+
+
Shares

मेडिकल शिक्षाका कैयौं कार्यक्रममा पुनरावलोकन जरूरी

सबै तहका विशेषज्ञ चिकित्सकले आफ्नो तहको न्यूनतम ज्ञान र सीप अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण बनाउनु चिकित्सा शिक्षा आयोगको उत्तरदायित्व हो।

डा. अखण्ड उपाध्याय डा. अखण्ड उपाध्याय
२०८२ चैत २२ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मेडिकल शिक्षाको गुणस्तर मापन गर्न नेपाल मेडिकल काउन्सिलको परीक्षा मात्रै पर्याप्त नहुन सक्छ भन्ने चर्चा भइरहेको छ।
  • डीएम र एमडी तहका चिकित्सकले सिक्नुपर्ने न्यूनतम ज्ञान र सीप निर्धारण गर्नुपर्ने र त्यसको जिम्मेवारी सम्बन्धित विभागले लिनुपर्ने बताइएको छ।
  • मेडिकल विद्यार्थीलाई उचित पारिश्रमिक, खाने बस्ने व्यवस्था र सम्मानजनक ड्युटी रूमको व्यवस्था गर्नुपर्ने र लामो अध्ययन अवधिलाई ३० वर्षमै सकिने बनाउनुपर्ने सुझाव दिइएको छ।

भर्खर १० कक्षाको फड्को मारेर डाक्टर बन्ने सपना बोक्ने कलिला मस्तिष्कहरू कैयौं वर्षदेखि पुतलीसडक वरिपरि एउटा झोला बोकेर हिंडिरहेका देखिन्छन्। कति चिकित्सक बन्ने बाटो कोर्न सफल हुन्छन् भने कति नियतिले कुनै अर्को बाटो कोर्न सफल हुन्छन्। पहिले एमबीबीएस उत्तीर्ण गर्नु नै निकै ठूलो कुरा मानिन्थ्यो। र, सो उत्तीर्ण गर्ने चिकित्सक धेरै कुरामा अब्बल नै हुन्थे। तर अचेल विभिन्न तहका शैक्षिक कार्यक्रमले तल्लो तहका कार्यक्रमलाई पिल्सिन खोजेको हो कि भन्ने महसुस हुन्छ।

इतिहासका कालखण्ड जति दृष्टान्त योग्य भए पनि सधैं गर्व गरेर बस्ने कुरा स्वीकार गर्न पनि सकिंदैन। र प्रगतिशील समयसँग कदापि मेल खाँदैन। त्यसैको उपजस्वरुप विभिन्न तहका विशेषज्ञता हासिल गर्ने समयमा प्रवेश गरेका छौं हामी।

नेपालमा मेडिकल शिक्षामा निकै प्रगति गरे पनि त्यसको गुणस्तर मापन गर्न सरोकारवाला निकायहरू चुकेका हुन् कि भन्ने लाग्छ। एउटा एमबीबीएस चिकित्सकले कतिसम्मको ज्ञान र सीप हासिल गर्नुपर्ने हो भन्ने कुरा यकिन हुनुपर्छ। र त्यो नेपाल मेडिकल काउन्सिल (एनएमसी)को परीक्षाले मात्रै मापन गर्न सक्छ जस्तो लाग्दैन। त्यस्तै गरी एमडी/एमएस चिकित्सकले कति सीप सिकेर एउटा संस्थाबाट निस्किनुपर्ने हो भन्ने कुरा निर्धारण हुनुपर्दछ। त्यो कुरा सीप र ज्ञानमा मात्रै लागू नभएर पारिश्रमिक तथा ड्युटीका सम्बन्धमा पनि लागू हुनुपर्छ। एक जना व्यक्तिले हाल डीएम वा एमसीएच अध्ययन गरेर पूरा गर्दा उमेरले ३५ नाघिसक्छ। यो कहिल्यै नसकिने विद्यार्थी जीवनको यात्रा रहरले मात्रै नभएर बाध्यता पनि बनिसकेको छ। औपचारिक रूपमा रातदिन खटेर विद्यार्थी बन्नुको पछाडि धेरैलाई बाध्यता पनि छ।

कुनै पनि व्यक्तिको जीवनको यो त्यस्तो उमेरखण्ड हो जुन उमेरमा सामाजिक, पारिवारिक र आर्थिक उत्तरदायित्व पनि एउटा उत्कर्षमा हुन्छ। कहिले लाग्दछ, यो चिकित्सा पेशा पेशा नै होइन। केवल डिग्री पछयाउँदै उमेर ढल्काउँदै सेवामै खुसी खोज्ने अभ्यास मात्रै हो। यस्तो शिक्षा जसको औपचारिक शिक्षा चिकित्सकको ३५ वर्ष उमेरमा पनि सकिन्न त्यो शिक्षाले राष्ट्रलाई दिने योगदान विद्यार्थीको रूपमा धेरै दिएको देखिन्छ। यी सबै शैक्षिक कार्यक्रमलाई स्वरुप परिवर्तन गरेर ३० वर्षको उमेरमै सकिने बनाउन निकै जरूरी देखिन्छ। त्यसका लागि हरेक तहको अध्ययनपछिको बोन्डको समयलाई कम गर्नुपर्छ। विषयलाई एकीकृत र एउटै धारमा लिएर जानुपर्छ। पढ्न चाहने विद्यार्थीलाई बोन्डका नाममा रोक लगाउनुहुँदैन। बोन्ड त जिन्दगीभर नेपालमै बसेर तिरे भएन र ?

राज्यले आफूले लगानी गर्दा एउटा कुशल चिकित्सक उत्पादन हुने ध्येय राख्छ। तर के राज्यले मेडिकल कलेजका कमजोरीलाई नजर लगाउन सक्छ ?

हाल डीएम विधाका अनेकौं कार्यक्रम सञ्चालनमा रहेका छन्। ग्यास्ट्रो, कार्डिओ, नेफ्रो, हेपाटो, हेमाटो आदि विषयमा तीन वर्षको एमडीपछि अझै थपेर तीन वर्ष रेजिडेन्ट जस्तै बिताउनुपर्छ। त्यो सुपर स्पेसलिटीको भारले एमडी स्पेसलिटी नै थिचिएको जस्तो महसुस सो विषयमा अध्ययनरत चिकित्सकहरूसँगको भलाकुसारीमा थाहा हुन्छ। एमडी इन्टरनल मेडिसिनको साख घट्दै गएको देखिन्छ। एमएस जनरल सर्जरीको क्षेत्र खुम्चिएको पाइन्छ। पढाइका क्रममा हरेक सुपर स्पेसलिटीमा रोटेशनमा घुमेर बिरामीको रोगसँग अभ्यस्त हुने मौका त हुन्छ। तर  हरेक विभागको ध्यान डीएम वा एमसीएचमा बढी हुनाले एमडीका विद्यार्थी ओझेलमा परेका हुन् कि भन्ने महसुस सबैले गरेका छन्। त्यसैले हरेक तहका विद्यार्थीले न्यूनतम सिक्नुपर्ने कुराहरू लिपिबद्ध हुनुपर्छ। र, त्यसको उत्तरदायित्व अध्ययन गराउने हरेक संस्थाको हुनुपर्छ।

एमडी इन्टरनल मेडिसिनको विद्यार्थीले सामान्य इको स्क्रिनिङ गर्न सक्ने हुनुपर्छ। आन्द्राको सामान्य इन्डोस्कोपी गर्न सक्ने हुनुपर्छ। निमोथोरक्समा चेस्ट ट्युब राख्न सक्ने हुनुपर्छ। इमर्जेन्सी पर्दा इन्ट्युबेशन गर्न सक्ने हुनुपर्छ। हरेक विषयका देखिने मुख्य रोगहरूको बारेमा उपचार गर्न सक्ने हुनुपर्छ। सो कुराको सुनिश्चितता हुन कतिवटा बिरामी हेरेको हुनुपर्ने, कतिवटा बिरामीको र रोगको केश प्रिजेन्टेशन हुनुपर्ने, कतिवटा बिरामीको उपचारमा निर्णय क्षमताको जाँच हुनुपर्ने भन्ने कुरा अनिवार्य निर्धारण हुनुपर्छ। त्यसको जिम्मेवारी सम्बन्धित विभागले लिनुपर्छ।

डीएम कार्यक्रमको उद्देश्य एमडीमा सिकेको ज्ञानलाई अझै एउटै विषयमा केन्द्रित गरेर उच्च तहको तिखारिएको सीप र ज्ञान लिने हो। उदाहरणका लागि डीएम कार्डियोलोजी पढ्ने विद्यार्थीसँग राज्यले के अपेक्षा गर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। र, त्यो प्रोग्रामको न्यूनतम उद्देश्य के हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। तीन वर्षको प्रोग्राममा कति वटा सीप सिकेर निस्किनुपर्ने हो भन्ने कुरा यकिन हुनुपर्छ।

तीन वर्ष पढेर र ड्युटी गरेर पनि कुनै एउटा सार्वजनिक  संस्थामा पुगेर ‘पेसमेकर’ राख्न सीप पुगेन, प्राइमरी पीसीआई गर्नको लागि सीप पुगेन, सामान्य एन्जिओग्राफी र एन्जिओप्लास्टी, ट्रान्सेसोफेजिअल इको, राइट हार्ट क्याथेटराइजेशन गर्न पनि सीप पुगेन भने सो प्रोग्रामको उद्देश्य पूरा भएको मान्न कदापि सकिंदैन। इन्टरभेन्सन गर्नु हातको सीप मात्रै नभएर त्यसको आवश्यकताको पहिचान गर्नु र सही निर्णय लिनु पनि हो। जसको लागि पर्याप्त विषयगत ज्ञान पनि चाहिन्छ।

तीन वर्ष एमडी मेडिसिनमा गरेको चिकित्सकले औषधिहरूको बारेमा ज्ञान पक्कै लिएको हुन्छ। डीएम प्रोग्रामको उद्देश्य विशेष मुटुकै सम्बन्धमा भएका रोगहरूमा औषधि चलाउन निर्णय क्षमतामा निखार ल्याउने त हो। यदि बिरामी हेर्ने, पहिचान गर्ने र औषधि चलाउने मात्रै उद्देश्य डीएम कार्डियोलोजी प्रोग्रामको हो भने ६ वर्ष बढी समय भएन र ? ६ वर्ष पढेर सक्दा सो विषयका न्यूनतम हातको सीप र ज्ञान हासिल गर्ने उद्देश्य सबै विद्यार्थी चिकित्सकको हुन्छ। यो कुरा डीएम कार्डियोलोजीको हकमा मात्रै नभएर डीएम ग्यास्ट्रोलाई पनि लागू हुन्छ। डीएम पल्मोनोलोजीलाई पनि लागू हुन्छ। एमडीजीपिलाई पनि लागू हुन्छ।

यदि विद्यार्थी चिकित्सकमा अस्पतालको कार्यभार निर्भर छ भने उनीहरूलाई खाने–बस्ने व्यवस्था, उचित पारिश्रमिक र अलि सम्मानजनक ड्युटी रूमको प्रबन्ध गर्नुपर्छ

आफ्नो उमेरको उत्पादनशील र सक्रिय समयमा न्यून पारिश्रमिकमा डीएम तीन वर्षको प्रोग्राममा मरिहत्ते गरेर अध्ययन गर्नुपर्ने र अध्ययन गरेर सकिएपछि सामान्य सीपको लागि फेरि फेलोसिप गर्न धाउनुपर्ने भनेको शिक्षाका नाममा उत्पीडन हो। यदि तीन वर्षले पुग्दैन भन्ने कुरा अन्तर्राष्ट्रिय र विज्ञको राय नै रहेछ भने चार वर्षको डीएम प्रोग्राम सञ्चालन गरेर एउटा पूर्ण सीपयुक्त चिकित्सकको उत्पादन गर्नु उत्तम हुन्छ।

बारम्बार औपचारिक शिक्षाका नाममा कति समय बिताउनुपर्ने हो ? यति लामो औपचारिक शिक्षा हासिल गरेर बजारमा पुग्दा फेरि टिकटककै सहारा लिनुपर्ने हो भने दुईवटा प्रश्न जायज छन्। लोकप्रियतालाई प्रश्रय दिने हाम्रो समाज कता हिंडिरहेको छ? र, राज्यको लगानीबाट बनेका विशेषज्ञको मनोबलको सुरक्षाका लागि ठोस नीति लिनुपर्ने होइन र?

तीन वर्षको अध्ययन पश्चात् हातको सीप आवश्यक पर्ने विषयमा एक वर्ष फेरि कुनै हाई भोल्युम सेन्टरमा गएर हात बसाल्न पर्ने हो भने त्यो तीन वर्षको उद्देश्य र औचित्यमा प्रश्न उठ्नु स्वाभाविक हो। कुनै पनि प्रोग्रामको उद्देश्य यकिन हुनुपर्छ। नयाँ प्रोग्राम सञ्चालन गर्दा एक तह मुनिका कार्यक्रममा असर पर्ने गरी त्यसको स्वरुप हुनुहुँदैन।

एमडीको तह पनि उत्ति नै बलियो र गुणस्तरीय  हुनुपर्छ। डीएमको तह पनि उत्तिकै गुणस्तरीय हुनुपर्छ। त्यसपछि ती विषयभित्रका जटिल प्रोसेट्युअरको लागि आफ्नो रुचि अनुसार एक वर्ष थपेर फेलोसिप कार्यक्रम हुनु उचित नै हुन्छ। तर हरेक तहको परिधि निर्धारण हुनुपर्छ। जहाँ डीएम प्रोग्राम सञ्चालनमा छ त्यहाँ एमडी प्रोग्राम ओझेलमा पर्नु र फेलोसिप प्रोग्राम भएको ठाउँमा डीएम, एमडी प्रोग्राम ओझेलमा पर्नु शैक्षिक कार्यक्रमको स्वरूपको विफलता हो। सो प्रोग्रामको विद्यार्थीले आफ्नो विषय अनुसारको सीप र ज्ञान लिएर निस्किन नपाउनु सो व्यक्तिको समय र ऊर्जालाई निमोठ्नु हो। विद्यार्थीका बुनिएका सपनामाथि कुठाराघात हो। राज्य र जनतालाई पनि विशेषज्ञ चिकित्साको नाममा छल गरेको हो।

राज्यले आफूले लगानी गर्दा एउटा कुशल चिकित्सक उत्पादन हुने ध्येय राख्छ। तर के राज्यले मेडिकल कलेजका कमजोरीलाई नजर लगाउन सक्छ त ? संस्थाले कुशल चिकित्सक बनाउने प्रतिबद्धतामा साथसाथै आफ्नो काम पनि चलोस् भन्ने चाहन्छ। के चिकित्सक विद्यार्थीमा मात्रै निर्भर छन् त शैक्षिक संस्थाहरू ? यदि विद्यार्थी चिकित्सकमा अस्पतालको कार्यभार निर्भर छ भने उनीहरूलाई खाने–बस्ने व्यवस्था, उचित पारिश्रमिक र अलि सम्मानजनक ड्युटी रूम किन बनाइँदैन ?

नेपालमा मेडिकल शिक्षा जबर्जस्ती सञ्चालन गरिएको पक्कै हो। एउटा राम्रो लाइब्रेरी नहुने ठाउँमा १५ भन्दा बढी विधाका विशेषज्ञ अध्ययन–अध्यापन हुन्छ भन्नु नै विद्या आर्जनको सामान्य सिद्धान्तप्रति निर्मम हुनु हो। एउटा राम्रो लाइब्रेरी नहुनु, लाइब्रेरीको नाममा पुरानो अँध्यारो कोठाहरू हुनु, भनेजति सम्बन्धित विषयका विज्ञ प्रोफेसर नहुनु, बिरामीको विषयमा बृहत् छलफलभन्दा पनि केवल काममै ध्यान हुनु, रेजिडेन्ट चिकित्सकको आवासको कतै व्यवस्था नहुनु, रेजिडेन्ट चिकित्सकलाई फ्लेबोटोमिस्टको पनि काम गर्न पर्ने, पर्याप्त बिरामीको एक्सपोजर नहुनु आदि कमजोरीहरूका बीचमा कैयौं प्रोग्राम सञ्चालनमा रहेका छन्।

विशेषज्ञ चिकित्सक उत्पादन गर्नु राज्यको र जनताको लागि कति आनन्ददायी कुरा हो। तर यस प्रक्रियामा सबै तहका विशेषज्ञ चिकित्सकले आफ्नो तहको न्यूनतम ज्ञान र सीप अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण बनाउनु चिकित्सा शिक्षा आयोगको उत्तरदायित्व हो। यदि गुणस्तरको मापन हुन सक्दैन वा गुणस्तर सीप र सेवा उत्पादन हुँदैन भने त्यस्तो प्रोग्राम कुनै पनि संस्थालाई अनुमति दिनुहुँदैन। र, विलक्षण प्रतिभाका विद्यार्थीको कार्यसम्पादनको आधारमा आफ्नो संस्थाको कार्यसम्पादन देखाउने र गौरव गर्ने कार्य पनि न्यायोचित देखिंदैन।

(डोल्पामा कार्यरत मेडिकल अधिकृत डा. उपाध्यायले नेपालको चिकित्सा क्षेत्रका समस्याबारे अध्यापन गरिरहेका चिकित्सकहरूसँगको कुराकानीको आधारमा यो लेख तयार पारेका हुन्।)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?