News Summary
Generated by OK AI. Editorially reviewed.- पिसाबमा फिँज देखिनु सामान्य अवस्थामा अस्थायी हुन्छ र केही सेकेन्डमै हराउँछ भने रोगको संकेत पनि हुन सक्छ।
- पिसाबमा प्रोटिन बढ्दा स्थायी फिँज बन्न सक्छ जुन मिर्गौलाको ग्लोमेरुलस झिल्ली क्षतिग्रस्त हुँदा हुन्छ।
एक स्वस्थ मान्छेलाई दिनमा धेरै पटक पिसाब लाग्छ । पिसाब लाग्ने समय, यसको मात्रा तथा रङ आदि कुराहरू हाम्रो खानपान तथा शारीरिक क्रियापकलापले पनि निर्धारण गर्छ ।
स्वास्थ्यप्रति सचेत मानिसले पिसाबको रङ, मात्रा र गन्धजस्ता साना कुरामा पनि ध्यान दिनुपर्छ । पिसाब गर्दा सतहमा देखिने फिँजलाई धेरैले सामान्य ठान्छन् । आधुनिक चिकित्सा विज्ञानले भने यसलाई सधैं सामान्य मान्दैन । पिसाबमा देखिने फिँज कहिलेकाहीँ मिर्गौला रोगको सुरुवाती संकेत पनि हुन सक्ने कुरा अनुसन्धानले देखाएको छ ।
के कारण बन्छ पिसाबमा फिँज ?
फिँज बन्नु एउटा भौतिक–रासायनिक प्रक्रिया हो । सामान्य पानीमा ‘सर्फेस टेन्सन’ उच्च हुने भएकाले फिँज जस्तो टिक्दैन । तर पिसाबमा जब विशेषगरी प्रोटिन वा फस्फेट बढ्छन्, सर्फेस टेन्सन घट्छ र स्थायी फिँज बन्न थाल्छ ।
रोग नहुँदा पनि फिँज देखिन सक्ने अवस्था
पिसाबमा फिँज देखिनु सबै अवस्थामा रोग हो भन्ने मिल्दैन। सामान्य अवस्थामा देखिने फिँज अस्थायी हुन्छ, केही सेकेन्डमै हराउँछ । त्यसबाहेक अर्को पटक पिसाब गर्दा दोहोरिँदैन।
कुनै स्वास्थ्य समस्या नभए पनि निम्न अवस्थामा पिसाबमा फिँज देखिन सक्छ
-धेरै जोड लगाएर वा छिटो पिसाब गर्दा
-शरीरमा पानीको कमी हुँदा
-धेरै समय पिसाब रोकेका कारण पिसाब गाढा हुँदा
फिँज देखिनु रोगको संकेत
१.प्रोटिनयुरिया : पिसाबमा प्रोटिन देखिनु
पिसाबमा फिँज देखिएको छ र लामो समयसम्म त्यो टिकिरहन्छ भने त्यसको मुख्य कारण पिसाबमा प्रोटिन हुनु हो । मिर्गौलामा ‘ग्लोमेरुलस’ नामको एक लेयर अर्थात् झिल्ली हुन्छ । सामान्य अवस्थामा यसले प्रोटिनलाई पिसाबमा जान दिँदैन । तर जब यो संरचना क्षतिग्रस्त हुन्छ, एल्बुमिन पिसाबमा जान थाल्छ । यसो हुँदा पिसाबमा स्थायी फिँज देखिन्छ।
यो कारणले कसैको पिसाबमा फिँज देखिनु भनेको कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको संकेत हो । यसले मिर्गौलासम्बन्धी विभिन्न रोग निम्त्याउनुका साथै पूर्णरूपमा मिर्गौला बिगार्ने जोखिम रहन्छ । ‘ग्लोमेरुलोनेफ्राइटिस’ जस्तो समस्याको संकेत यसले गर्छ ।
२.फस्फेच्युरिया : पिसाबमा फस्फेट देखिनु
फस्फेच्युरिया भनेको पिसाबमा फस्फेटको मात्रा बढ्नु हो । यो समस्यालाई प्रायगरी हामीले बेवास्ता गरिरहेका हुन्छौँ ।
प्राप्त प्रमाणहरू अनुसार, ‘अल्कालीन पीएच’ भएको पिसाबमा क्याल्सियम फस्फेटका क्रिस्टलहरू बन्न सक्छन् । यसले पिसाब दूधजस्तो देखिने, फिँजजस्तो देखिने हुन्छ । यो प्रायः हल्का र केही समयका लागि मात्रै हुन्छ ।
प्रोटिन्युरिया भन्दा फरक, फस्फेच्युरियामा पिसाबको प्रोटिन परीक्षण सामान्य हुन्छ । यसलाई मिर्गौला रोग ठानेर मान्छेहरू उसै डराइरहेका हुन सक्छन् । तर यो सामान्य हो कुनै रोग होइन ।
३.पिसाबको संक्रमण (यूटीआई)
पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो । पिसाबको संक्रमणका कारणले पनि पिसाबमा फिँज देखिने समस्या हुन्छ । पिसाब संक्रमणका सबै अवस्थामा फिँज देखिने भने हुँदैन।
४.उल्टो स्खलन (रेट्रोग्रेड इज्याकुलेसन)
यो समस्यालाई चिकित्सकीय भाषामा ‘रेट्रोग्रेड इज्याकुलेसन’ भनिन्छ । यो पुरूषमा मात्रै हुने समस्या हो । यौन क्रियाकलापका बेला जब उत्तेजित लिंगबाट वीर्य बाहिर निस्कन्छ, कहिलेकाँही त्यो बाहिर ननिस्किएर बीचैबाट पिसाब नलीतिर भित्र फर्किन्छ यही समस्या हो रेट्रोग्रेड इज्याकुलेसन। यस्तो समस्याको कारणले पनि पिसाबमा फिँज देखिन सक्छ ।
कुन अवस्थामा सचेत रहने ?
-पिसाबमा फिँज लामो समयसम्म निरन्तर देखिएमा
-पिसाबमा देखिएको फिँज एकैछिनमा नहराएर धेरै समय रहेमा
-खुट्टा तथा आँखा सुन्निएमा
-उच्च रक्तचापको समस्यासँगै पिसाबमा फिँज देखिएमा
-पिसाबमा फिँज देखिनु र परिवारमा मधुमेहको इतिहास भएमा
-परिवारमा मिर्गौला रोगको इतिहास भएमा
के-के जाँच गर्ने ?
१.युरिन रुटिन इक्जामिनेशन (पिसाबकाे सामान्य परीक्षण)
२.युरिन एल्बुमिन-क्रियटिनिन रेसियो (पिसाबमा एल्बुमिन र क्रियटिनिनको अनुपात)
३.सेरम क्रियटिनिन र ईजीएफआर (रगतमा क्रियटिनिन र अनुमानित ग्लोमेरुलर फिल्ट्रेसन दर)
पिसाबमा फिँज देखिनु सधैं रोग होइन, तर लगातार देखिने फिँजलाई सामान्य ठान्नु हुँदैन । यो समस्या मिर्गौला रोगको सम्भावित प्रारम्भिक चेतावनी हो भन्ने कुरा अध्ययनले पनि देखाएको छ ।
दीर्घकालीन मिर्गौला रोग मौन महामारी हो । धेरै जनाको समस्या अन्तिम चरणमा मात्रै पहिचान हुन्छन् । पिसाबमा फिँजजस्तो सानो संकेतलाई समयमै बुझ्न सकिएमा रोगको प्रारम्भिक पहिचान सम्भव हुन्छ । उपचार सुरु गरेर मिर्गौला बचाउन सकिन्छ । डायलासिस र मिर्गौला प्रत्यारोपण जस्ता खर्चिला उपचार टार्न सकिन्छ ।
प्रतिक्रिया 4