+
+
Shares

मानसिक समस्या विकराल छ, व्यक्तिको पद र कदमात्रै नहेरौं : क्रान्तिशिखा धिताल

‘व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा वा समस्या परिभाषित हुँदैन । आन्दोलनको शहीद परिवार होस् या घाइतेहरु, या भनौं सुरक्षाकर्मी र कर्मचारीहरु मानसिक स्वास्थ्य समस्याहरुबाट गुज्रेका हुन सक्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी र कर्मचारीमा मनोसामाजिक अवस्थाबारे संवेदनशील हुन आग्रह गरिन्।
  • धितालले मानसिक समस्यालाई नजरअन्दाज गर्ने वा लुकाउने प्रवृत्ति रहेको भन्दै संसदको ध्यानाकर्षण गरिन्।
  • उनले परिवारले मानसिक समस्या झेल्नेलाई पर्याप्त ध्यान नदिएको र साइको सोसल काउन्सिलरको ठूलो खाँचो रहेको बताइन्।

२४ चैत, काठमाडौं ।  रास्वपा सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी, कर्मचारीसमेतमा मनोसामाजिक अवस्थाबारे संवेदनशील हुन आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै धितालले मानसिक समस्यालाई कि त नजरअन्दाज गर्ने, कि त लुकाउने प्रवृत्ति रहेको भन्दै संसदको ध्यानाकर्षण गराइन् ।

‘हामीमध्ये जोकोही मनोसामाजिक समस्याका शिकार हुन सक्छौं, म नै पनि हुन सक्छु, व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा वा समस्या परिभाषित हुँदैन,’ धितालले भनिन्, ‘जेनजी आन्दोलन भएको यो वर्षले देशलाई धेरै ठूला सफलताहरु दिएको छ । संसद् र सरकारमा आज जे परिवर्तन देखिएको छ, यो त्यही युवा आन्दोलनको देन हो । तर आन्दोलनको शहीद परिवार होस् या घाइतेहरु, या भनौं सुरक्षाकर्मी र कर्मचारीहरु मानसिक स्वास्थ्य समस्याहरुबाट गुज्रेका हुन सक्छौं । सफलतामात्रै नहेरौं, यसभित्रको ठूलो समस्यालाई पनि नजरअन्दाज नगरौं ।’

सांसद धितालले मानसिक समस्या झेल्नेहरुका लागि परिवारले समेत पर्याप्त ध्यान दिन, सघाउन नसकेको भन्दै यसका लागि साइको सोसल काउन्सिलरहरु ठूलो संख्यामा खाँचो पर्ने बताएकी छन् । तीनै तहका सरकारले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर एजेन्डा हो भनेर बुझ्न सकुन् भन्ने आह्वान पनि गर्न चाहेको उनले सुनाइन् ।

सरकारले ल्याउने नीतिहरुमा मनोसामाजिक परामर्शदाताहरुका मागहरु सम्बोधन हुनुपर्ने पनि सांसद धितालको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?