+
+
Shares

प्रदीप अधिकारीको स्क्रिप्ट पढेर अख्तियार प्रमुखलाई हत्याको धम्की

पाठकमाथि अनुसन्धान गर्दा हत्या गर्ने धम्कीमा अधिकारीसमेत जोडिएपछि अहिले उनीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा अनुसन्धान भइरहेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ चैत २७ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार प्रमुख प्रेमकुमार राईलाई १० दिनभित्र राजीनामा नदिए हत्या गर्ने धम्की दिने योजनाकार क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी रहेको खुलेको छ।
  • फिलिपिन्समा रहेका प्रकाश पाठकलाई इन्टरपोलमार्फत पक्राउ गरी काठमाडौं ल्याइएको छ र उनीमाथि हत्या धम्कीको मुख्य योजनाकार अधिकारीसँग सम्बन्धित अनुसन्धान भइरहेको छ।
  • अधिकारीले भ्रष्टाचार मुद्दाबाट बच्न अख्तियार प्रमुखलाई राजीनामा गर्न लगाउन पाठकलाई प्रयोग गरेको प्रमाण फेला परेको छ र उनीहरूले २ करोड रुपैयाँ पठाएको खुलेको छ।

२७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायत १० जनालाई हत्याको धम्की दिने योजनाकार नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी रहेको खुलेको छ ।

राईलाई अख्तियार प्रमुखबाट १० दिन भित्र राजीनामा नदिए हत्या गर्ने धम्की दिँदै २२ अक्टोबरमा एक्स्ट्रिमिस्ट ग्रुप अफ (ईजीएन) नेपालको लेटरप्याडमा पत्र लेखी इमेलबाट अख्तियारलाई पठाइएको थियो ।

यसका साथै भिडियोमार्फत पनि प्रकाश पाठक नाम गरेका व्यक्तिले राईलाई अख्तियार प्रमुखबाट राजीनामा दिन धम्की दिएका थिए । आफूलाई ईजीएनको चेयरमेन बताउने पाठकले भिडियोमार्फत नै धम्की दिएपछि प्रहरीले अनुसन्धान गर्दा उनी फिलिपिन्समा रहेको खुलेको थियो ।

इन्टरपोलमार्फत रेड नोटिस जारी गरेर २८ माघमा पाठकलाई पक्राउ गरी काठमाडौं ल्याइयो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि अनुसन्धान गर्दा हत्या धम्कीको मुख्य योजनाकार क्यानका तत्कालीन महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारी मुख्य योजनाकार रहेको खुलेको हो ।

पाठकमाथि अनुसन्धान गर्दा हत्या गर्ने धम्कीमा अधिकारीसमेत जोडिएपछि अहिले उनीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा अनुसन्धान भइरहेको छ ।

पाठक र अधिकारी पूर्व चिनजानका व्यक्ति हुन् । अधिकारीले क्यानमा भ्रष्टचार गरेको थाहा पाएपछि १ अक्टोबरमा मात्रै आफू फिलिपिन्समा रहेकै बेला ईजीएनको लेटरहेडमा पत्र लेख्दै १ करोड सहयोग मागेको पाठकले बताएका छन् ।

अधिकारीले भने आफूले धम्क्याउन नलगाएको भन्दै आरोप अस्वीकार गरेका छन् । यद्यपि, प्राप्त प्रमाणहरूले अधिकारीले भ्रष्टाचार मुद्दाबाट उम्कन अख्तियार प्रमुखलाई राजीनामा गर्न लगाएर हटाउन पाठकको प्रयोग गरेको पुष्टि भएको छ ।

त्यसपछि ह्वाट्स एपमा अधिकारीले पाठकलाई फोन गर्दै यसैगरी धम्की दिएर अख्तियार प्रमुख राईलाई राजीनामा गर्न लगाए ८ देखि १० करोड दिने बताएको पाठकले बयानमा बताएका छन् ।

अधिकारीबाट उक्त प्रस्ताव आएपछि पाठक तयार भएर इमेल र भिडीयो बनाएर धम्की दिन थालेको पाइएको छ । यसरी धम्की दिन पेस्कीस्वरूप पाठकले २ करोड रुपैयाँसमेत बुझेको प्रमाण फेला परेको छ ।

अधिकारीले चिनियाँ व्यापारीको प्रयोग गरी हुण्डीमार्फत २ करोड रुपैयाँ पाठकलाई फिलिपिन्स पठाएका थिए । २७ नोभेम्बर २०२५ मा फिलिपिन्सको बुलाकन, एसएम मारिलोको पहिलो तलामा रहेको स्टार बक्स कफी सपमा पाँच चिनियाँ नागरिकलाई रकम निकाल्न कोड दिएको समेत खुलेको छ ।

दिउँसो १२:१५ बजेको समयमा चिनियाँ नागरिकबाट ४० लाख पेसो (फिलिपिन्सको पैसा) नगदै बुझेकोसमेत पाठकले स्वीकार गरेका छन् ।

२८ नोभेम्बरमा फेरि कोड लिई फिलिपिन्सको बीएसए टावर, ओर्टिगास ५५ फ्लोर स्विमिङ पुलमा पुगी १२:१५ बजेकै समयमा त्यही चिनियाँ समूहले थप ४० लाख पेसो दिएको पाइएको छ ।

यसरी पाठकले दुई पटक गरेर प्रदीप अधिकारीले पठाएको २ करोड रुपैयाँ चिनियाँमार्फत फिलिपिन्समा बुझेको भेटिएको छ । यो सबै काम अधिकारीकै निर्देशनमा आफूले गरेको पाठकको भनाइ छ ।

‘आर्थिक प्रलोभन देखाई अख्तियार प्रमुख राईलाई ज्यान मार्नेसम्मको धम्की दिन प्रदीप अधिकारीले लगाएका हुन् । अख्तियार प्रमुखलाई मार्ने मेरो मनसाय होइन । यसको सम्पूर्ण डीजाइनर, योजनाकार र षड्यन्त्र गर्ने मुख्य व्यक्ति प्रदीप अधिकारी हुन्,’ पाठकले बयानमा भनेका छन् ।

बिचौलिया नवीनराज बस्नेतमार्फत केस मिलाउन भन्दै शक्तिकेन्द्र प्रयोग गरे पनि त्यसबाट असफल भएपछि तान्त्रिक बाबाको प्रयोग गर्नेदेखि हत्या गर्नेसम्मको धम्की दिन पाठकलाई प्रयोग गरेको खुलेको छ ।

यो रकमबाट फिलिपिन्समा आफूले अपार्टमेन्ट खरिद गरेको पाठकको भनाइ छ । मनिला शहरमा रहेको मनिला सेन्टर अपार्टमेन्टको सातौं तलामा रहेको ५ सीमा २ बेडरुम, १ किचेन र १ लिभिङ रुमको अपार्टमेन्ट ७० लाख ६५ हजार पेसोमा खरिद गरेको पाठकले बताएका छन् । अझ अख्तियार प्रमुख राईलाई मोसो दल्नसमेत अधिकारीले प्रस्ताव गरेको पाठकको भनाइ छ ।

मोसो दलेको अवस्थामा त्यसका लागि छुट्टै २ करोड दिने वचन अधिकारीले दिएको पाठकले बताएका छन् ।

अख्तियार प्रमुख राईलाई धम्की दिन प्रयोग भएका शब्दसमेत पहिला प्रदीप अधिकारीले फाइनल गरेको पाइएको छ । जुन कुरा पाठक स्वयंले बयानमा खुलाएका छन् ।

‘अख्तियार प्रमुखलाई धम्की दिने म्यासेजको खेस्रा तयार पारेर मैले प्रदीप अधिकारीको ह्वाट्स एपमा पठाएको थियो । ठिक छ कि छैन भनेर हेर्न लगाएको थिएँ । अधिकारीले ल ठिक छ भनेपछि त्यही शब्दहरू प्रयोग गरेर धम्क्याएको हो,’ पाठकले बयानमा भनेका छन् ।

यता, अधिकारीले भने आफूले धम्क्याउन नलगाएको भन्दै आरोप अस्वीकार गरेका छन् । यद्यपि, प्राप्त प्रमाणहरूले अधिकारीले भ्रष्टाचार मुद्दाबाट उम्कन अख्तियार प्रमुखलाई राजीनामा गर्न लगाएर हटाउन पाठकको प्रयोग गरेको पुष्टि भएको छ ।

बिचौलिया नवीनराज बस्नेतमार्फत केस मिलाउन भन्दै शक्तिकेन्द्र प्रयोग गरे पनि त्यसबाट असफल भएपछि तान्त्रिक बाबाको प्रयोग गर्नेदेखि हत्या गर्नेसम्मको धम्की दिन पाठकलाई प्रयोग गरेको खुलेको छ । यो विषयमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?