+
+
Shares

उपसभामुखमा राप्रपा कि श्रम संस्कृति ?

यस्तो संसदीय अंकगणितका कारण रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुख हुन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २७ चैतमा उपसभामुखको निर्वाचन हुने छ र यो निर्वाचन रास्वपामा निर्भर रहनेछ।
  • संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्छ र सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्।
  • प्रतिनिधिसभामा रास्वपाको १८२ सांसद रहेकोले रास्वपाले समर्थन गर्ने दलको उम्मेदवार उपसभामुख बन्नेछ र विभिन्न दलहरूले उपसभामुख पदमा दाबी गरेका छन्।

२५ चैत, काठमाडौं । २७ चैतमा उपसभामुखको निर्वाचन हुने भएको छ । तर, कुन दलबाट उपसभामुख हुन्छन् भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निर्भर रहन्छ ।

संविधानत: सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

‘निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ ।

सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । उनी पुरुष हुन् । अब महिला र फरक दलबाट उपसभामुख हुनुपर्छ ।

प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

यस्तो संसदीय अंकगणितका कारण रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुख हुन्छन् ।

नेताहरूका अनुसार नेकपा एमालेले उपसभामुखमा दाबी गरेको छैन । नेपाली कांग्रेस मौन रहेको छ । नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुखमा दाबी गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले अनौपचारिक रूपमा रास्वपासमक्ष उपसभामुखमा दाबी गरेको सन्देश पठाएको छ । तर श्रम संस्कृति पार्टी र राप्रपाले औपचारिक रूपमै यो विषयमा रास्वपासँग छलफल गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यही २१  चैतमा रास्वापाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । लामिछानेलाई भेट्न शाही लामिछानेको निवासमै पुगेका थिए ।

२२ चैतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहसँग भेटेका थिए । प्रधानमन्त्री बालेनलाई भेट्न साम्पाङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

नेताहरूका अनुसार संवैधानिक परिषद्को उपस्थितिलाई हेरेर उपसभामुख चयन गर्नेबारे रास्वपाभित्र छलफल चलेको छ ।

६ सदस्यीय संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् । सदस्यहरूमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख हुन्छन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख विपक्षी दलको नेता हो । कांग्रेस संसदीय दलको नेता स्वत: संवैधानिक परिषद् सदस्य हुन्छन् ।

सभामुखमा रास्वपाबाट डीपी अर्याल छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायाणप्रसाद दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित भएका हुन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्दछ । संवैधानिक परिषद्को सिफारिस उपर संसदीय सुनुवाइ हुन्छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?