+
+
Shares

कुर्दिशहरू को हुन् ? 

धेरैजसो कुर्दहरू सुन्नी मुसलमान हुन्, तर यो समुदायभित्र धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक परम्पराहरूमा निकै विविधता पाइन्छ। साथै, कुर्दिश भाषाका विभिन्न भाषिकाहरू पनि प्रचलनमा छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:११
सेप्टेम्बर २२, २०१७ मा उत्तरी इराकको स्वायत्त कुर्दिश क्षेत्रको राजधानी एर्बिलमा स्वतन्त्रता जनमत संग्रहको समर्थनमा निकालिएको र्‍यालीको क्रममा एक कुर्दिश पेशमेर्गा लडाकु छतमा पहरा दिँदै/एएफपी गेटी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुर्दिश समुदाय पश्चिम एसियामा विभाजित छन् र आफ्नै स्वतन्त्र राष्ट्र नभए पनि करिब २ करोड ५० लाखदेखि ४ करोड ५० लाख जनसंख्या रहेको अनुमान छ।
  • अमेरिकी गुप्तचर निकाय सीआईएले इरानका कुर्दिश सशस्त्र बलहरूलाई हतियार उपलब्ध गराउने योजना बनाएको छ र इरानी कुर्दहरूले विद्रोहको संकेत दिएका छन्।
  • इराक, टर्की, सीरिया र इरानका कुर्दहरूले थप अधिकार र स्वतन्त्रताका लागि दशकौँदेखि संघर्ष गरिरहेका छन् र टर्कीले पीकेके विरुद्ध युद्ध जारी राखेको छ।

१८ चैत, काठमाडौं । कुर्दिश समुदाय पश्चिम – एसियाका यस्तो जातीय अल्पसंख्यक समूह हो, जसको आफ्नो स्वतन्त्र राष्ट्र छैन।

विश्वभर उनीहरूको जनसङ्ख्या करिब २ करोड ५० लाखदेखि ४ करोड ५० लाखको बीचमा रहेको अनुमान गरिन्छ। उनीहरूमध्ये अधिकांश पश्चिमी इरान, पूर्वी टर्की, उत्तरी इराक, सीरिया र आर्मेनियाका पहाडी क्षेत्रहरूमा बसोबास गर्छन्। तर, कुर्दिशहरूको आफ्नै छुट्टै राज्य नभएको र उनीहरू विभिन्न देशहरूमा छरिएर रहेकाले उनीहरूको सङ्ख्याबारे कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन।

प्रथम विश्वयुद्धपछि ओटोम्यान साम्राज्यको पतन भएसँगै, पश्चिमी मित्रराष्ट्रहरूले ओटोम्यान भूभागलाई आपसमा बाँडे र त्यहाँ एउटा कुर्दिश राज्य स्थापना गर्ने प्रस्ताव अघि सारे। तर, टर्कीको स्वतन्त्रता युद्धपछि नयाँ टर्की सरकारले सम्पूर्ण एनाटोलियन प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम गर्‍यो ।

यससँगै कुर्दिशहरू टर्की, इरान, इराक र सीरियाका नयाँ सीमाहरूभित्र विभाजित हुन पुगे। त्यसयता उनीहरूले आफ्ना नयाँ राष्ट्रिय अधिकारीहरू विरुद्ध दशकौँसम्म विरोध र विद्रोह जारी राखेका छन्।

यस क्षेत्रका कुल कुर्दिशहरूमध्ये झन्डै आधा जनसङ्ख्या टर्कीमा बस्ने अनुमान गरिएको छ, जहाँ उनीहरू देशकै सबैभन्दा ठूलो जातीय अल्पसंख्यक समूहका रूपमा रहेका छन्।

धेरैजसो कुर्दहरू सुन्नी मुसलमान हुन्, तर यो समुदायभित्र धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक परम्पराहरूमा निकै विविधता पाइन्छ। साथै, कुर्दिश भाषाका विभिन्न भाषिकाहरू पनि प्रचलनमा छन्।

यस क्षेत्रभरि कुर्दिश राजनीति र उनीहरूको निष्ठा विभिन्न समूहमा विभाजित छ। यति हुँदाहुँदै पनि, धेरै कुर्दहरू थप अधिकार, स्वतन्त्रता र स्वायत्तताका लागि एउटै साझा सङ्घर्षमा बाँधिएका छन्।

इरानका कुर्दहरू को हुन्?

बेलायती सरकारको अनुमान अनुसार, इरानको कुल जनसङ्ख्यामा कुर्दिश समुदायको हिस्सा करिब  ८ देखि १७ प्रतिशतसम्म रहेको छ। पश्चिमी इरानमा रहेका कुर्दिश क्षेत्रहरूले लामो समयदेखि थप स्वायत्तता वा स्वतन्त्रताका साथै आफ्ना अधिकारहरूको सुधारका लागि आवाज उठाउँदै आएका छन्।

सन् १९४६ मा ‘महावाद गणतन्त्र’ नामको एउटा अल्पकालीन कुर्दिश राज्य स्थापना भएको थियो, जुन शाहको नेतृत्वमा रहेको इरानी सेनाले विघटन गर्नुअघि एक वर्षभन्दा कम समय मात्र टिक्यो। यसलाई व्यापक रूपमा पहिलो आधुनिक कुर्दिश गणतन्त्र मानिन्छ।

त्यसपछिका दशकहरूमा, सशस्त्र इरानी कुर्दिश समूहहरूले इरानी शासनविरुद्ध सङ्घर्ष जारी राखेका छन्। उनीहरूले इराक र इरानको सीमा क्षेत्रमा रहेका आफ्ना सैन्य चौकीहरूबाट गतिविधि सञ्चालन गर्ने गर्दछन्, जहाँ उनीहरूका हजारौँ लडाकुहरू तैनाथ छन्।

एमनेस्टी इन्टरनेशनल र अन्य मानव अधिकारवादी समूहहरूले इरानमा कुर्दिश अल्पसंख्यकहरूमाथि भइरहेका व्यापक मानव अधिकार उल्लंघनका घटनाहरूलाई सविस्तार प्रस्तुत गरेका छन्। 

त्यहाँ कुर्दिश भाषाको शिक्षणमा प्रतिबन्ध लगाइएको छ,आधिकारिक दर्ता प्रक्रियामा कुर्दिश नामहरू राख्न रोक लगाइएको छ, र कुर्दिश कार्यकर्ताहरूले बिना कुनै ठोस कारण स्वेच्छाचारी गिरफ्तारीको सामना गर्नुपरेको छ।

इराक, टर्की र सीरियाका कुर्दहरू को हुन् ?

इराकमा कुर्दिश समुदायको जनसङ्ख्या कुल जनसङ्ख्याको करिब १५  देखि २० प्रतिशत रहेको छ। उनीहरू मुख्यतया ‘कुर्दिस्तान क्षेत्रीय सरकार’ (केआरजी) द्वारा सञ्चालित अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा बसोबास गर्छन्। यस क्षेत्रको राजधानी इराकको अर्बिल सहर हो।

सन् २०१७ मा कुर्दिस्तान क्षेत्रका साथै कुर्दिश सुरक्षा बलले नियन्त्रणमा लिएका केही विवादास्पद क्षेत्रहरूका बासिन्दाले जनमत सङ्ग्रहमा स्वतन्त्रताको पक्षमा अत्यधिक मतदान गरे। तर, इराक सरकारले उक्त मतदानको विरोध गर्‍यो र त्यसलाई अवैध घोषणा गरिदियो।

संयुक्त राज्य अमेरिकाले पनि इराकी कुर्दहरूको यो स्वतन्त्रता सम्बन्धी जनमत सङ्ग्रहलाई समर्थन गरेन।

सीरियामा, करिब २ करोड ४० लाखको अनुमानित जनसङ्ख्यामध्ये कुर्दहरूको हिस्सा झन्डै १० प्रतिशत रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ‘इस्लामिक स्टेट’ विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन ‘सीरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ) मा रहेका कुर्दिश घटकहरूलाई हतियार उपलब्ध गराउने अनुमति दिएका थिए।

त्यस्तै, टर्कीमा कुर्दिश समुदाय सबैभन्दा ठूलो जातीय र भाषिक अल्पसंख्यक समूहका रूपमा रहेको छ, जसले त्यहाँको कुल जनसङ्ख्याको करिब २० प्रतिशत ओगट्छ।

टर्की सरकारले दशकौँदेखि ‘कुर्दिस्तान वर्कर्स पार्टी’ (पीकेके ) विरुद्ध युद्ध लडिरहेको छ। पीकेके टर्की र इराकमा आधारित एक सशस्त्र कुर्दिश वामपन्थी उग्रवादी र राजनीतिक संगठन हो, जसको लक्ष्य एक स्वतन्त्र कुर्दिश राज्य स्थापना गर्नु हो। यस समूहले सन् १९८४ देखि हिंसात्मक मार्ग अपनाउन थाल्यो र संयुक्त राज्य अमेरिकाले सन् १९९७ मा यसलाई ‘आतंकवादी संगठन’ को सूचीमा राख्यो।

‘काउन्सिल अन फरेन रिलेसन्स’ (सीएफआर ) का अनुसार, टर्की-कुर्दिश द्वन्द्वमा अहिलेसम्म दशौँ हजार मानिस मारिएका छन्, जसमा अधिकांश कुर्दहरू नै रहेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले लामो समयदेखि कुर्दिश राष्ट्रवादको विरोध गर्दै त्यसलाई दबाउने नीति लिँदै आउनुभएको छ।

गएको महिना, एर्दोगानले सीरियाली सरकार र ‘सीरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ) बीच सीरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको सम्झौताले टर्की सरकार र पीकेके लडाकुहरूबीच जारी शान्ति प्रक्रियाको दबाब कम गर्न मद्दत पुर्‍याएको बताए ।

इरानको युद्धबारे पछिल्लो अपडेट के छ?

स्रोतका अनुसार, अमेरिकी गुप्तचर निकाय सीआईएले इरानभित्र जनविद्रोह फैलाउने उद्देश्यले इरानी कुर्दिश सशस्त्र बलहरूलाई हतियार उपलब्ध गराउने योजनामा काम गरिरहेको छ। यो योजनाबारे जानकारी भएका धेरै व्यक्तिहरूले बताए अनुसार, ट्रम्प प्रशासनले इरानका विपक्षी समूहहरू र इराकमा रहेका कुर्दिश नेताहरूसँग उनीहरूलाई सैन्य सहयोग दिने विषयमा सक्रिय छलफल गरिरहेको छ।

यसैबीच, युद्ध सुरु भएदेखि नै धेरै इरानी कुर्दिश समूहहरूले सार्वजनिक विज्ञप्ति जारी गर्दै ‘निर्णायक कदम’ चाल्ने संकेत दिएका छन् र इरानी सेनामा रहेका जवानहरूलाई आफ्नो पक्ष छोडेर विद्रोह गर्न आह्वान गरिरहेका छन्।

यसबीच, इराकी कुर्दिस्तान सरकारले इरानी कुर्दिश विपक्षी दलहरूलाई इरानी भूभागमा पठाउने योजनामा आफ्नो संलग्नता रहेको भन्ने रिपोर्टहरूलाई पूर्णतया निराधार बताएको छ।

योजनासँग परिचित एक स्रोत र कुर्दिस्तान क्षेत्रीय सरकारका एक उच्च अधिकारीका अनुसार, इरानी कुर्दिश समूहहरूलाई सीआईएले दिँदै आएको सहयोग युद्ध सुरु हुनुभन्दा केही महिना अघि नै सुरु भइसकेको थियो।

इरानी कुर्दिश समूहहरूलाई सशस्त्र बनाउने कुनै पनि प्रयासका लागि इराकी कुर्दहरूको समर्थन अनिवार्य हुन्छ, ताकि हतियारहरू उनीहरूको क्षेत्र हुँदै ओसारपसार हुन सकून् र इराकी कुर्दिस्तानलाई आक्रमणको आधार इलाका का रूपमा प्रयोग गर्न सकियोस्।

‘यो निकै खतरनाक छ, तर हामी के गर्न सक्छौँ र? हामी अमेरिकासँग पौँठेजोरी खेल्न सक्दैनौँ,’ इराकी कुर्दिस्तान क्षेत्रीय सरकारका एक उच्च अधिकारीले भने, ‘हामी निकै त्रसित छौँ ।’

लन्डनस्थित एक थिंक ट्याङ्क रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका अनुसन्धानकर्ता अर्बन कनिङ्घमले अमेरिकी गुप्तचर निकाय सीआईए र सम्भवतः इजरायलको मोसादले इरानका अल्पसंख्यक समूहहरूसँग सम्पर्क राख्नु कुनै अचम्मको कुरा नभएको बताएका छन् । 

उनका अनुसार यी निकायहरूले कुर्दहरूका साथै बलुच र अजेरी जस्ता अन्य अल्पसंख्यक समूहहरूसँग पनि कुराकानी गरिरहेको हुन सक्ने सम्भावना छ।

कनिङ्घमले सीएनएनसँग भने, ‘मलाई अचम्म लागेको कुरा के हो भने, यी जानकारीहरू अहिले नै किन सार्वजनिक गरियो ? किनभने यसले इरानभित्र र बाहिर रहेका ती सबै समूहहरूलाई सुरक्षाको दृष्टिले निकै ठूलो जोखिममा पारेको छ ।’

अमेरिकी संलग्नता र विगतका धोकाहरू

सन् १९९१ मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सैन्य टोलीले कुवेतबाट सद्दाम हुसेनको इराकी सेनालाई धपाएपछि, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच.डब्लु. बुसले इराकी सेना र त्यहाँका जनतालाई तानाशाह विरुद्ध विद्रोह गर्न आह्वान  गरे ।

तर, जब इराकी कुर्दहरूले हुसेनको शासन विरुद्ध विद्रोह सुरु गरे, उनीहरूले अमेरिकाबाट निकै कम सहयोग पाए। फलस्वरूप, इराकी सेनाले हजारौँ कुर्दहरूको हत्या गर्‍यो र ज्यान जोगाउन लाखौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भए।

सन् २००३ मा भएको इराकमाथिको अमेरिकी आक्रमणका क्रममा कुर्दहरू पुनः एकपटक अमेरिकाका सहयोगी बने। 

पछि सीरियामा पनि, इस्लामिक स्टेटलाई यसको प्रमुख मुख्यालय रक्काबाट लखेट्न अमेरिका समर्थित ‘सीरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ) ले नै मुख्य स्थलगत सैन्य शक्तिको भूमिका निर्वाह गरेको थियो।

तर, यी दुवै द्वन्द्वहरूमा राजनीतिक वातावरण बदलिनेबित्तिकै अमेरिकाले दिँदै आएको समर्थन फितलो हुँदै गयो । सन् २०१८ मा जब इराकी सेनाले कुर्दहरूलाई आइएसविरुद्धको लडाइँमा जितेको भूभागबाट पछि हट्न बाध्य पार्‍यो, तब अमेरिकाले उनीहरूलाई कुनै सहयोग नगरी रमिता मात्र हेरेर बस्यो।

सन् २०१९ मा सीरियाबाट अमेरिकी सेना फिर्ता भएपछि कुर्दिश नेतृत्वको ‘सीरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ) निकै अप्ठ्यारो स्थितिमा फस्यो । पछि सन् २०२४ मा बसर अल-असदको शासनसत्ताच्युत भएपछि, नयाँ सीरियाली सरकारसँगको द्वन्द्वमा कुर्दिश सेनाले आफ्नो नियन्त्रणमा रहेका थप भूभागहरू पनि गुमाउनुपर्‍यो।

रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका कनिङ्घम भन्छन्, ‘जब ट्रम्प वा (इजरायली प्रधानमन्त्री बेन्जामिन) नेतान्याहुले कुर्दहरूलाई इरानी शासन विरुद्ध लड्न भन्छन्, तब ती इरानी कुर्दहरूको मानसपटलमा सीरियाका कुर्दहरूको त्यो पुरानो अनुभव ताजा भएर आउनेछ। यदि उनीहरूले अमेरिका वा इजरायललाई भरपर्दो साझेदारका रूपमा हेरे भने त्यो मेरा लागि अचम्मको कुरा हुनेछ। तर, केही कुर्दहरूलाई भने यो कुराले खासै फरक नपर्न सक्छ र उनीहरूलाई केवल सैन्य सहयोग मात्र चाहिएको हुन सक्छ ।’

विश्लेषकका अनुसार कुर्दिश समूहहरूले अमेरिकासँग निकट रहेर काम गर्ने कुनै पनि सम्भावना टर्की सरकारका लागि अत्यन्तै चिन्ताको विषय हुनेछ।

कनिङ्घम भन्छन्, ‘यदि कुर्दहरूले अमेरिकी सहयोगबाट आफ्नो शक्ति सञ्चय गर्न वा गति लिन सफल भए भने टर्की निकै डराउनेछ ।’ 

यद्यपि, उनले कुनै प्रकारको स्वायत्त कुर्दिश राज्यको गठन हुने सम्भावना भने अझै पनि निकै टाढाको विषय रहेको उल्लेख गरे।

इराककी प्रथम महिला तथा प्रतिष्ठित कुर्दिश कार्यकर्ता शाहनाज इब्राहिम अहमदले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुर्दहरूलाई प्रायः उनीहरूको बलिदान आवश्यक परेको बेला मात्र सम्झिने गरिएको बताएका छन् ।

उनले लेखेकी छिन् , ‘कुर्दहरूलाई एक्लै छोडिदिनुहोस्। हामी भाडाका बन्दुकधारी होइनौँ।”

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?