२३ चैत, काठमाडौं । इरान र अमेरिकाबीच जारी भीषण युद्ध रोक्न पाकिस्तानले एउटा ठोस योजना प्रस्तुत गरेको छ । जसलाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ ।
रोयटर्सका अनुसार यो योजना सफल भएमा आज सोमबारदेखि नै तत्काल युद्धविराम लागू भई विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुन: सुचारु हुन सक्नेछ ।
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनले आइतबार राति अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र इरानी विदेशमन्त्री अब्बास अराक्चीसँग संवाद गरेपछि यो मस्यौदा तयार पारिएको हो ।
प्रस्तावित सम्झौतालाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा आजैदेखि लागू हुने गरी तत्काल युद्धविराम गर्ने र ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने सहमति छ ।
दोस्रो चरणमा आगामी १५ देखि २० दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा प्रत्यक्ष वार्ता गरी दीर्घकालीन शान्ति सम्झौतालाई अन्तिम रूप दिइने योजना छ ।
यस वृहत् सम्झौतामा इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने र त्यसको बदलामा अमेरिकाले इरानमाथि लगाएका आर्थिक प्रतिबन्धहरू हटाउनुका साथै रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने सर्त राखिएका छन् ।
इरानी अधिकारीहरूले भने अमेरिका र इजरायलबाट भविष्यमा पुन: आक्रमण नहुने पूर्ण ज्ञारेन्टीसहितको स्थायी युद्धविराम खोजिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही दिनदेखि नै युद्ध अन्त्यका लागि कडा दबाब दिइरहेको छन् भने पाकिस्तान, चीन र अन्य क्षेत्रीय मध्यस्थकर्ताहरूले पनि यसमा सक्रिय भूमिका खेलिरहेका छन् ।
हालसम्म इरान र अमेरिकाले यस प्रस्तावमा आधिकारिक प्रतिक्रिया नदिए पनि कुटनीतिक स्रोतहरूले आजै एउटा समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने बलियो सम्भावना व्यक्त गरेका छन् ।
६ हप्ता लामो यो युद्धले विश्व बजारमा तेलको मूल्य र सुरक्षामा गम्भीर संकट पैदा गरेपछि यो कुटनीतिक पहललाई निकै महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया 4