+
+
Shares

गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप

गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ।
  • अभियानले रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
  • गुल्मीमा करिब ८ हजार कुकुर छन्, आधा छाडा र आधा घरपालुवा, रेबिज नियन्त्रणका लागि स्थानीयस्तरमा अभियान सञ्चालन भइरहेको छ।

२२ चैत, गुल्मी । गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो ।

अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य सार्वजनिक स्थानमा घुम्ने छाडा कुकुरको संख्या नियन्त्रण गर्नुका साथै रेबिज संक्रमणबाट मानिस र पशु दुवैलाई सुरक्षित राख्नु रहेको छ ।

पछिल्लो समय बजार तथा बस्ती क्षेत्रमा छाडा कुकुरले मानिसलाई टोक्ने घटनाहरू बढ्दै गएकोले स्थानीय तह र सरोकारवालाहरूको ध्यान यसतर्फ केन्द्रित भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका कार्यालयका प्रमुख हुमाकान्त पाण्डेका अनुसार जिल्लाका रेसुङ्गा र मुसिकोट नगरपालिका सहित गुल्मीदरबार, छत्रकोट, कालिगण्डकी र सत्यवती गाउँपालिकामा चरणबद्ध रूपमा शिविर सञ्चालन गरिएको छ ।

यस अभियानमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोग रहेको छ । अनुभवी पशु चिकित्सकहरूको टोलीले स्थानीय स्तरमै पुगेर कुकुरको बन्ध्याकरण तथा रेबिज खोप सेवा प्रदान गरिरहेको छ ।

हालसम्म कालिगण्डकी गाउँपालिकामा १००, सत्यवतीमा ६५, छत्रकोटमा ७५ र गुल्मीदरबारमा १०० कुकुरको बन्ध्याकरण र खोप सम्पन्न भइसकेको छ । रेसुङ्गा नगरपालिकामा १०० र मुसिकोट नगरपालिकामा ५० कुकुरलाई सेवा दिने लक्ष्य राखिएको छ ।

गुल्मीदरबारमा कुकुरको संख्या अत्यधिक भएकाले थप ११० कुकुरलाई पनि समेट्ने तयारी गरिएको छ । कार्यालयले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा कम्तीमा दुई दिनसम्म शिविर सञ्चालन गर्दै आएको छ ।

पछिल्ला तीन वर्षदेखि निरन्तर रूपमा यस्तो अभियान सञ्चालन भइरहेको छ । जसले दीर्घकालीन रूपमा कुकुरको अनियन्त्रित बृद्धि रोक्न मद्दत पुर्‍याइरहेको छ ।

जिल्लामा करिब ८ हजार कुकुर रहेको अनुमान गरिएको छ । जसमध्ये आधा सामुदायिक (छाडा) र आधा घरपालुवा छन् । गत वर्ष मात्रै ४०० कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप गरिएको थियो भने करिब १ हजार मानिसले कुकुरको टोकाइपछि रेबिज विरुद्धको खोप लगाउनुपरेको तथ्यांक छ ।

छाडा कुकुरका कारण स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्दै आएका छन् । विशेषगरी रातको समयमा पैदलयात्री तथा मोटरसाइकल चालकहरू बढी जोखिममा पर्ने गरेका छन् ।

खाली जग्गा, सडक, चोक तथा गल्लीहरूमा कुकुरहरूको झुण्ड देखिनु सामान्यजस्तै भइसकेको छ । यिनै कुकुरहरूले सडकमै बच्चा जन्माउने र त्यही हुर्किने क्रम बढ्दो छ, जसले समस्या झन जटिल बनाइरहेको छ ।

अघिल्लो वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारण एक महिलाको रेबिजबाट मृत्यु समेत भएको थियो । साथै गाईभैंसी जस्ता चौपायामा पनि कुकुरको आक्रमण बढेको स्थानीयले बताएका छन् ।

यसले पशुपालन क्षेत्रमा समेत नोक्सानी पुर्‍याएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

सो लक्ष्य प्राप्त गर्न यस्ता स्थानीयस्तरका अभियानहरू अत्यन्त महत्वपूर्ण रहेको कार्यालय प्रमुख पाण्डेले बताए । बन्ध्याकरणले कुकुरको अनियन्त्रित प्रजनन रोक्ने र खोपले रेबिजको जोखिम घटाउने भएकाले दुवै उपायलाई सँगै अघि बढाइएको हो ।

स्थानीयवासीहरूले पनि यस अभियानलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले यस्ता कार्यक्रम नियमित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?