News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादन चुस्त, पारदर्शी र नतिजामूखी बनाउन 'सुशासन इकाइ' गठन गर्नुभएको छ।
- सुशासन इकाइले मन्त्रालयका कर्मचारीहरूको कार्यसम्पादन नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ र प्रशासन महाशाखाका सहसचिव संयोजक रहनेछन्।
- इकाइले डेलिभरी–आधारित शासन प्रणाली अन्तर्गत कार्यसम्पादन, कानुनी समयसीमा र स्रोत साधनको सदुपयोगको अवस्थाबारे निगरानी गर्नेछ।
१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुशासन इकाइ’ गठन गरेका छन् । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामूखी बनाउने लक्ष्यसहित उनले ‘सुशासन इकाइ’ गठन गरेका हुन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त इकाइ स्थापना गरिएको हो ।
उक्त इकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ । नवगठित इकाइको संयोजकमा प्रशासन महाशाखाका सहसचिव रहनेछन् ।
त्यसैगरी कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम र कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले इकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
इकाइले विशेषगरी ‘डेलिभरी–आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे/नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्थाका विषयमा निगरानी गर्नेछ ।
यसका अतिरिक्त कर्मचारीहरूको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना, तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गर्नेछ । मन्त्रालयले यस इकाइमार्फत् कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास जनाएको छ ।
प्रतिक्रिया 4