News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ।
- डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्नेछन्।
- बोर्डले एकल बिन्दु सेवा केन्द्र स्थापना र सञ्चालनका लागि मन्त्रिपरिषद्मा निर्णय प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
२० चैत, काठमाडौं । लगानी बोर्ड नेपालले ‘लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क’ स्थापना गरेको छ ।
एकल बिन्दु सेवा केन्द्र सञ्चालन सम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो । लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रारम्भिक चरण अन्तर्गत लगानीकर्तालाई थप सहज वातवारण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए ।
उनका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानी सम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्नेछन् ।
बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा गुनासो सुनुवाइ डेस्क स्थापनापछि एकल बिन्दु सेवा प्रवाहका लागि मन्त्रिपरिषद्मा निर्णय प्रस्ताव पेस गर्ने, एकल बिन्दु सेवा केन्द्र स्थापना तयारी गर्ने, सरकारी निकाय तथा विभागसँगको समन्वय गर्ने, एकल बिन्दु सेवाको अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका बनाएको छ ।
त्यसैगरी बोर्डले एकल बिन्दु सेवासम्बन्धी कार्यविधिको मस्यौदा स्वीकृतका लागि पेस गर्ने, बजेट व्यवस्था सुनिश्चित गर्ने लगायत कार्यतालिका बनाएको छ ।
१३ चैतको मन्त्रिपरिषद् बैठकले स्वदेशी तथा विदेशी लगानीकर्तालाई एकीकृत रूपमा सहजता साथ निर्धारित समयावधि भित्रै तोकिए बमोजिम सेवा उपलब्ध गराउन लगानी बोर्ड अन्तर्गत एकद्वार प्रणाली स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4