News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रभावकारी उपस्थिति देखाउन आन्तरिक रणनीति अघि बढाएको छ।
- कांग्रेसले जनहितका प्रस्तावलाई समर्थन र जनविरोधी कदमको कडा विरोध गर्ने नीति लिएको छ।
- कांग्रेसले संसदीय सचेतना कार्यक्रममार्फत सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
२० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रभावकारी उपस्थिति देखाउने आन्तरिक तयारी गरेको छ । कांग्रेस जनहितको रक्षा र आन्तरिक समन्वय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै रणनीति अघि बढाउने योजनामा छ ।
संसदीय भूमिकालाई प्रभावकारी बनाउन कांग्रेसले जनताको हितमा सरकारले ल्याएका प्रस्ताव र नीतिहरूलाई समर्थन गर्ने, जनविरोधी, राष्ट्रिय सम्प्रभुता र नागरिक स्वतन्त्रताविरुद्ध हुने कदमको कडा रूपमा विरोध गर्ने भएको छ ।
‘जनताको पक्षमा सरकारले ल्याएका सबै विषयलाई हामीले समर्थन गर्नेछौं,’ महामन्त्री प्रदीप पौडेलले भने, ‘जनता, राष्ट्रिय सम्प्रभुताको विपक्षमा नागरिक स्वतन्त्रताको विपक्षमा हुने कुनै पनि कुरालाई खरबदारी गर्न हामी बाँकी राख्ने छैनौं ।’
कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रम गरेर नवनिर्वाचित सांसदहरूलाई संसद्मा प्रभावकारी प्रस्तुति दिन, आवश्यक तयारी र मेहनत गर्न निर्देशन दिएको छ । कांग्रेसले संसद्मा पार्टीको उपस्थिति मजबुत बनाउन सांसदहरूको सक्रियता र प्रस्तुतिलाई मुख्य आधार मानेको छ ।
‘हामीले संसद्मा प्रभावकारी प्रस्तुतिले नै कांग्रेसको उपस्थिति देखिने हो । त्यसमा यहाँहरूले आवश्यक तयारी गर्ने, मेहनत गर्ने सबैकुरा गर्नुहोला भनेका छौं,’ महामन्त्री पौडेलले भने ।
कांग्रेसले नागरिक स्वतन्त्रता संकुचित गर्ने, गैरकानुनी ढंगबाट पूर्वाग्रही व्यवहार गर्ने र अन्याय हुने अवस्थामा सशक्त खबरदारी गर्ने नीति लिएको छ । संसद्मा पार्टीको दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गर्न प्राथमिकता निर्धारण गरिने कांग्रेसले बताएको छ ।
‘स्वतन्त्रतालाई संकुचन गर्ने, गैरकानुनी ढंगबाट कसैमाथि पूर्वाग्रही व्यवहार हुने, अन्याय हुने स्थिति आयो भने त्यो कुरालाई खबरदारी गर्ने, सांसदको प्रस्तुतिलाई प्रभावकारी बनाउने, पार्टीको दृष्टिकोण संसद्माप्रस्तुत गर्नका निम्ति प्राथमिकताहरू निर्धारण गर्छौं,’ पौडेलले भने ।

कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने क्रममा पार्टी र संसदीय दलबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन पनि जोड दिने भएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाबीच समन्वय बढाउने, सांसदहरूलाई पार्टीको धारणा समयमै जानकारी गराउने र कुनै पनि घटनामा साझा धारणा बनाउन सहजीकरण गर्ने लक्ष्य राखिएको पौडेलले बताए ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई संसद्मा प्रभावकारी उपस्थिति जनाउन आग्रह गरिएको बताए ।
‘माननीयज्यूहरूलाई वजनदार तरिकाले आफूलाई संसद्मा प्रस्तुत गर्नुस् । प्रक्रियाका बारेमा जानकारी राख्नुस् । विषयवस्तुको गाम्भिर्यता थाहा पाउनुस् भनेका छौं,’ उनले भने ।
उनका अनुसार कांग्रेसले सांसदहरूलाई पार्टीलाई क्षति हुने विवादस्पद अभिव्यक्ति नदिन र विरोधका लागि विरोध नगर्न पनि भनेको छ ।
‘हरेक कुराले कांग्रेसको इमेज, दृष्टिकोण, पार्लियामेन्टमा प्रस्तुत गर्नुपर्यो । त्यसका लागि पर्याप्त अध्ययन गर्नुपर्यो,’ प्रवक्ता चालिसेले भने, ‘पार्टीलाई क्षति हुने विवादास्पद अभिव्यक्ति दिनुभएन । पार्लियामेन्टमा विरोधका लागि विरोध गर्ने संस्कृति त्याग्नुपर्छ ।’
प्रवक्ता चालिसेले लोकतन्त्र र मानवअधिकारको रक्षा, जनताको हितसँग जोडिएका विषयका लागि कांग्रेसले संसद्मा आवाज उठाउने बताए । उनले सरकारले सर्वसत्तावादी चरित्र देखाएर लोकतान्त्रिक मूल्य–मान्यताविपरीत जानका लागि सत्ताको दुरूपयोग गरे कांग्रेसले सशक्त प्रतिवाद गर्ने पनि बताए ।
‘सरकार सर्वसत्तावादी चरित्र देखाउँदै गयो, सत्ताको अहंकारले लोकतान्त्रिक मूल्य–मान्यता अतिक्रमण गर्दै गयो, सत्ताको दुरूपयोग गर्दै गयो भने प्रतिवाद त भइहाल्छ नि,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेसले नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुने दिन बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूसँग छलफल गरेको थियो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टीले सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न भनेको छ ।
राष्ट्रियसभामा कांग्रेसका प्रमुख सचेतक रहेका सांसद कृष्णबहादुर रोकायाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा नयाँ सरकार गठनपछि बसेको बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको बताएका थिए ।
‘सांसदहरूले आफ्नो भूमिकालाई सक्रियतापूर्वक निर्वाह गर्ने, सरकारले जनताको पक्षमा ल्याउने विषयमा समर्थन गर्ने, कानुनसम्मत ल्याउने कुरालाई समर्थन गर्दै जाने, विधि र कानुनलाई मिच्दै जाने ढंगले देशको अहित हुने कुरामा खबरदारी गरी सरकारलाई सजक र सचेत गराउने कुरा भएको छ,’ उनले भनेका थिए ।
यसअघि कांग्रेसले १४ चैतमा नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गरेर संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे प्रशिक्षण दिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरू सहभागी थिए ।

प्रतिनिधिसभा सदस्य गीता गुरूङले पनि सरकारले जनताका पक्षमा ल्याएका प्रस्ताव र नीतिहरूलाई समर्थन गर्ने र सरकारका जनविरोधी कदमको विरोध गर्नेबारे छलफल भएको बताइन् । उनले ‘संसदीय सचेतना’ कार्यक्रममा संसदीय अभ्यास र प्रक्रियाकाबारे जानकारी दिइएको पनि बताइन् ।
कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी नदिनुलाई पनि नेताहरूले संसद्मा निर्वाह गर्ने रणनीतिअन्तर्गत नै ब्याख्या गरेका छन् । तथापि, उम्मेदवारी दिएपनि कांग्रेसको पक्षमा नतिजा भने नआउने निश्चित नै थियो ।
‘पार्लियामेन्ट संवाद, सहकार्य र राष्ट्रिय समस्या समाधानको केन्द्र बनोस् भन्ने राजनीतिक सन्देश दिन हामीले समर्थन गरेको हो,’ प्रवक्ता चालिसेले भने, ‘उम्मेदवारी नदिनुको अर्थ के हो भने हामी विरोधका लागि विरोध गर्दैनौं । हामी अपोजिसन छौं, त्यसकारण त्यो देखाइरहनुपर्छ भन्ने छैन । हामीले संवाद र सहकार्यका लागि राजनीतिक सन्देश दिएको हो ।’

सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको महामन्त्री पौडेलको भनाइ छ ।
‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायित्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षासहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५७ सिट जितेर प्रतिनिधिसभामा झण्डै दुइतिहाइ बहुमतनजिक छ ।
प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेर कुल ३६ सिटसहित कांग्रेस प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १६ सिट जितेको छ ।
प्रतिक्रिया 4