२० चैत्र, सप्तरी । सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बोदेबर्साइन नगरपालिका– १४ वर्षीया स्मृतिकुमारी मण्डललाई बहकाएर बेपत्ता पारेको आरोपमा सोही नगरपालिका–९ का २१ वर्षीय चन्दन दासलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भदौ २ गते महेन्द्र चुनी माध्यमिक विद्यालय मानराजामा परीक्षा दिएर घर फर्किन लागेकी मण्डललाई विभिन्न प्रलोभन देखाएर बेपत्ता पारेको आरोप चन्दनमाथि छ । यस्तै उक्त प्रकरणमा कञ्चनकुमारी दास, राजवृक्ष दास र सुरेन्द्र दाससमेतको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका चन्दनलाई बिहीबार बिहान सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका दासलाई व्यक्ति बेपत्ता पारेको सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4