+
+
Shares

युद्धको निसानामा ठूला इन्धन भण्डारहरू, अमेरिकामै विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट 'रास लाफान' मा क्षेप्यास्त्र प्रहार गरेको छ र कतारले इरानलाई जिम्मेवार ठहराएको छ।
  • अमेरिका-इजरायलले इरानको साउथ पार्स ग्यास फिल्ड र तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्।
  • पेन्टागनले इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढीको बजेट मागेको छ र अमेरिकी सांसद क्रिस भ्यान होलेनले यसको विरोध गरेका छन्।

६ चैत, काठमाडौं । अमेरिका-इजरायल र इरान युद्धको आज २० औं दिन हो। इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा क्षेप्यास्त्र प्रहार गरेको छ।

आक्रमणपछि त्यहाँ आगलागी हुनुका साथै ठूलो क्षति भएको छ, जसलाई नियन्त्रण गर्न तत्काल आपत्कालीन टोलीहरू पठाइएको थियो।

कतारले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। कतारको विदेश मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक स्थानहरूलाई निशाना बनाएर इरानले ‘लक्ष्मणरेखा पार गरेको’ बताएको छ।

यस्ता आक्रमणले सम्पूर्ण क्षेत्रको अवस्था बिग्रन सक्ने भन्दै सबै देश मिलेर तनाव कम गर्नुपर्ने र शान्ति कायम गर्ने प्रयास गर्नुपर्ने कतारले जनाएको छ।

उता, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने धम्की दिएका छन्। खामेनीले ‘प्रत्येक रगतको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्।

विश्वकै सबैभन्दा ठूलो ग्यास फिल्डमा आक्रमण

अमेरिका-इजरायलले बुधबार दक्षिणी इरानको साउथ पार्स ग्यास फिल्ड र असालुयेह सहरका तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। साउथ पार्सलाई विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड मानिन्छ।

रिपोर्टहरूका अनुसार, आक्रमणमा ग्यासका साथै पेट्रोकेमिकल र तेलका पूर्वाधारहरूलाई पनि निशाना बनाइएको थियो। इजरायली सञ्चारमाध्यमले पनि बुसहर क्षेत्रको ग्यास केन्द्रमा आक्रमण भएको जानकारी दिएका छन्।

यसअघि इजरायलका रक्षामन्त्रीले आज इरान र लेबनानमा ‘ठूलो सरप्राइज’ देख्न पाइने बताएका थिए, जसलाई यी आक्रमणहरूसँग जोडेर हेरिएको छ।

यसको जवाफमा इरानले खाडी देशहरूमा ठूला आक्रमण गर्ने चेतावनी दिएको छ। इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले मानिसहरूलाई साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका प्रमुख तेल तथा ग्यास केन्द्रहरूबाट टाढा रहन आग्रह गरेको छ।

अमेरिकी सांसद इरान युद्धमा सरकारी कोष (फन्डिङ) को विरुद्धमा

द वासिङ्टन पोस्टको रिपोर्टअनुसार, पेन्टागनले इरान युद्धका लागि ह्वाइट हाउससँग २०० अर्ब डलरभन्दा बढीको बजेट मागेको छ। रिपोर्टमा बताइएअनुसार हालसम्म यस युद्धको लागत ११ अर्ब डलरभन्दा बढी भइसकेको छ। यो प्रस्ताव अमेरिकी कंग्रेसको स्वीकृतिका लागि पठाइन सक्छ।

वासिङ्टन पोस्टले एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै पेन्टागनले ह्वाइट हाउसलाई इरान युद्धका कारण २०० अर्ब अमेरिकी डलरभन्दा बढी स्वीकृत गर्न भनेको बताएको छ।

यो रकम हालसम्म इरानमा भएको अभियानको लागतभन्दा निकै धेरै हुनेछ र यसको उद्देश्य खर्च भइसकेका महत्त्वपूर्ण हतियारहरूको उत्पादन तत्काल बढाउनु हो।

पछिल्लो दुई हप्तामा पेन्टागनको तर्फबाट कोषका लागि धेरैवटा छुट्टाछुट्टै अनुरोधहरू पेश गरिएका छन्।

सबैभन्दा पछिल्लो अनुरोध ‘कंग्रेसभित्र एउटा ठूलो राजनीतिक लडाइँको कारण बन्न सक्ने’ विश्लेषण गरिएको छ ।

अमेरिकी सांसद क्रिस भ्यान होलेनले इरान युद्धका लागि दिइने सरकारी कोषको विरोध गरेका छन्। उनले यसको पक्षमा आफूले कुनै हालतमा भोट नगर्ने बताएका छन्।

अमेरिकी रक्षा विभाग ‘पेन्टागन’ ले यस युद्धका लागि २०० अर्ब डलर माग गरेको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो । यो प्रस्ताव अमेरिकी सरकारमार्फत कंग्रेसमा जानेछ।

उनले मानिसहरू यो युद्ध नचाहिरहेको र यसले देशलाई सुरक्षित पनि नबनाइरहेको बताएका छन् । उनले भने, ‘त्यसैले यसमा पैसा खर्च गर्नु हुँदैन।’

ट्रम्पले के भने ?

विश्वकै सबैभन्दा ठूला ग्यास फिल्डमध्ये पर्ने इरानको साउथ पार्समा भएको आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।

यस आक्रमणको जवाफमा इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ऊर्जा क्षेत्र रास लाफानमा आक्रमण गर्‍यो, जसमा निकै क्षति भएको खबर छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले अब इरानको साउथ पार्स ग्यास फिल्डमा थप कुनै आक्रमण नगर्ने बताएका छन्।

ट्रम्पले इजरायलको यस आक्रमणको आलोचना पनि गरे। उनले इजरायलले क्रोधित भएर इरानको साउथ पार्स ग्यास फिल्डमा आक्रमण गरेपनि यसबाट सानो क्षेत्रमा मात्र क्षति पुगेको जिकिर गरे ।

उनले अमेरिकालाई यस आक्रमणको बारेमा पूर्वजानकारी नभएको दाबी गरे । साथै, यस आक्रमणसँग कतारको पनि कुनै लेनदेन नभएको पनि बताए ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा लेखेका छन्, ‘मध्यपूर्वमा भएका घटनाहरूलाई लिएर क्रोधित हुँदै इजरायलले इरानको साउथ पार्स ग्यास फिल्ड नामक एउटा ठूलो ठेगानामा आक्रमण गर्‍यो। सम्पूर्ण क्षेत्रको एउटा सानो हिस्सा मात्र प्रभावित भएको छ। अमेरिकालाई यस विशेष आक्रमणको कुनै जानकारी थिएन र कतारको यससँग कुनै पनि प्रकारको लेनदेन थिएन, न त उसलाई यस आक्रमणबारे पूर्वजानकारी नै थियो।’

उनले अगाडि लेखेका छन्, ‘दुर्भाग्यवश, इरानलाई यी तथ्यहरूको जानकारी थिएन र उसले बिना कुनै उचित कारण कतारको एलएनजी ग्यास केन्द्रको एक हिस्सामा आक्रमण गरिदियो। अब यो अत्यन्त महत्त्वपूर्ण र बहुमूल्य साउथ पार्स फिल्डमा इजरायलको तर्फबाट कुनै थप आक्रमण गरिने छैन, जबसम्म इरानले कुनै अविवेकपूर्ण कदम चाल्दै एक निर्दोष देश कतारमाथि आक्रमण गर्दैन।’

ट्रम्पले लेखेका छन्, ‘म यस स्तरको हिंसा र विनासलाई मञ्जुरी दिन चाहन्नँ, किनभने यसले इरानको भविष्यमाथि लामो समयसम्म असर पार्नेछ। तर यदि कतारको एलएनजी केन्द्रमा फेरि आक्रमण हुन्छ भने, म त्यसो गर्न हिचकिचाउने छैन।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?