News Summary
Generated by OK AI. Editorially reviewed.- होम कलेक्सन सेवा अन्तर्गत तालिम प्राप्त स्वास्थ्यकर्मीले घरमै पुगेर रगत, पिसाब, स्वाब लगायतका नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिन्छ।
- यो सेवा विशेषगरी व्यस्त युवाहरू, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीका लागि समय बचत र संक्रमण जोखिम कम गर्ने सुविधा हो।
- प्रमाणित स्वास्थ्यकर्मीले नमुना संकलन गरी तापक्रम–नियन्त्रित वातावरणमा प्रयोगशालामा पुर्याउँदा रिपोर्ट विश्वसनीय र गुणस्तरीय हुन्छ।
स्वस्थ्य हुनको लागि बेलाबखतमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । किनकि, रोग देखिएपछि होइन, रोग लाग्नुअघि नै शरीरको अवस्था बुझ्नु नै बुद्धिमानी हो ।
सम्भवत अहिले अधिकांशलाई थाहा भएको कुरा हो । र, थाहा भएर पनि धेरैले नियमित जाँच गराउन सकिरहेका छैनन् ।
त्यसको कारण एउटै नहुनसक्छ ।
कोही अफिस र घरको व्यस्ततामा प्रयोगशालासम्म पुग्न भ्याउँदैनन्, कोही शारीरिक अशक्तता, वृद्ध अवस्था वा रोगका कारण घरबाट बाहिर निस्कन सक्दैनन्। कसैलाई भीडभाडमा बस्न मन लाग्दैन, त कसैलाई संक्रमणको डर हुन्छ ।
इच्छा हुँदाहुँदै प्रयोगशाला जान नभ्याउने र जान सम्भव नहुनेहरुको लागि पनि विकल्प बनेर आएको छ, होम कलेक्सन सेवा ।
‘होम कलेक्सन’ कस्तो सेवा ?
होम कलेक्सन सेवा भनेको तालिम प्राप्त स्वास्थ्यकर्मीे ‘फेलेबोटोमिस्ट’ले तपाईंको घरमै पुगेर रगत, पिसाब, स्वाब वा अन्य आवश्यक नमुना संकलन गर्ने र ती नमुनालाई वैज्ञानिक तरिकाले प्रयोगशालामा पुर्याएर परीक्षण गर्ने प्रक्रिया हो ।
यो सेवा लिन फोन वा अनलाइन बुकिङ गरे पछि निर्धारित समयमा प्राविधिक घरमै आइपुग्छन् र आरामदायी वातावरणमा नमुना संकलन गर्छन् ।
यो सुविधा विशेषगरी व्यस्त युवाहरू, अफिस जानेहरु, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र बालबालिकाका लागि वरदान साबित भएको छ । अहिले नेपालका धेरै अग्रणी प्रयोगशालाहरुले घरमै नमुना संकलनलाई प्रयोगशालाभित्रकै मापदण्डअनुसार संचालन गरिरहेका छन् ।
यो सेवा कोभिड–१९ महामारी पछि मानिसहरूको स्वास्थ्यप्रति सचेतना बढेको पाइन्छ र घरमै सेवा लिने बानी पनि बढेको पाइन्छ । थोरै समय अघि संचालनमा आएको यो सोवा लोक प्रिय बन्दै गइरहेको छ ।
किन लोकप्रिय बन्दैछ ?
घरमै नमुना संकलनका धेरै फाइदाहरू छन् ।
समयको बचत
सबैभन्दा ठूलो फाइदा समयको बचत हो । बिहानको व्यस्त समयमा ल्याब जानुकोसट्टा घरमै बसेर जाँच गराउन सकिन्छ ।
सुविधा र सहजता
आफ्नै घरको शान्त वातावरणमा नमुना दिँदा मानसिक तनाव पनि कम हुन्छ, जसले नतिजालाई थप विश्वसनीय बनाउँछ । वृद्धहरू र दीर्घरोगीहरूलाई घरबाट बाहिर निस्कन गाह्रो हुने भएकाले यो सेवा उनीहरूका लागि विशेष राहत बनेको छ ।
संक्रमणको जोखिम कम
भीडभाडमा नजाँदा संक्रमणको जोखिम निकै कम हुन्छ । साथै, रिपोर्ट पनि अनलाइन वा घरमै डेलिभरी हुने सुविधाले झनै सहजता थपेको छ ।
त्यसोभए, के घरमा संकलित नमुनाको रिपोर्ट ल्याबमा गएर दिएको जत्तिकै विश्वसनीय र भरपर्दो हुन्छ ? .
हो, सामान्यतया दक्ष रगत निकाल्ने प्राविधिक र सेवा मान्यता प्राप्त र गुणस्तरयुक्त प्रयोगशालामा नमुना जाँदैछ भने यो प्रक्रिया पूर्ण रुपमा सुरक्षित हुन्छ ।
राम्रो वातावरणमा उत्कृष्ट नतिजा
घरमै नमुना संकलन गर्दा आरामले नमूना दिन सकिन्छ । विशेषत बालबालिका र सुईंसँग डराउने व्यक्ति पनि मानसिक रुपमा बढी शान्त रहन्छन् ।
रिर्पोटको विश्वसनियता
नमुना संकलन घरमा होस् या ल्याबमा । यदि सही प्रक्रिया अपनाइएको छ भने रिर्पोटको नतिजा राम्रो हुन्छ ।
तापक्रम व्यवस्थापन
संकलन गरिएको नमुनाको गुणस्तर जोगाइराख्न त्यसलाई प्रयोगशालासम्म पुर्याउँदा निश्चित र उपयुक्त तापक्रम कायम राख्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । तापक्रम बिग्रिएमा नमुनामा रहेका सूक्ष्म जीव, कोष वा रसायनिक तत्वहरू नष्ट हुनसक्छन्, जसले परीक्षणको नतिजा गलत देखिन सक्छ ।
त्यसैले, नमुना ओसारपोसार गर्दा प्राविधिकले भ्याक्सिन केरियर वा आइस ब्याग अनिवार्य रूपमा प्रयोग गरिएको हुन्छ ।
सुरक्षा र गुणस्तर कसरी सुनिश्चित हुन्छ ?
प्रशिक्षित र प्रमाणित स्वास्थ्यकर्मी
नमुना संकलन गर्ने व्यक्ति तालिम प्राप्त, अनुभवी र प्रयोगशालाको मापदण्डअनुसार प्रमाणित गरिएको हुन्छ, जसले गर्दा सहि तरिकाले नमुना संकलन गरिने भएकोले रिपोर्टकोको गुणस्तर कायम रहन्छ ।
सुरक्षित तथा तापक्रम–नियन्त्रित नमुना ढुवानी
नमुना संकलनपछि आवश्यक तापक्रम कायम गर्दै निश्चित समयभित्र प्रयोगशालामा पुर्याइन्छ । त्यसले नमुनाको गुणस्तरको सुनिश्चित गर्छ । ढुवानीका क्रममा लिक–प्रुफ र बायो–सेफ कन्टेनरको प्रयोग हुन्छ र नमुना निश्चित समयभित्र प्रयोगशालामा पुग्छ ।
बारकोड लेबलिङ
नमुना संकलन गर्दा बिरामीको नाम, उमेर, लिङ्ग, संकलन समय र रजिस्ट्रेशन नम्बर स्पष्ट रूपमा बारकोड लेबल गरिन्छ, जसले नमुना साटिने वा रिपोर्ट गलत हुने जोखिमलाई शून्य बनाउँछ ।
संक्रमण नियन्त्रण र बायो–सेफ्टी
नमुना संकलनका क्रममा स्वास्थ्यकर्मीले डिस्पोजेबल पञ्जा, मास्क र आवश्यक पीपीई प्रयोग गरिन्छ । सुई, सिरिन्ज र स्वाब पूर्ण रूपमा नयाँ र स्टेराइल हुन्छ, र प्रयोगपछि फोहोरको सुरक्षित व्यवस्थापन अनिवार्य रुपमा गरिएको हुन्छ ।
परीक्षण मान्यता प्राप्त प्रयोगशालाबाटै गरिन्छ ।
प्रयोगशालाद्धारा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड जस्तै एनपीएचएल गाइडलाइन्स वा आईएसओ १५१८९ को पालना गरिएको हुन्छ । मान्यता प्राप्त प्रयोगशालाहरूमा आन्तरिक र बाह्य गुणस्तर जाँच प्रणाली हुन्छ जसले हरेक रिपोर्ट सही आउने सुनिश्चित गर्छ ।
के कस्ता परीक्षण घरमै हुनसक्छ ?
यो सेवाबाट लगभग सबै सामान्य र उन्नत परीक्षणहरू गर्न सकिन्छ ।
जस्तो की,
सामान्य परीक्षण — सीबीसी, लिभर–किड्नी फङ्क्सन, लिपिड प्रोफाइल
मधुमेह र दीर्घ रोग परीक्षण — ग्लुकोज, एचबीएवानसी, आरएफटी र एलएफटी
संक्रमण — डेंगु परीक्षण, हेपटाइिटिस, एचआइभी ।
गर्भावस्था सम्बन्धी परीक्षण — डुअल टेस्ट, क्वाड्रुपल टेस्ट, एनआईपीटी –नन–इनभेसिभ प्रिनेटल टेस्टिङ
उन्नत परीक्षण
जेनेटिक परीक्षण – वंशाणुगत समस्या पहिचान, हर्मोन परीक्षण र हर्मोन सन्तुलन जाँच ।
प्रिभेन्टिभ हेल्थ चेक–अप प्याकेज – रोगको प्रारम्भिक अवस्थामा नै पहिचान गर्नका लागि गरिने सम्पूर्ण स्वास्थ्य उपलब्ध हुनसक्छ ।
घरमा गर्न नसकिने केही परीक्षण
— शरीरभित्रबाट तन्तु निकाल्न पर्ने परीक्षण जस्तै, बायोप्सी (एफएनएसी, कोर बायोप्सी, एक्सिजियन बायोप्सी, बोन म्यारो परीक्षण एस्पिरेसन ।
— तत्काल प्रोसेसिङ चाहिने परीक्षण जस्तै आर्टेरियल ब्लड ग्याँस(एबीजी), एमोनिया र ल्याक्टेट परीक्षण ।
— कल्चर र संवेदनशील माइक्रोबायोलोजी टेस्ट जस्ता विशेष केसहरु पनि घरमा गर्न मिल्दैन, जसमा सीएसएफ कल्चर तथा बडी फ्लूइड जस्तै प्लुरल, असाईटिक, साइनोभियल फ्लूइडको कल्चर पर्छन् ।
— कार्डियाक मार्कर (ट्रोपोनिन) र गम्भीर बिरामीहरूमा इलेक्ट्रोलाइट्स परीक्षण र रगतमा (क्लट) भएको शंका भएमा गरिने डी–डाइमर परीक्षण घरमा गर्न सम्भव हुँदैन ।
केही सावधानी जरुरी
— अत्यन्त जटिल वा आकस्मिक अवस्थामा तुरुन्त अस्पताल जानु उपयुक्त हुन्छ ।
— दर्ता नभएका वा अत्यन्त सस्तो सेवा दिने संस्थाप्रति सतर्क रहनुपर्छ ।
— बिल, रसीद र सम्पर्क विवरण अनिवार्य रूपमा लिनुपर्छ ।
होम कलेक्सन सेवामा प्रयोगशालाद्वारा यी सबै मापदण्ड तथा प्रक्रियाहरु पुरा गरिने भएकाले होम कलेक्सन सेवा बाट दिइने प्रयोगशाला सेवा गुणस्तरीय तथा भरपर्दो हुन्छ ।
प्रतिक्रिया 4