News Summary
Generated by OK AI. Editorially reviewed.- मार्च २०२६ मा नेपालमा पर्यटक आगमन सन् २०२५ को तुलनामा एक प्रतिशतले घटेर १ लाख २० हजार ५ सय १६ कायम भएको छ।
- सार्क मुलुक र भारतबाट पर्यटक आगमनमा २१ प्रतिशत सुधार भए पनि पश्चिमी देशबाट पर्यटक संख्या घटेको बोर्डले जनाएको छ।
- सरकारले शुक्रबार र शनिबार सरकारी कार्यालय बन्द गर्ने निर्णयले आन्तरिक पर्यटनमा उत्साह बढ्ने बोर्ड सीईओ जोशीले बताए।
२२ चैत, काठमाडौं । मार्च २०२६ मा पर्यटक आगमन सन् २०२५ को तुलनामा एक प्रतिशत घट्यो । यो संख्या ठूलो हुने सम्भावना थियो ।
तर, भारत सहित सार्क मुलुकका पर्यटक आगमनमा आएको २१ प्रतिशतको सुधारले कुल पर्यटक आगमनमा ठूलो खाडल पर्न दिएन ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२६ मा १ लाख २० हजार ५ सय १६ पर्यटकलाई मुलुकले स्वागत गर्यो । २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक आएका थिए ।
अर्कातर्फ, यो सिजन पदयात्रा र पर्वतारोहणमा धेरै पश्चिमा देशबाट पर्यटक आउने विगतको प्रवृत्ति छ । तथ्यांकले यसमा ठूलो असर परिरहेको देखाएको छ ।
अमेरिकाबाट गत मार्चमा ७ हजार ९ सय ७४ जना आएका छन् । २०२५ मार्चमा यो संख्या ११ हजार ९२ थियो । अर्थात्, संख्या २८.१ प्रतिशतले ओरालो लाग्यो ।
युरोपेलीको आगमन ‘ट्रेन्ड’ पनि यस्तै छ । बेलायतबाट ४ हजार ८ सय १४ जना मार्चमा नेपाल आए । गत वर्ष ५ हजार ९ सय ९५ आएका थिए । बेलायतबाट हुने आगमनमा १९.७ प्रतिशत गिरावट आयो । युरोपेली भेगको समग्र आगमनमा १८.९ प्रतिशतको गिरावट रेकर्ड गरिएको छ ।
पश्चिम एसियामा चर्किएको युद्ध लम्बिँदै जाँदा त्यस भेगलाई ‘ट्रान्जिट’ बनाएर नेपाल आउने पर्यटक आगमनमा प्रत्यक्ष असर गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् ।

यस्तो बेला जोशी स्वयं युद्धका कारण एक साता दोहा विमानस्थलमा फस्न पुगेका थिए । दोहा ट्रान्जिट गरी जर्मनी उडेका उनी युद्धका कारण दोहामा फसेका थिए । पछि जर्मनीको कार्यक्रम सोही समयमा सकिएपछि उनी भारत नयाँदिल्ली हुँदै नेपाल फिर्ता आए । ‘युद्धका कारण यात्रा अनिश्चित बनेको छ,’ उनी भन्छन्, ‘यसले हामीजस्ता मुलुकलाई ठूलो मार पर्ने देखिन्छ ।’
वसन्त ऋतु आरोहण र पदयात्राको सिजन हो । यस समय लामो समय बिताउने र धेरै खर्च गर्ने पर्यटक नेपाल आउँछन् । नेपाली पर्यटनमा बढी आम्दानी गर्ने आधार पनि यी क्षेत्र हुन् ।
यही बेला ‘फेक रेस्क्यु’ को विषयले पर्यटन बजारमा नकारात्मक समाचार फैलिरहेको छ । केही समय अगाडिको यो मुद्दा अहिले प्रहरीले फाइल खोल्दै कारबाही थालेको छ । यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुन: नेपाली पर्यटनको नकारात्मक छवि प्रचार भइरहेको छ ।
अर्कातर्फ, युद्धका कारण इन्धन आपूर्तिमा परेको असरले पर्यटकीय सेवा महँगो बनेको छ । गत सातामात्र नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आन्तरिक र वाह्य दुवै रुटको हवाई इन्धन मूल्य दोब्बरसम्म बढ्दा त्यसले यात्रा महँगो बनेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम हवाई भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
‘एक त कसरी गन्तव्य पुग्ने भन्ने चुनौती छ, अर्को सेवा महँगो बनेको छ, यस अवस्थामा पर्यटकले घुमफिरको योजना पुनर्विचार गर्न सक्ने जोखिम हुन्छ, जुन हाम्रो जस्तो अर्थतन्त्रका लागि सुखद खबर होइन,’ बोर्ड सीईओ जोशी भन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेर काम गरिरहेका वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे फेक रेस्क्युका विषयमा भइरहेका नकारात्मक प्रचार चिर्न सरकार र पर्यटन उद्योगले संयुक्त प्रयास गर्नुपर्ने बताउँछन् ।
इरान–अमेरिका युद्धको असर कम भएन भने सकारात्मक पाटो खोजेर विकल्पमा काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामी जुन भेगमा छौं त्यो भेग अहिले संसारका अन्य भेगको तुलनामा शान्त छ, हामी यसलाई अब अवसरमा बदल्न सक्छौं,’ उनी भन्छन्, ‘युद्धको असर कम गर्ने हामीले विकल्प खोजेरै हो ।’
जति समस्या छन्, सरकार र उद्योगी सँगै बसेर विकल्प खोज्ने हो भने छिटो निष्कर्ष निस्कने समेत उनको राय छ ।
सोही अनुसार बोर्डले ट्रान्जिट विकल्पबारे अन्तर्राष्ट्रिय पर्यटन बजारका सरोकारवालालाई विभिन्न माध्यमबाट जानकारी गराउने काम थालिसकेको बोर्ड सीइओ जोशीले बताए ।

अहिले नेपाल आउन टर्की, दिल्ली, हङकङ र चीन सुरक्षित ट्रान्जिट विकल्प हुन् । यसलाई बढी प्रचार गरेर आगमनमा असर नपर्ने रणनीतिमा छलफल अगाडि बढाइएको उनले जानकारी दिए । यसबाहेक बोर्डले छिमेकी भारत र चीनबाट अधिक पर्यटक भित्र्याउने गरी प्रवर्द्धनमा जोड दिएको उनले बताए ।
‘आसियान मुलुक, सार्क र चीन हाम्रा लागि भरपर्दो स्रोत बजार हुन्,’ उनी भन्छन्, ‘उहाँहरूका लागि पनि अन्य भेगमा द्वन्द्व बढ्दा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सुनिश्चित गराउन हामी सोही अनुसार क्याम्पेन गर्छौं ।’
आन्तरिक रूपमा इन्धनको मूल्यवृद्धि बाहेक अहिले पर्यटनमा असर पर्ने नकारात्मक वातावरण नभएका कारण यसलाई वाह्य चुनौती चिर्ने माध्यम बनाउन सकिने सम्भावना समेत जोशीले देखेका छन् ।
अघिल्लो साता अमेरिकाले नेपालबारे ट्राभल एडभाइजरी खुकुलो बनाएको छ । यसअघि उच्च जोखिम देखाएको नेपाल गन्तव्यलाई अमेरिकाले खुकुलो पार्दै सावधानी अपनाएर यात्रा गर्न सकिने सूचीमा राखेको छ ।
अमेरिकी ट्राभल एडभाइजरीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा बढी विश्वास गरिने भएकाले सोही एडभाइजरी सकारात्मक हुनु पनि नेपालको पर्यटनका लागि सुखद समाचार हो ।
सरकारी बिदा थप्ने निर्णयले आन्तरिक पर्यटनमा उत्साह
पर्यटन उद्योग सरकारले सरकारी बिदा थप गरेको प्रति भने उत्साही छ । मन्त्रिपरिषद् बैठकले अब शुक्रबार र शनिबार सरकारी कार्यालय र सबै शैक्षिक संस्था बन्द हुने गरी निर्णय गरेको छ । यसले आन्तरिक पर्यटन ‘बुस्ट’ गर्न निकै सहज हुने सीईओ जोशी बताउँछन् ।
‘यो त हामीले सरकारलाई धेरै पटक प्रस्ताव गरेको विषय हो,’ उनी भन्छन्, ‘सहरी भेगका नजिकका गन्तव्यलाई यसले राम्रो बिजनेस सिर्जना गर्छ ।’
पर्यटन व्यवसायी पाण्डेका अनुसार सरकारको यो निर्णयले सरकारी कर्मचारीको कार्य क्षमता बढ्ने, घुमफिरका लागि पर्याप्त समय पाउने भएकाले पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने बताउँछन् ।
‘शुक्रबारको दिन कार्यक्षमता निकै ह्रास थियो,’ उनी भन्छन्, ‘अब बाँकी ५ दिन पूर्ण क्षमतामा काम हुन्छ, दुई दिन बिदाले अर्थतन्त्रमै सकारात्मक योगदान गर्छ ।’
प्रतिक्रिया 4