+
+
Shares

अमेरिका/इजरायल-इरान युद्ध : टर्कीको सबैभन्दा ठूलो टाउको दुखाइ

युद्धका प्रभावबाट जोगिन अर्दोआन सरकार कसरी प्रयास गरिरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टर्कीले अमेरिका र इजरायलको इरानविरुद्ध युद्धमा मध्यस्थता प्रस्ताव गर्दै सतर्कतापूर्ण अडान अपनाएको छ।
  • टर्कीका राष्ट्रपति अर्दोआनले टर्कीलाई युद्धबाट जोगाउन दृढ संकल्प व्यक्त गर्नुभएको छ।
  • टर्कीका ६८ प्रतिशत जनताले तटस्थ रहनुपर्ने धारणा राखेका छन् र सरकारले शान्तिपूर्ण कूटनीति जारी राख्ने बताएको छ।

अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेदेखि नै टर्कीले सतर्कतापूर्ण अडान अपनाएको छ । टर्कीका अधिकारीले अमेरिका वा तेहरानलाई प्रत्यक्ष रूपमा दोषी नठहराइ यस संघर्षसँग जोडिएका जोखिमबारे चेतावनी दिइरहेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि आफ्नो पहिलो विज्ञप्तिमा टर्कीको परराष्ट्र मन्त्रालयले सबै पक्षलाई आक्रमण तुरुन्त रोक्न आह्वान गर्दै मध्यस्थताको प्रस्ताव राखेको थियो । टर्कीले हालसम्म यही अडान कायम राखेको छ ।

अप्रिल १ मा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले भनेका थिए, ‘हाम्रो प्राथमिकता देश सुरक्षित रहोस् भन्ने हो । हामी टर्कीलाई यस संकटबाट जोगाउन दृढताका साथ संकल्पित छौं ।’

आधिकारिक बयान र सञ्चारमाध्यमका रिपोर्टहरूले टर्कीले आफ्नो यो अडान कायम राख्ने र यदि युद्ध जारी रह्यो भने त्यसको नकारात्मक प्रभावबाट टाढा रहने प्रयास गर्ने संकेत गरेका छन् ।

टर्कीको अडान के छ ?

टर्कीका अधिकारीहरूले मध्यस्थताका साथै देशलाई युद्धबाट टाढा राख्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् । युद्धका क्रममा इरानको चौथो ब्यालिस्टिक मिसाइल हावामै खसालिएपछि टर्कीको रक्षा मन्त्रालयले सबै आवश्यक कदम चालिएको भन्दै घोषणा गरेको थियो ।

मार्च २५ मा अर्दोआनले भनेका थिए, ‘हामी त्यस्तो जालमा फस्ने छैनौं, जसमा केही मानिस हामीलाई फसाउन चाहन्छन् । हामी सावधानी, दूरदर्शिता र शान्तिका साथ यस मुद्दाको समाधान गर्नेछौं । साथै भाइचारा र असल छिमेकीको सिद्धान्तलाई पालना गर्नेछौं ।’

अर्को एक भाषणमा अर्दोआनले भनेका छन्, ‘टर्कीले आफ्नो शान्तिपूर्ण परराष्ट्र नीतिलाई निरन्तरता दिनेछ ।’

टर्कीले इरान र अमेरिका दुवैसँग सम्पर्क कायम राखेको छ । तर सरकारी सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले ‘शान्ति कूटनीति’ का बारेमा थप जानकारी भने दिएका छैनन् ।

टर्कीका विदेशमन्त्रीले मार्च २८ मा आफ्नो देशले युद्धलाई जतिसक्दो चाँडो अन्त्य गर्नका लागि वार्ता जारी राख्ने बताएका थिए ।

टर्की सरकारको निकट मानिने प्रमुख लेखक अब्दुल कादिर साल्वीले मार्च ३० मा हुर्रियत अखबारमा लेखेका छन्, ‘टर्कीले मध्यपूर्वमा इरान र खाडी देशहरूबीच हुन सक्ने एउटा ठूलो युद्धलाई टारेको छ ।’

इरानको आक्रमणपछि साल्वीले आफ्ना लेखमार्फत खाडी देशलाई तनाव नबढाउन आह्वान गरेका छन् ।

दाउमा लागेको टर्कीको स्वार्थ

टर्कीको सावधानी उसको सुरक्षा सम्बन्धी चिन्ताका साथै इरान र अमेरिका दुवैसँगको सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतासँग जोडिएको छ ।

टर्की र इरानबीच लामो सीमा सम्बन्ध छ । यहीकारण युद्ध लम्बिँदै जाँदा इरानबाट ठूलो संख्यामा आप्रवासी टर्कीतर्फ आउनसक्ने सम्भावना रहन्छ । यद्यपि, अहिलेसम्म न्यून संख्यामा इरानी टर्की पुगेका छन् ।

विश्लेषकहरूले यो युद्धले क्षेत्रमा इजरायलको प्रभाव बढाउनसक्ने चेतावनी दिएका छन् । जसमा यो युद्धपछि इजरायल र टर्कीबीच द्वन्द्वलाई जन्म दिनसक्ने आँकलन भइरहेको छ ।

अर्दोआनले मध्यपूर्वको संकटका लागि सधैँ इजरायललाई दोषी ठहराउँदै आएका नेता हुन् । तर उनी अमेरिकाको प्रत्यक्ष आलोचना गर्नबाट भने जोगिँदैआएका छन् ।

अप्रिल १ मा अर्दोआनले यस अवैध युद्धका लागि इजरायली सरकार जिम्मेवार रहेको र यो युद्ध नेतान्याहुको राजनीतिक जीवनलाई लम्ब्याउनका लागि लडिएको बताएका थिए ।

टर्की सरकारको निकट विश्लेषकको बुझाइमा इजरायलले अमेरिकालाई यस युद्धमा तानेको हो, तर पछिल्ला दिनमा टर्कीका सञ्चारमाध्यममा राष्ट्रपति ट्रम्पको आलोचना बढेको छ ।

टर्की र अमेरिकाबीचको सम्बन्ध पनि तनावपूर्ण छ । अर्दोआन र ट्रम्पबीचको सौहार्दपूर्ण सम्बन्धका बाबजुद, टर्कीले रुसी एस–४०० रक्षा प्रणाली खरिद गरेबापत अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने प्रयास गरिरहेको छ । यस्तै टर्कीले एफ–३५ लडाकु विमान खरिद गर्न पनि रुचि देखाइरहेको छ ।

अमेरिकाले रुसबाट रक्षा उपकरणको खरिद रोक्न नै टर्कीमाथि यी प्रतिबन्ध लगाएको हो ।

टर्कीका विश्लेषक र जनता के भन्छन् ?

टर्कीका अधिकांश विश्लेषकले सरकारको नीतिको समर्थन गरेका छन् । पत्रकार मूरत यातकिनले मार्च २९ मा अर्दोआन सरकारले आक्रमणको निन्दा गर्दै दुवै पक्षसँग सम्पर्क कायम गरिरहेको र आफूलाई संघर्षबाट टाढा राखिरहेको बताएका छन् ।

उनले यसअघि आफ्नो वेबसाइटको एउटा पोस्टमा ‘टर्कीको हित देशको अस्तित्वमा निहित छ, न कि यस संघर्षमा सहभागी हुनुमा’ भनी लेखेका थिए ।

स्तम्भकार नबी मेसले अप्रिल १ मा ‘टर्कीले आफ्नो रणनीतिक स्वायत्तता र कूटनीतिक स्वतन्त्रता कायम राख्नुपर्छ’ भनी लेखेका थिए ।

दक्षिणपन्थी समाचार पत्र ‘करार’ का स्तम्भकार मन्सुर अकगुनले लेखेका छन्, ‘क्षेत्र भित्र र बाहिर सहयोगी हुनु टर्कीको सुरक्षाका लागि महत्त्वपूर्ण छ । टर्कीले इजिप्ट, पाकिस्तान, चीन र रुसका साथै ट्रम्प प्रशासनसँग पनि सम्बन्ध कायम राख्नुपर्छ ।’

टर्कीमा गरिएका जनमत सर्वेक्षणमा पनि सरकारको सतर्क रणनीतिकै पक्षमा देखिएका छन् । रिसर्च फर्म ‘मेट्रोपोल’ का प्रमुख उजैर संकारले मार्च २८ मा टर्कीका ६८ प्रतिशत जनताले टर्की तटस्थ बस्नुपर्ने धारणा राखेको उल्लेख गरेका छन् ।

सोही सर्वेक्षणमा २२.६ प्रतिशत मानिसले टर्कीले इरानको समर्थन गर्नुपर्ने विचार व्यक्त गरेका थिए, भने १.२ प्रतिशतले मात्र टर्कीले अमेरिका र इजरायलको समर्थन गर्नुपर्ने बताएका थिए ।

(बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भाषान्तर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?