News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध सधैंका लागि अन्त्य गर्ने उद्देश्यले पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारेको छ।
- इरानले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गरी आफ्ना सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेको छ।
- तेहरानले क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुज सुरक्षित आवागमन, पुनर्निर्माण र प्रतिबन्ध हटाउने मागहरू समेटिएको शान्ति सन्देश प्रस्तुत गरेको छ।
काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारिएको हो ।
यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएका थिए । यदि स्ट्रेट अफ होर्मुज खुला नभए इरानका विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी ट्रम्पले दिएका थिए । मंगलबारसम्मको म्याद सकिनुभन्दा एक दिन अघि इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने शान्ति सन्देश दिएको हो ।
अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देशहरूको आदान–प्रदान भएको पुष्टि गरेका थिए । तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको बताएका थिए । समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार इरानको १० अनुच्छेदको जवाफमा युद्धविरामको अवधारणालाई ‘विगतका अनुभवहरू’ उल्लेख गर्दै अस्वीकार गरिएको छ । यसको सट्टा इरानले आफ्नै सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ ।
एजेन्सीका अनुसार तेहरानले प्रस्तुत गरेको शान्ति सन्देशको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने व्यवस्था लगायतका विभिन्न मागहरु समेटिएका बीबीसीले जनाएको छ ।
इरानले परमाणु कार्यक्रम जारी राखेको भन्दै गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेता र उनीहरुका परिवारका सदस्यहरु मारिएका थिए ।
त्यसको बदलामा इरानले पनि इजरायल र खाडी देशहरुमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा आक्रमण सुरु गरेको थियो । अहिलेसम्म पनि जारी लडाइँले खाडी देशहरुमा असुरक्षा बढेको छ । साथै विश्वभर पेट्रोलियम पदार्थ ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध हुँदा तेलको मूल्य आकासिएको छ ।
प्रतिक्रिया 4