News Summary
Generated by OK AI. Editorially reviewed.- झापामा सम्पन्न ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ झापा २०२६’ को तेस्रो संस्करणमा सीमापार पर्यटन प्रवर्द्धन र नेपाल–भारत सहकार्य थप सुदृढ बनाउन जोड दिइयो।
- कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सरकारले कोशी भ्रमण वर्षका लागि छुट्याएको बजेट कार्यान्वयन गर्न नसकेको र पर्यटकलाई दु:ख दिने दृष्टिकोण बदल्नुपर्ने बताए।
- अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले फागुनमा १ हजार ५ विदेशी पर्यटक काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको र यो वर्ष ९ हजार पुग्ने अपेक्षा गरेको बताए।
२७ चैत, काठमाडौं । झापामा सम्पन्न ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ झापा २०२६’ को तेस्रो संस्करणमा सीमापार पर्यटन प्रवर्द्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्य थप सुदृढ बनाउन जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काँकडभिट्टाको संयुक्त आयोजनामा झापास्थित होटल मेची क्राउनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन विस्तारका लागि व्यावहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवर्द्धनमा जोड दिइयो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सीमापार पर्यटनले प्रदेश प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । सरकारले कोशी भ्रमण वर्षका लागि छुट्याएको बजेट समेत कार्यान्वयन गर्न नसकेको उनले बताए । पर्यटकलाई दु:ख दिने, हैरानी गराउने र हेर्ने दृष्टिकोण बदल्न सके पर्यटक आगमन बढ्ने समेत उनले बताए ।
पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले कन्क्लेभको निरन्तरताले पर्यटन विकेन्द्रीकरणमा सहयोग पुगेको बताए । उनले सीमापार पर्यटनलाई राष्ट्रिय योजना आयोगका योजनामा समावेश गर्न पहल गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले नाकामा सहजीकरणका लागि अध्यागमन कार्यालय सधैं तयार रहेको बताए ।
उनका अनुसार फागुनमा मात्र १ हजार ५ विदेशी पर्यटक काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन् । ‘साउनदेखि फागुनसम्म ६ हजार ७ सय ९१ विदेशी पाहुना भित्रिएका छन् र यो वर्ष ९ हजार पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने ।
पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमापार पर्यटनलाई सरोकारवाला निकायले ढिलो बुझेको उल्लेख गर्दै सहकार्यको महत्त्वमा जोड दिए । उनले भारतीय पर्यटक नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गरे ।
हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) महासचिव सम्राट सन्ज्यालले नेपाल–भारत संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) अध्यक्ष ऋषिराज तिमिल्सिनाले सीमापार पर्यटन कन्क्लेभले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए । कार्यक्रममा भारतबाट ६० पर्यटन व्यवसायीको सहभागिता थियो ।
प्रतिक्रिया 4