+
+
Shares
दीपककुमार साहसँग वार्ता :

‘स्पष्टीकरणसम्म दिन पाइनँ’

मलाई कसैले केही सोध्नु भएन। निर्णय पनि समाचार आउनुभन्दा केही पहिले मात्र थाहा पाएँ

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ चैत २६ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीको सिफारिसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई १३ दिनमै पदमुक्त गरेका छन् ।
  • पदमुक्त साहले आफ्नो क्षमता र क्यापेबिलिटी देखेर मन्त्रालयको जिम्मेवारी पाएको र हटाउने अधिकार प्रधानमन्त्री र पार्टी दुवैको भएको बताए ।
  • साहले १३ दिनमा १५–१६ वटा काम गरेको र नयाँ मन्त्रीले कार्यान्वयन गर्ने चाहना राखेको साथै विवादमा परे पनि मिडियाको टोन बढी भएको उल्लेख गरे ।

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले फिर्ता बोलाउन सिफारिस गरेसँगै प्रधानमन्त्री शाहले पदमुक्त गरेका हुन्। मन्त्री नियुक्त भएको १३ दिनमै साह पदमुक्त भएका हुन्। पदमुक्त भएका साहसँग अनलाइनखबरका लागि कृष्णसिंह धामीले सम्वाद गरेका छन्। टेलिफोनमार्फत गरिएको कुराकानीको सम्पादित अंशः

प्रधानमन्त्रीले तपाईंलाई मन्त्री बनेको १३ दिनमै पदमुक्त गर्नुभयो नि । तपाईंको के प्रतिक्रिया छ ?

मेरो क्षमता र क्यापेबिलिटी देखेर यो मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । हटाउने अधिकार पार्टीको पनि छ, प्रधानमन्त्रीज्यूको पनि छ। उहाँलाई अहिलेको स्थितिमा हटाउ जस्तो लाग्यो । ठीकै छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ। तर एकचोटी  स्पष्टीकरण सोध्नका लागि बोलाइदिएको भए हुन्थ्यो । आफ्नो कुरा राख्नका लागि बोलाइदिएको भए हुन्थ्यो, त्यति मात्र हो, अरु केही छैन मलाई।

आजैबाट बिदा लिनुभयो ? 

आजैबाट हो हजुर। म बिदा लिइसकेँ। १३ दिनमा १५–१६ वटा काम गरेको छु। अब त्यो कार्यान्वयन होस् ।  नयाँ मन्त्रीले गरुन् भन्ने मेरो चाहना छ ।

यो विषयमा पार्टीसँग पनि केही कुरा भएको छैन ? 

छैन। मलाई कसैले केही सोध्नु पनि भएको छैन, केही भएको पनि छैन। निर्णय पनि न्युज आउनुभन्दा अलि पहिले थाहा पाएँ होला मैले, त्यति हो।

श्रीमतीलाई स्वास्थ बिमा बोर्डमा नियुक्त गरेको विषयमा विवाद देखिएको थियो नि?

उताको केही पनि कुरै छैन नि । मेरो वाइफ आफैंमा सक्षम महिला हो मभन्दा बढी नै छ । उ जहिले पनि टियुको गोल्ड मेडलिस्ट, ब्याचलर्सको, मास्टर्सको गोल्ड मेडलिस्ट हो । लण्डन स्कुल अफ इकोनोमिक्सबाट पढेको मान्छे हो ।

अहिले पनि लण्डन बेस्ड अर्गनाइजेसनमा यूएन र डब्लुएचओको ग्लोबल आई हेल्थ एड्भोकेसी गर्छ । डब्लुएचओको सीएसओ कमिसनको बोर्डमा छ । यति सक्षम र  हेल्थ फाइनान्सिङ पढेको मान्छे पहिलेदेखि नै स्वास्थ्य बिमा बोर्डमा थियो ।

हामी लन्डन गएको बेला केही समय निरन्तरता भएन । तैपनि अनलाइनबाट जोडिएकै थियो । हामी लण्डनबाट आएको धेरै दिन पनि भएको थिएन । यही बेला म मन्त्री पनि बन्न पाएँ, सौभाग्यको कुरा हो।

१३ दिन मन्त्रालयको नेतृत्वमा रहँदा सुधारका के कदमहरू चाल्नुभएको थियो, तरपनि विवादित हुनुभयो नि ?  

काम ठिकै भइरहेको थियो, अलि विवादको विषय बनाइयो । ठिकै छ, मिडियाको टोन बढी भयो । मिडियाले पनि राम्रो मान्छे देखिनसहँदो रहेछ जस्तो लाग्छ मलाई।

म पनि मान्छे नै हो। सबै मलाई म्यानेजमेन्ट गर्न आउँदैन । म त मिडिया म्यानेजर पनि त होइन नि, मसँग सल्लाहकार पनि त छैन ।

मैले यति के गरेँ, सबै क्लियर गरेकै थिएँ, बोलेकै थिएँ। त्यो बीचको केही साथीहरूले समाचार बनाए नि । यति राम्रो बोलेको थिएँ मैले जस्तो लाग्छ। मलाई यसमा केही पनि गुनासो छैन । मेरो क्षमता छ । म जहिले पनि  स्कलरसिपमा पढेको मान्छे हो । म टिचिङ हस्पिटलमा, आईओएममा, ब्याचलर्स मास्टर्स सबै स्कलरसिपमा पढेको हुँ । लण्डन स्कुल अफ इकोनोमिक्समा, लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा स्कलरसिपमा, सेभनिङ स्कलरसिपमा पढेको मान्छे हो।

यहाँको विश्व स्वास्थ्य संगठन र लण्डनको स्वास्थ्य मन्त्रालयमा काम गरेको मान्छे हो । क्षमता दक्षता छँदैछ । मैले त्यो कुरा बुझाउन सकिनँ मिडियामा ।  त्यति मात्रै दुःख हो । त्यो कुरा मेरो पोजेटिभ साइडबाट नगएर सुरुदेखि नै नेगेटिभ साइडबाट गयो । त्यो फ्रेम नै गर्न सकिनँ, मैले आफ्नो जीवनको फ्रेमिङ गर्न सकिनँ । अरुले नरेटिभ फ्रेम गरे, त्यहीमा परियो ।

अब सांसदकै मात्र भूमिका रहने भयो हैन ?

म त पाँच वर्षको लागि जितेर आएको सांसद हो नि हजुर । जे भएपनि विश्वास दिलाउन चाहन्छु म एउटा राम्रो सांसद भएर निस्किन्छु । जसले वस्तुपरक कुराहरूमा, इस्युहरूमा बोल्छु र गम्भीरतापूर्वक त्यसलाई अगाडि बढाउँछु । म त्यति राम्रो बोल्ने मान्छे र भाषण दिने मान्छे पनि होइन, तर जे होस् म बोल्दाखेरि क्लियरली बोल्छु, मेरो मनमा घुमाउने शैली छैन।

१३ दिनको बसाइ कस्तो रह्यो, अनुभव कस्तो रह्यो ?

म बिहान ८ बजेदेखि ११–१२ बजेसम्म मन्त्रालय बसेको मान्छे हो १३ दिन नै । सक्दो डटेर काम गरेको छु। मेरो विचारमा मेरो कामले यदि निरन्तरता पायो भने यो पूरै क्षेत्र नै मर्यादित सुरक्षित हुन्छ भन्ने जस्तो लाग्छ। यो ३–४ महिनामा गर्न सकिने काम थियो, हामी त्यही लाइनमा गइसकेका थियौँ। १५–१६ वटा पुरानै नियमहरूमा टेकेर केही डिसीजनहरू गरेको छु। मैले इन्टर्नसिपको लागि बोलेको छु । यो टोकन सिस्टमको लागि डिसीजन गरेको छु।

मलेसिया जस्तो देशले कमिसन दिन्छ, अरु देशले पनि कमिसन दिँदो रहेछ म्यानपावरलाई। अहिले ठ्याक्कै अकुपेशनल हेल्थको बारेमा बोलेको छु। त्यसपछि हामीले सबै अब तरिकाले लासलाई व्यवस्थापन गर्ने, ट्र्याकिङ सिस्टम बनाउने कामहरूमा अगाडि बढिसकेका थियौँ ।

बाहिर हराएका मान्छेहरू, फिर्ता आउन चाहने मान्छेहरूको लागि कसरी व्यवस्थापन गर्न सकिन्छ, डिजिटल टेक्नोलोजीमा जोड्ने काम गरेको छु। ४० हजार केस पेन्डिङ थियो, त्यसलाई घटाएको छु । १० को स्पिडमा हिँडिरहेको मन्त्रालयलाई १०० को स्पिडमा पुर्‍याएको थिएँ।

यदि पोजेटिभ साइड देख्यो भने त मेरो एकदम पोजेटिभ साइड छ । अब अहिले के देखियो थाहा छैन। के गल्ती गरेँ मैले ? बुढीको नियुक्ति मन्त्रालय पनि अर्कै, मैले के गरेँ त ?  त्यही हो। अलिकति यतिमा चाहिँ दुःख छ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?