+
+
Shares

कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले सिंहदरबार प्रवेशमा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागू नगर्न प्रधानमन्त्री बालेन शाहको टिमलाई ध्यानाकर्षण गराएका छन्।
  • नेम्बाङले नयाँ नियमले काममा असहजता र ढिलासुस्ती हुने भन्दै वकिलहरुको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले नियम हटाउन सुझाव दिएका छन्।
  • प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा मात्र प्रवेश पाउने सूचना जारी गरेका छन्।

२५ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराएका हुन् ।

‘वकिलहरुको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले नयाँ नियम लागु गर्नु भएन भनेर ध्यनाकर्षण गराएँ,’ उनले भने । ‘सिंहदरबार प्रवेशमा असहज परिस्थिति भए काममा ढिलासुस्ती हुने र सेवाग्राही मर्कामा पर्नेतर्फ आफूले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

‘वकिलहरुका केही कमीकमजोरी भए सच्याउन लगाउनुपर्‍यो होइन भने नागरिक एपबाट प्रवेश पास लिएर मात्र सिंहदरबार प्रवेश गर्नुपर्ने नयाँ नियम हटाएर पहिलेकै नियम कायम गर्नुपर्छ भनेको छु,’ नेम्बाङले भने ।

 यसअघि कानुन व्यवसायीहरुले नेपाल बार काउन्सिलले दिने परिचय पत्रको आधारमा सिंहदरबारसहित नेपालका सबैजसो अड्डा अदालतमा प्रवेश गर्न पाउँथे । तर उनीहरुलाई सिंहदरबार प्रवेशको हकमा अहिले कडाइ गरिएको छ ।

सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गरी कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिएका छन् ।

उनका अनुसार प्रशासकीय अदालतका पदाधिकारी र कर्मचारीहरुले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्ष/वारेसको तारेख पर्चाका आधारमा र अन्य सबैले प्रशासकीय अदालतको दैनिक इ–पासको आधारमा प्रवेश पाउने छन् ।

नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले प्रशासनिक अदालत सिंहदरबारभित्रै रहेको र तर त्यहाँ पुग्न पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताए । उनले नयाँ नियममा पुनरविचार गर्न आग्रह गरे ।

‘कानुन व्यवसायीबाट पनि कतिपय साथीहरु नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । उहाँहरुले यो अप्ठ्यारो फुकाउन पहल गर्नुहुन्छ भन्ने विश्वास छ,’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?