+
+
Shares

लेबनानका दु:ख : इजरायल-हिजबुल्लाह युद्धले देशको अस्तित्वमाथि आएको संकट

दशकौँदेखि राजनीतिक अस्थिरता, आर्थिक मन्दी र क्षेत्रीय शक्तिहरूको खिचातानीमा परेको लेबनान अहिले पूर्ण पतनको संघारमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र देशको १० प्रतिशत क्षेत्र खाली गराइएको छ।
  • लेबनानको आर्थिक संकट गहिरो छ, सन् २०१९ देखि बैंकिङ संकटले मुद्राको मूल्य ९० प्रतिशतले घटाएको छ र बेरुत विस्फोटले ठूलो क्षति पुर्‍याएको छ।
  • लेबनानी सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा प्रतिबन्ध लगाएको छ तर प्रमुख शिया दलहरूले कार्यान्वयनमा बाधा पुर्‍याइरहेका छन् र सामाजिक तनाव बढ्दै गएको छ।

२० चैत, काठमाडाैं। पश्चिम एसियाली आकाशमा मडारिरहेको युद्धको विभीषिका युद्धमा संलग्न नभएको लेबनानको पनि सहनु परेको छ । दशकौँदेखि राजनीतिक अस्थिरता, आर्थिक मन्दी र क्षेत्रीय शक्तिहरूको खिचातानीमा परेको लेबनान अहिले पूर्ण पतनको संघारमा पुगेको छ ।

पछिल्लो समय इजरायल र इरानबीचको युद्धको एउटा मुख्य मोर्चा लेबनानी भूमिमा पनि केन्द्रित छ । जसले यस देशको अस्तित्वलाई नै संकटमा पारेको छ ।

हिजबुल्लाहको भूमिका

यस द्वन्द्वको बिजारोपण १ मार्च २०२६ मा भयो । जब हिजबुल्लाहका नेता नइम कासिमले इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिने घोषणा गरे, त्यसपछि भोलिपल्टदेखि नै हिजबुल्लाहले इजरायली सीमा क्षेत्रमा रकेट र ड्रोन प्रहार गर्नथाल्यो ।

हिजबुल्लाहको यो कदमले लेबनानको आगामी भविष्यलाई एउटा ठूलो क्षेत्रीय युद्धसँग जोडिदिएको छ ।

त्यसपछि इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले लेबनानभर व्यापक जवाफी हवाई हमला गरिरहेको छ । राजधानी बेरुतदेखि लेबनानको सबैभन्दा उर्वर कृषि क्षेत्र बेका भ्यालीसम्म इजरायलका बारुदी प्रहारका निसानामा परिरहेका छन् ।

इजरायलको विनाशकारी अभियान

१६ मार्च २०२६ मा इजरायली रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानमा ग्राउन्ड अपरेसन सुरु गर्ने घोषणा गरे । उनले यस अभियानलाई गाजामा गरिएको सैन्य कारबाहीसँग प्रत्यक्ष तुलना गरेका थिए ।

यसको मुख्य उद्देश्य सयौँ हजार विस्थापित शिया नागरिकलाई घर फर्किनबाट रोक्नु र हिजबुल्लाहको संरचना ध्वस्त पार्नु रहेको इजरायलको दाबी थियो ।

तर, यथार्थ भने अर्कै छ । इजरायलले लेबनानका १०० भन्दा बढी सहर र गाउँ खाली गर्न आदेश दिएको छ, जसले लेबनानको कुल क्षेत्रफलको १० प्रतिशत हिस्सा ओगट्छ ।

हालसम्म ५६ लाख जनसंख्या भएको लेबनानमा १० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्, जसमा अधिकांश शिया समुदाय छन् ।

आर्थिक र राजनीतिक संकट

यो युद्ध लेबनानका लागि इतिहासकै खराब आर्थिक संकटबाट गुज्रिरहेको समयमा आएको छ । सन् २०१९ देखि सुरु भएको बैंकिङ संकटले लेबनानी मुद्राको मूल्य ९० प्रतिशतले घटाइसकेको छ । सन् २०२० मा बेरुत बन्दरगाहमा भएको भीषण विस्फोटले ८ अर्ब डलरभन्दा बढीको क्षति पुर्‍याएको थियो । त्यसमा २०० भन्दा बढीको ज्यान गएको थियो ।

फेब्रुअरी २०२५ मा राष्ट्रपति जोसेफ आउन र प्रधानमन्त्री नवाफ सलामको नेतृत्वमा नयाँ सरकार गठन हुँदा केही आशा पलाएको थियो ।

यो सरकारले राजनीतिक भागबन्डाभन्दा ‘टेक्नोक्र्याट’हरूलाई मन्त्री पदमा नियुक्त गरेर आर्थिक सुधार, न्यायिक सुधार र पुनर्निर्माणको योजना अघि सारेको थियो । तर, पछिल्लो यो युद्धले सरकारका सबै प्रयास ओझेल पारिदिएको छ ।

जिद्दी हिजबुल्लाह, निरीह सरकार

एकातिर इजरायली बमबारीले लेबनानका सहर खण्डहर बनिरहेका छन्, भने अर्कातिर हिजबुल्लाह नि:शस्त्रीकरण हुन अस्वीकार गरिरहेको छ । इरानको आर्थिक र सैन्य सहयोगमा टिकेको हिजबुल्लाहले यस युद्धलाई आफ्नो अस्तित्वको लडाइँ र सामुदायिक संघर्षका रूपमा व्याख्या गरिरहेको छ ।

लेबनानी सरकारले हिजबुल्लाहको प्रभाव कम गर्न ऐतिहासिक कदम चालेको छ । २ मार्चमा सरकारले हिजबुल्लाहका सैन्य गतिविधिमाथि प्रतिबन्ध लगाउने, इरानी रिभोलुसनरी गार्डका सदस्यलाई देश निकाला गर्ने र इरानसँगको भिसारहित सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

तर, लेबनानका प्रमुख शिया राजनीतिक दलले यी निर्णयको कार्यान्वयनमा बाधा पुर्‍याइरहेका छन् । हिजबुल्लाहले त प्रधानमन्त्री र क्याबिनेट सदस्यलाई ‘देशद्रोही’को संज्ञा दिएको छ ।

इजरायलको रणनीति– कब्जा कि सुरक्षा ?

इजरायलले हिजबुल्लाहलाई ध्वस्त पार्ने दाबी गरे पनि उसको सैन्य रणनीतिले अर्कै संकेत गर्छ । इजरायली अर्थमन्त्री बेजालेल स्मोट्रिचले लेबनानको लिटानी नदीलाई इजरायलको नयाँ सीमा बनाउनुपर्ने र दक्षिणी लेबनानलाई इजरायलमा गाभ्नुपर्ने सम्मका अभिव्यक्ति दिएका छन् । इजरायलले लिटानी नदीका सबै मुख्य पुलमा बमबारी गरेर दक्षिणी लेबनानलाई बाँकी देशबाट अलग गरिदिएको छ ।

यसले लेबनानी जनतामा ठूलो त्रास पैदा गरेको छ । जनतालाई डर छ कि– सन् १९४८ र १९६७ को युद्धपछि प्यालेस्टिनी जसरी कहिल्यै घर फर्कन पाएनन्, दक्षिणी लेबनानीको हालत पनि त्यस्तै हुनेछ ।

सामाजिक विभाजन र गृहयुद्धको जोखिम

इजरायली आक्रमणले लेबनानभित्रको साम्प्रदायिक खाडललाई झनै गहिरो बनाएको छ । शिया समुदायका क्षेत्रको विनाशलाई धेरैले एउटा विशेष समुदायमाथिको सामूहिक दण्डका रूपमा हेरिरहेका छन् । विस्थापित शियाहरूलाई अन्य क्षेत्रमा आश्रय दिन स्थानीय अधिकारी डराइरहेका छन्, शियालाई आश्रय दिँदा इजरायलले आफ्नो क्षेत्र निशाना बनाउने उनीहरूमा त्रास छ ।

यस्तो अवस्थामा सुन्नी र शियाबीचको तनाव पनि बढ्दो छ । अमेरिकाले सिरियाली सरकारलाई बेका भ्यालीमा हिजबुल्लाहविरुद्ध कदम चाल्न उक्साएको रिपोर्टहरूले तनावलाई झन् मलजल गरेको छ । यदि स्थिति नियन्त्रणमा नभए लेबनान फेरि अर्को विनाशकारी गृहयुद्धमा फस्ने निश्चित छ ।

अन्तर्राष्ट्रिय समुदायको दायित्व

लेबनान अहिले मध्यपूर्वको स्थिरताको एउटा खम्बा मानिन्छ । यसको पतनले पूरै क्षेत्रमा अराजकता निम्त्याउने त्रास छ । महा याह्याका अनुसार अहिलेको सबैभन्दा ठूलो आवश्यकता लेबनानको नयाँ सरकारलाई कमजोर पार्नु होइन, बरु बलियो बनाउनु हो ।

अमेरिका, युरोपेली देश र क्षेत्रीय राष्ट्रले इजरायलको सैन्य विस्तारलाई रोक्न दबाब दिनुपर्ने उनको मत छ ।

लेबनानलाई इरान र इजरायलको युद्धको मैदान बन्नबाट जोगाउन कूटनीतिक प्रयास तीव्र पार्न उनको आग्रह छ । हिजबुल्लाहको नि:शस्त्रीकरण केवल सैन्य बलले मात्र सम्भव नभएको बताउँदै उनले त्यसका लागि एउटा बलियो र सार्वभौम लेबनानी राज्यको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

इजरायलले आफ्नो आक्रामक बाटो परिवर्तन नगरे, अन्तर्राष्ट्रिय समुदायले लेबनानको सरकारलाई सहयोग नगरे लेबनानको पतन रोक्न नसकिने महा याह्याको तर्क छ ।

(महा याह्याको फरेन अफेयर्समा प्रकाशित लेखको सहयोगमा)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?