News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले २३ चैतमा नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गर्दैछ ।
- पूर्वन्यायाधीश मीरा खड्का नेतृत्वको निर्णायक मण्डलले ७०० भन्दा बढी नामबाट ५० प्रभावशाली महिला छनौट गरेको छ।
- आज साँझ ललितपुरमा आयोजना हुने विशेष समारोहबाट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सूची सार्वजनिक र अवार्ड प्रदान गर्नेछिन्।
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची आज सार्वजनिक गर्दैछ ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गर्न लागिएको हो । अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो ।
ललितपुरको द प्लाजामा आयोजना हुने विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्नेछिन् ।
यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो । खुला आह्वानसँगै काठमाडौंमा रहेको केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका संवाददाताहरू र कतिपय क्षेत्रका विज्ञ तथा स्रोतहरूबाट गरी जम्मा ७०० भन्दा बढी नामहरू प्राप्त भएका थिए । तिनै नामबाट पूर्वन्यायाधीश मीरा खड्का संयोजक रहेको निर्णायक मण्डलले ५० जना छनोट गरेको हो ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट नेतृत्वलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु नै ‘५० प्रभावशाली महिला’ छनोटको मुख्य उद्देश्य रहेको अनलाइनखबर प्रालिका अध्यक्ष धर्मराज भुसालले बताए ।
अनलाइनखबरले हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर विभिन्न क्षेत्रका ‘चालीस मुनिका चालीस’ युवाहरूको सूची पनि सार्वजनिक गर्दै आएको छ ।
प्रतिक्रिया 4