News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ।
- तीन विद्यार्थी एसईई परीक्षा दिएर फर्किरहेका थिए र थप तीन घाइते भएका छन्।
- घाइतेमध्ये दुईको अवस्था गम्भीर छ र उनीहरू जलेश्वरस्थित अस्पतालमा उपचाररत छन्।
२४ चैत, महोत्तरी । महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ । उक्त दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न नसकेको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए । ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4