थियो, तर आज त्यो बढेर झण्डै ९९ प्रतिशत पुगेको छ। इरानका विश्वविद्यालयहरूमा अहिले ६० प्रतिशत भन्दा बढी विद्यार्थी महिला छन्। धार्मिक कट्टरताका बावजुद इरानले विज्ञान र प्रविधिमा उल्लेख्य प्रगति गरेको छ।
क्रान्तिपछिको इरानले आफ्नो शासन व्यवस्थालाई पूर्णतया परिवर्तन गर्दै ‘इस्लामिक गणतन्त्र’ को मौलिक ढाँचा आत्मसात् गर्यो।
उदाहरणका लागि, अमेरिकाले आफ्नो इतिहासमा पहिलो महिला उपराष्ट्रपति पाउन सन् २०२१ सम्म पर्खिनुपर्यो, जबकि इरानले सन् १९९७ मै मासुमेह इब्तेकारलाई उपराष्ट्रपतिको रूपमा नियुक्त गरिसकेको थियो। यसले के देखाउँछ भने, इरानले आफ्नो इस्लामिक मूल्य–मान्यतालाई कायम राख्दै आधुनिक शिक्षा र महिला सशक्तीकरणमा पनि उल्लेख्य लगानी गरेको छ। यद्यपि, व्यक्तिगत स्वतन्त्रता र पोशाकका विषयमा भने अझै पनि त्यहाँ ठूलो बहस र आन्तरिक संघर्ष जारी छ, जसले समय–समयमा अन्तर्राष्ट्रिय ध्यान तान्ने गरेको छ।
वर्चस्वको लामो लडाइँ
निष्कर्षमा भन्नुपर्दा, इरान र अमेरिकाको लडाइँ केवल दुई देशबीचको सामान्य विवाद मात्र नभई यो पहिचान, स्वाभिमान र भू–राजनीतिक वर्चस्वको लामो लडाइँ हो। अमेरिकाले अझै पनि इरानमा सन् १९५३ को जस्तै आफ्नो अनुकूलको शासन व्यवस्था फर्किएको हेर्न चाहन्छ भने इरान आफ्नो स्वतन्त्रता र क्षेत्रीय शक्तिको रूपमा स्थापित हुन कटिबद्ध छ।
इरानको भौगोलिक स्थिति र ‘होर्मुज जलसन्धि’ माथिको नियन्त्रणले गर्दा विश्वको तेल आपूर्तिमा उसको ठूलो पकड छ। त्यसैले, अमेरिकाले इरानमाथि जतिसुकै दबाब र नाकाबन्दी लगाए पनि इरानलाई पूर्ण रूपमा झुकाउन सकेको छैन। आजको बहुध्रुवीय विश्वमा इरानले चीन र रूससँगको सम्बन्ध विस्तार गर्दै अमेरिकाको प्रभुत्वलाई चुनौती दिइरहेको छ। भविष्यमा यी दुई देशबीचको सम्बन्ध कुन दिशामा जान्छ भन्ने कुराले मध्यपूर्वको मात्र होइन, बरु विश्वकै शान्ति र अर्थतन्त्रको दिशा तय गर्ने निश्चित छ। यो द्वन्द्व केवल विगतको विरासत मात्र होइन, बरु भविष्यको नयाँ विश्व व्यवस्थाको एउटा महत्वपूर्ण कडी पनि हो।
(अम्गाई नेपाली सेनाका अवकाशप्राप्त सेनानी हुन्।)
प्रतिक्रिया 4