News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जले २१ कम्पनीलाई वार्षिक नवीकरण शुल्क नबुझाएको भन्दै जरिवाना सहित शुल्क बुझाउन आग्रह गरेको छ।
- वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीमध्ये धेरैजसो बन्द भएका र केही सञ्चालन भइरहेका छन्।
- चुक्ता पूँजी अनुसार कम्पनीले वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने नेप्सेले स्पष्ट पारेको छ।
२६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले टाट पल्टिएका तर बजारमा सूचीकृत भइरहेका कम्पनीलाई समेत वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । वार्षिक नवीकरण शुल्क नबुझाउनेमा केही सञ्चालन भइरहेका तर बजारमा कारोबार नभएका कम्पनी छन् भने धेरैजसो समस्याग्रस्त र टाट पल्टिएका कम्पनी छन् । यद्यपि टाट पल्टिएका कम्पनी पनि बजारमा सूचीकृत भइरहेका छन् ।
एक सूचना जारी गर्दै नेप्सेले कुल २१ कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावलीअनुसार वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो । हालसम्म यी कम्पनीले नवीकरण शुल्क नबुझाएको नेप्सेले जनाएको छ । सबै शुल्क जरिवानासहित बुझाउन नेप्सेले भनेको छ । यदि शुल्क नबुझाए वार्षिक १० प्रतिशतका दरले ब्याज लाग्दै जाने नेप्सेले स्पष्ट पारेको छ ।
चुक्ता पूँजी ५० करोड रुपैयाँसम्म रहेका कम्पनीले हाल वार्षिक ५० हजार तथा सोभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्दछ । २१ कम्पनीले यस्तो शुल्क नबुझाएको नेप्सेले जनाएको छ ।
शुल्क नबुझाएका कम्पनीमध्ये धेरैजसो बन्द अवस्थामा छन् । यद्यपि केही कम्पनी सञ्चालन भइरहे पनि सेयर कारोबार हुने गरेको छैन ।
वार्षिक शुल्क नबुझाएका कम्पनीमा बुटवल स्पिनिङ मिल्स, गोरखकाली रबर उद्योग, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, कर्णाली विकास बैंक, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल वेलफेयर, सम्झना फाइनान्स, हिमालयन फाइनान्स, श्री भृकुटी पल्प एन्ड पेपरजस्ता बन्द भइसकेका कम्पनी छन् ।
त्यस्तै बिराट सुज, अरुण वनस्पती उद्योग, हरिसिद्धि इट्टा उद्योग, नेपाल फिल्म डेभलपमेन्ट, फ्लुर हिमालयनलाई पनि नवीकरण शुल्क बुझाउन नेप्सेले भनेको छ ।
श्रीराम सुगर मिल्स, याक एन्ड यती होटल, ज्योति स्पिनिङ मिल्स, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग, नेपाल टेडिङ, रघुपति जुट मिललाई पनि नेप्सेले वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
प्रतिक्रिया 4