+
+
Shares

लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने, १४ निकायले तोके ‘फोकल पर्सन’

छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
  • एकल बिन्दु सेवा केन्द्रका लागि सहसचिव हेमराज तामाङलाई संयोजक तोकिएको छ र १४ सरकारी निकायले फोकल पर्सन तोकेका छन्।
  • फोकल पर्सनहरूले सम्बन्धित मन्त्रालय/निकायसँग समन्वय गरी लगानी बोर्डबाट प्राप्त फाइलको समयमै राय प्रतिक्रिया दिने र कार्यसम्पादनमा सहजीकरण गर्नेछन्।

४ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल बिन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ सरकारी निकायले अख्तयारी सहित फोकल पर्सन तोकेका छन् ।

जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र नेपाल राष्ट्र बैंकले ‘फोकल पर्सन’ तोकेका छन् ।

यसैगरी अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले समेत फोकल पर्सन तोकेका हुन् ।

यससँगै विद्युत् विकास विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणले समेत प्रतिनिधि तोकेका छन् ।

बोर्डले तोकेका अरू निकायले पनि फोकल पर्सन तोक्न सक्ने छन् । बोर्डको कार्यालयले एकल बिन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायसँगको समन्वयमा कार्यविधि मस्यौदा तयार पारेको छ ।

बोर्डले तत्कालका लागि सम्बन्धित मन्त्रालय/निकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउने छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलन क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालय व्यवस्थापन र कार्यविधिले अन्तिम रूप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताए । अटोमेसनबाट काम हुने हुँदा प्रविधि प्रयोग महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

फोकल पर्सनहरूसँगको छलफलमा बोर्ड सीईओ ज्ञवालीले लगानी सम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्न अपनत्व लिएर काम अघि बढाउन अनुरोध गरे ।

‘लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ,’ उनले भने, ‘यसमा सबै निकायको साथ  र सहयोग अपेक्षित छ ।’

विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायबाट सेवा प्रवाह गर्नुपर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल बिन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्य चुस्त हुन सक्ने बताए ।

अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालय/निकायको ‘सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट’ हुनेछन् । उनीहरूले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ–आफ्ना निकायसँग सम्बन्धित कार्यसम्पादन गर्न सहजीकरण गर्नेछन् ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७  र लगानी बोर्डको  रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाह सम्बन्धी कार्य गर्न सहयोग पुर्‍याउनेछन् ।

यस्तै उनीहरूले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिक्रिया दिने, कार्यरत निकाय तथा लागनी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायत काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?