News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले इस्लामावादमा हुने भनिएको शान्ति वार्ताको दोस्रो चरणबाट बाहिरिने घोषणा गरेको छ।
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सको टोली वार्ताका लागि इस्लामावाद उड्न तयार रहेकै बेला इरान भने वार्ताबाट पछि हटेको छ ।
- इरानी र अमेरिकी बीचको तनावले होर्मुज स्ट्रेट बन्द हुँदा विश्वव्यापी तेल मूल्य ४० प्रतिशतले वृद्धि भएको छ।
पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको शान्ति वार्ताको दोस्रो चरणबाट इरान पछि हटेपछि मध्यपूर्वमा पुनः युद्ध सुरु हुने खतरा बढेको छ ।
जारी युद्धविरामको समय समाप्त हुन लाग्दा वासिङ्टन र तेहरान दुवैले एकअर्कालाई कडा चेतावनी दिँदै युद्ध पुनः सुरु गर्न तयार रहेको बताएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा स्टिभ विट्कोफ र जेरेड कुश्नर सम्मिलित टोली वार्ताका लागि इस्लामावाद उड्न तयार रहेकै बेला इरानले वार्ताबाट बाहिरिने घोषणा गरेको हो।
गत आइतबार अमेरिकी नौसेनाले इरानी झन्डावाहक एक मालवाहक जहाजलाई नियन्त्रणमा लिएपछि तेहरान आक्रोशित बनेको छ । अमेरिकाले भने उक्त जहाजले आफ्नो नाकाबन्दी उल्लंघन गर्न खोजेकाले कारबाही गरिएको दाबी गरेको छ।
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि धान्न नसकिने अवस्था हो।
इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले ट्रम्पले धम्की र घेराबन्दी मार्फत इरानलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाएका छन् । उनले धम्कीको छायामा इरानले कुनै पनि वार्ता नगर्ने र विगत दुई हप्तादेखि रणमैदानमा नयाँ रणनीतिका साथ तयार रहेको बताएका छन्।
यस्तै, इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो अनुमति बिना होर्मुज स्ट्रेटबाट छिर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ।
यो तनावको प्रत्यक्ष असर विश्वव्यापी तेल र ग्यास बजारमा देखिएको छ। विश्वको झन्डै २० प्रतिशत तेल र मल आपूर्ति हुने यो जलमार्ग अवरुद्ध हुँदा फेब्रुअरीको तुलनामा इन्धनको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ।
मंगलबार ब्रेन्ट क्रुड प्रति ब्यारेल ९५ डलरमा कारोबार भएको छ, जुन युद्धविराम अघिको १२० डलरको तुलनामा केही कम भए पनि सामान्य अवस्थाको भन्दा निकै उच्च हो । कूटनीतिक प्रयासहरू असफल हुँदै जाँदा मध्यपूर्वमा थप ठूलो सैन्य मुठभेड हुने जोखिम बढेर गएको छ।
प्रतिक्रिया 4