२६ चैत, काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराममा तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ । उसले लेबनानमा भइरहेको आक्रमणको पनि जिकिर गरेको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको बताएका छन् ।
‘अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि ‘आधार’ भएको बताएका थिए,’ उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘तर, अहिलेसम्म यो प्रस्तावका तीन बुँदाहरू उल्लंघन भइसकेको छ ।’
इरानले अमेरिकालाई विश्वास नगर्नुको कारण उसको पुरानै बानी भएको सभामुख गालिबाफले टिप्पणी गरेका छन् । ‘उसले पटक–पटक आफ्नो प्रतिवद्धता तोड्दै आएको छ,’ उनले भनेका छन्, ‘दु:खको कुरा उसले पुरानै शैली दोहोर्याएको छ ।’
लेबनानमा युद्धविरामसँग सम्बन्धित पहिलो सर्तको पालना नभएको बीबीसीले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि तत्काल सबै ठाउँमा युद्धविराम हुनु पर्ने बताएका थिए ।
इरानको हवाई सीमामा एक घुसपैठ गर्ने ड्रोन पुगेको थियो । बीबीसीका अनुसार जसलाई फार्स प्रान्तको लार सहरमा खसालिएको छ । यसलाई इरानको हवाई सीमाको सम्मान गर्ने सर्तको उल्लंघनका रूपमा लिइएको छ ।
इरानलाई सम्वर्धन (एनरिचमेन्ट) को अधिकारबाट अस्वीकार गरिएको छ । जुन प्रस्तावको छैटौं सर्तमा उल्लेख रहेको सभामुख गालिबाफले बताएका छन् ।
वार्ताका लागि तयार गरिएको प्रस्तावमा उल्लेख भएका सर्तहरू वार्ताअगावै तोडिएको अवस्थामा दुईतर्फी युद्धविराम अथवा वार्ता गर्नु तर्कसंगत नभएको उनको भनाइ छ ।
पाकिस्तानका प्रधानमन्त्री शरिफले युद्धरत अमेरिका र इरानका प्रतिनिधिहरूलाई वार्ताका लागि १० अप्रिलमा इस्लामाबादमा आमन्त्रण गरेका छन् ।
प्रतिक्रिया 4