२२ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले सात महिनापछि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन २४ चैत मंगलबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान भएको जानकारी दिए । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीमा छ ।
बागमती प्रदेशसभाको पछिल्लो बैठक १७ भदौ २०८२ मा बसेको थियो । जेनजी आन्दोलनपछि बैठक राख्न नसकेको सरकारले ३ मंसिरमा प्रदेशसभाको १६ औं अधिवेशन अन्त्य गरेको हो । १६ औं अधिवेशनमा २४ वटा मात्रै बैठक बसेको प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिए ।
प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौंडा उपमहानगरपालिका–२ स्थित उपमहानगर हाताभित्र निर्माण गरिएको मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन हुनेछ ।
यो सभाहलमा पनि जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको थियो । प्रदेशसभा बैठक सञ्चालनकै लागि करिब २ करोड रूपैयाँ लागतमा मर्मतसम्भार गरिएको हो ।
यसैगरी, बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा प्रदेशसभा अनिश्चित बन्दै आइरहेको थियो । प्रदेशसभा बैठक सुरू भएको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने भएकाले सरकार त्यसको तयारीमा पनि जुटेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केही दनिअघि बसेको संसदीय दलको बैठकले सभामुखमा दाबी गर्ने निर्णय गरिसकेको छ । सत्ता साझेदार दल नेकपा एमालेले पनि सभामुख पदमा दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा पनि सभामुख पाउनुपर्ने अडानमा कायम रहेको छ ।
जेनजी प्रदर्शन चर्किएकै समयमा २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त छ ।
पाठक दलीय भागबण्डाका आधारमा राप्रपाबाट सभामुख बनेका थिए । उपसभामुख एमालेकी अप्सरा चापागाईं बनेकी थिइन् ।
प्रतिक्रिया 4