News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयको इमर्जेन्सी रेस्पोन्स टिमले पश्चिम एसियाका बाँकी केही देशमा श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको छ।
- श्रम मन्त्रालयले इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनमा श्रम स्वीकृति पुनः खुला गर्ने तयारी थालेको छ।
- प्रधानमन्त्रीले श्रम मन्त्री दिपक कुमार साहलाई पदमुक्त गरेपछि निर्णय प्रक्रिया प्रभावित भएको र नयाँ मन्त्री रामजी यादव नियुक्त भइसकेको छ।
२७ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले पश्चिम एसियाका केही देशमा स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको अध्यक्षतामा बसेको पाँचौं बैठकले यस्तो सिफारिस गरेको हो ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १७ गतेको निर्णयअनुसार पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । स्थगित भएका देशमा साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल थिए ।
पछि चैत ३ गते साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो । तर, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने अझै बन्द नै राखिएको छ ।
पश्चिम एसियाको पछिल्लो अवस्था क्रमशः सहज बन्दै गएको निष्कर्षसहित ईआरटीले बाँकी केही देशहरूमा पनि पुनः श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सिफारिस गरेको परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले जानकारी दिए । द्वन्द्वरत पक्षबीच अस्थायी युद्धविराम भएको, अवस्था निगरानीमा राख्नेगरी केही देशमा श्रम स्वीकृति खोल्ने तयारी भएको हो ।
ईआरटीको सिफारिसपछि श्रम मन्त्रालयले इरान, इराक र लेबनान बाहेक इजरायल, कुवेत र बहराइनमा पुनः श्रम स्वीकृति खुला गर्ने तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यससम्बन्धी निर्णयका लागि प्रक्रिया अघि बढाइएको छ ।
तर, यसअघि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृति स्थगन गरिएकोले पुनः खुलाउन पनि मन्त्रीस्तरको निर्णय आवश्यक पर्ने भएको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहलाई पदमुक्त गरेपछि निर्णय प्रक्रिया प्रभावित भएको हो ।
नयाँ श्रममन्त्रीका रूपमा रामजी यादव नियुक्त भइसकेकाले अब मन्त्रीस्तरीय निर्णयपछि ती देशमा पनि पुनः श्रम स्वीकृति खुला गर्ने तयारी छ । साथै, श्रम स्वीकृति खुलाउने विषय भने परराष्ट्र मन्त्रालयको विश्लेषण तथा सिफारिसका आधारमा अघि बढाइने जनाइएको छ ।
प्रतिक्रिया 4